समाज


तिनाउ किनारको सानो बजारदेखि विशाल सहरसम्मः बुटवलको ६२ वर्षे यात्रा

तिनाउ किनारको सानो बजारदेखि विशाल सहरसम्मः बुटवलको ६२ वर्षे यात्रा

सुदीप भण्डारी
फागुन ३, २०७८ मंगलबार १६:५४, काठमाडौँ

चुरे पहाडको काख, तिनाउ नदीको दायाँ किनारमा सानो बजार थियो। जहाँ पहाडी जिल्लाहरुबाट मानिसहरु किनमेल गर्न आउने गर्दथे। गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, बाग्लुङ लगायतका जिल्लाको किनमेल गर्ने थलो थियो बटौली बजार। पहाडबाट घिउ लिएर आई यहाँका व्यापारीलाई बेचेर नुन, तेल, कपडा लगायतका सामान किनेर लैजाने गर्दथे। पहाडबाट आएको घिउ बटौली हुँदै भारतको बनारस, कलकत्ता लगायतका सहरमा पुग्थ्यो। सय वर्षभन्दा पहिलेदेखि नै बटौली किनमेलको ठाउँ रहेको पाकापुस्ता बताउँछन्। 

विगतमा बटौली भनिने ठाउँ अहिले बुटवल उपमहानगरपालिकाको १ र २ नम्बर वडामा पर्दछ। अहिले माथिल्लो पुलको गणेशथानदेखि जितगढी किल्लासम्म बटौली बजार थियो। 

कात्तिकदेखि फागुनसम्म बटौली बजारमा किनमेल गर्नेहरुको निकै भिड हुन्थ्यो। हाल बटौली क्षेत्रमै रहेका पुरानो पुस्ताका देवेन्द्र शाक्यको परिवार पनि निकै अघिदेखि बटौलीमा व्यापार गर्दथ्यो।

‘हाम्रा बाजेहरुले नै बटौलीमा व्यापार गर्न थालेका हुन्। पाल्पामा पनि घर थियो, व्यापारको समयमा बुबाहरु बटौली झर्नुहुन्थ्यो,’ उनले भने, ‘हिउँदको समयमा छिचोली नसक्नु भिड हुन्थ्यो। बाहिरबाट सामान लिएर आएका लडिया (गोरुगाडा) हुन्थे। अर्कोतिर पहाडतिर सामान लैजाने गधाखच्चरहरुको लाइन हुन्थ्यो।’ 

खस्यौली भनिने हाल बुटवलको मुख्य बजार रहेको ठाउँमा त्यसबेला बस्ती थिएन। बीपीचोक, अमरपथ क्षेत्रमा केही टहरा होटल थिए। जहाँ भारतबाट फर्केका लाहुरे बास बस्थे। 

बजार धेरै पुरानो भए पनि ६२ वर्षअघि मात्र बुटवलले नगरको मान्यता पाएको हो। बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखियो। पञ्चायती व्यवस्था सुरु भएपछि भने यसलाई बुटवल–खस्यौली नगर पञ्चायत भन्न थालियो। 

२०४६ सालपछि बुटवल नगरपालिका उल्लेख भयो। २०७१ साल मंसिरमा साविक सेमलार र मोतीपुर गाविसलाई समेटेर उपमहानगरपालिकामा स्तरोन्नति भएको हो। अहिले यो पश्चिम नेपालकै प्रमुख सहर हो। नयाँ संघीय संरचना बनेपछि बुटवल लुम्बिनी प्रदेशको अस्थायी राजधानी कायम छ। 

हालसम्मको नेतृत्व  
तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्नीलाल शाक्यले (२०१६–२०१७ साल) गरे। शाक्यपछि ओमशङ्कर श्रेष्ठ, परीक्षितप्रसाद लाकौल, सरस्वतीप्रसाद शेरचन, हरिबहादुर सिंह, सूर्यलाल र बृजमान श्रेष्ठ प्रधानपञ्च भए। प्रजातन्त्र पुनर्स्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९–२०५३) र भोजप्रसाद श्रेष्ठ (२०५४–२०५९) नगरप्रमुख भए। 

