समाज


‘प्रेसर’मा बालेन्द्र : महानगरको ढोकामा स्वार्थ समूह, नेताको ढोकामा मेयर

‘प्रेसर’मा बालेन्द्र : महानगरको ढोकामा स्वार्थ समूह, नेताको ढोकामा मेयर

रुपक चौलागाईं
जेठ १९, २०७९ बिहिबार १४:४, काठमाडौँ

‘गुड अल इन्टिच्युट नेपाल’का सामाजिक संयोजक बसन्त गौतम बुधबार काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई भेट्न महानगरपालिकाको कार्यालय पुगेका थिए। तर, उनले शाहलाई भेट्न पाएनन्।

महानगरपालिकाको कार्यालयमा पुगेका गौतम मेयरलाई नै भेटेर आफ्ना केही गुनासा र सुझाव सुनाउन चाहन्थे। नवनिर्वाचित मेयर शाहको व्यस्तताका कारण उनी प्रमुख स्वकीय सचिव भूपदेव शाहसँग भेट गरेर फर्किए।

महानगरपालिकाभित्र कुकुर व्यवस्थापनको काम गरिरहेका गौतम ‘गुड अल इन्टिच्युट नेपाल’ नामक संस्थाका सामाजिक संयोजक हुन्। ‘मनमित्र’ भन्ने कार्यक्रमको नाम दिएर विगत केही वर्षदेखि काठमाडौं महानगरपालिकासँगको समन्वयमा गौतमले कुकुर ब्यवस्थापनमा काम गरिरहेका रहेछन्।

गौतमका अनुसार अघिल्लो असोजमै महानगरपालिकाकाले सम्झौता गरे पनि अहिलेसम्म औषधि नपाउँदा बजेट ‘