सुर्यबहादुर थापा सरकारबाट मनोनित भएर २०६० सालमा र पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरे। माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनावबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बने पनि लोकतन्त्र स्थापनापछिको सरकारले निर्वाचनलाई नै खारेज गरेको थियो।

२०७४ को चुनावपछि हाल शिवराज सुवेदी मेयर र गोमादेवी आचार्य उपमेयर भएका छन्। 

मेयर, उपमेयर सहित १९ वडाका जनप्रतिनिधिहरुको कार्यकाल पनि सकिँदै छ। आगामी वैशाख ३० गते हुने चुनावबाट अर्को नेतृत्व आउने छ। 

तिनाउ किनारको बजार फैलिएर बन्यो देशको मुख्य सहर
कुनै समय अहिलेको मुख्य बजार भन्दा तिनाउपारि मात्र सीमित थियो बटौली बजार। २०२० को दशकतिर तिनाउवारि खस्यौलीमा पनि बस्ती र बजार विस्तार हुँदै गए। २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा सर्यो। 

खस्यौलीमा पूर्वाधारहरु थापिँदै गएपछि बजारले बुटवल सहरको रुप लियो। बुटवलबाट दक्षिण र पश्चिम बजार विस्तार हुँदै गयो। २०७१ सालमा उपमहानगरपालिका घोषणा हुँदा पश्चिमका दुई गाविस मोतीपुर र सेमलार बुटवलमा गाभिए। 

दक्षिणतर्फ योगीकुटी सीमाना भए पनि बुटवलको बजार र प्रभाव तिलोत्तमा नगरपालिकातिर विस्तार हुँदै गएको छ। फरक स्थानीय तह भए पनि बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिका एउटै सहर जस्तो भएको छ। 

बुटवल मुख्यबजारबाट पश्चिम राजमार्ग क्षेत्रको ९ किलोमिटरसम्म उपमहानगरको क्षेत्र पर्दछ। तर त्यसभन्दा पश्चिम सैनामैना नगरपालिकातर्फ पनि बुटवलको प्रभाव र बजार विस्तार भएको छ। बुटवलबाट २२ किलोमिटर पश्चिम सालझण्डीसम्म बजार क्षेत्र फैलिएको छ।  

कुनैबेला बुटवलबाट भैरहवासम्म मोटरमै जान पनि दिनभरजसो लाग्दथ्यो। 

‘खाल्डाखुल्डीसहितको साँघुरो बाटो, दायाँबायाँ झाडी, गाडी हिँड्दा पनि झाडीलाई छोइएर जान्थ्यो। भैरहवासम्म पुग्दा दिनभर नै लाग्थ्यो,’ देवेन्द्र शाक्यले सम्झे। 

तर अहिले बुटवलबाट भैरहवासम्म ६ लेनको सडक बनेको छ। जसका कारण २२ किलोमिटर यात्रा गर्न आधा घण्टा पनि लाग्दैन। यहाँ बन्दै गरेको निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले बुटवलको प्रतिष्ठा बदल्दै छ। देवीनगर, योगीकुटीमा बनेका पक्की पुलले विभिन्न ठाउँमा जाने मार्गलाई सहज बनाएको छ। हाल बुटवलमा ठुल्ठूला व्यावसायिक भवनहरु पनि बनिरहेका छन्। 

बुटवलमा स्तरस्य शैक्षिक संस्था, अस्पतालहरु पनि चलिरहेका छन्। नजिकै भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक विकासमा केही सघाउ पुर्याउने आशा गरिएको छ। बुद्ध जन्मस्थल लुम्बिनीका कारण पर्यटकीय प्रभाव बढ्ने अपेक्षा गरिएको छ। बुटवलमा अहिले दर्जनौँको संख्यामा स्तरीय होटल बनेका छन्। दुईतीन वर्षयता बुटवलमा होटलहरु खुल्ने क्रमले तीव्रता पाएको छ। 

अस्तित्वको संकटमा पुरानो बुटवल 
अझै पनि पुरानो बुटवल अर्थात् बटौलीमा थुपै पुराना र ऐतिहासिक घरहरु छन्। ती घरहरु जीर्ण देखिन्छन्। थुप्रै नयाँ घरहरु बन्दै छन्। जसका कारण बटौलीको पहिचान क्रमशः मेटिँदै छ। बटौलीलाई मौलिक शैलीमा जोगाएर यहाँको पहिचानलाई उजागर गर्नुपर्ने आवाज पनि बेला बेलामा उठ्ने गरेको छ। तर त्यसतर्फ पहल भएको छैन। 

बटौलीमाथि केही उचाइमा मणिमुकुन्द सेन उद्यान अर्थात् फूलबारी पार्क छ। तिनाउ पुलकै सामुन्ने नेपालले अंग्रेजलाई पराजित गरेको स्थान जितगढी छ। यी दुई ठाउँबाहेक सिंगो बटौली क्षेत्रलाई खुल्ला संग्रालयको रुपमा विकास गर्न सकिने जानकारहरु बताउँछन्।

चुनौती   
सुकुम्बासी समस्या, सवारी चाप, तीव्र बसाइँसराइ बुटवलका मुख्य चुनौती हुन्। बुटवलको ११ नम्बर वडामा बाक्लो सुकुम्बासी बस्ती छ। त्यसबाहेक अन्य वडामा पनि सुकुम्बासी बस्ती फैलिएको छ। प्रत्येक चुनावमा सुकुम्बासी समस्या समाधान चुनावी नारा बन्छन् समस्या उस्तै नै छ। 

पछिल्लो समय बुटवलमा सडकमा ट्राफिक जामको समस्या पनि बढिरहेको छ। दिन प्रतिदिन निजी सवारीसाधन थपिएका छन्। तर पार्किङ गर्ने ठाउँको अभाव छ। डेढ दशकअघि बनेको बुटवल बसपार्क पनि साँघुरो भएको छ। यतिबेला बुटवलको राजमार्ग चौराहदेखि ट्राफिकचोकसम्मको सडकमा भएको खाल्डाखुल्डीले सहरलाई गिज्याएको छ। 

अध्ययन, जागिर र व्यवसायको लागि मानिसहरु बुटवलमा छन्। जागिर तथा व्यवसाय गरेर कतिपयले यहीँ घर बनाएर बसेका छन्। बुटवलमा घर थपिने क्रम बढ्दो छ। अहिले बुटवलमा खुल्ला ठाउँ देख्न मुस्किल छ। बुटवलको दीपनगर, सुक्खानगर क्षेत्रमा खानेपानीको समस्या छ। झुम्सा खानेपानीको योजना वर्षौँदेखि पुरा हुन सकेको छैन। विवादका कारण स्थायी रुपमा फोहर व्यवस्थापनको टुंगो पनि लाग्न सकेको छैन। 

क्षमता भएर पनि महानगर बन्न सकेन 
अहिले उपमहानगर रहेको बुटवल २०७४ सालअघि नै महानगर बन्ने चर्चा थियो। बुटवललाई तिलोत्तमा र आसपासका पालिका समेटेर महानगर बनाउने प्रयास पनि भएको थियो। तर जिल्लाका दलहरुबीच कुरा मिलेन। त्यसबेला मुलुकका अन्य ५ सहर महानगर घोषणा भए। तर पूर्वाधार, क्षमता र मिलेको भूगोल भएर पनि बुटवल महानगर बन्न सकेन। 

५ वर्षअघिको चुनावमा सबै जसो दलको घोषणा पत्रमा बुटवललाई महानगर बनाउने उल्लेख थियो। आउँदो स्थानीय चुनावमा पनि बुटवल उपमहानगरनै रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .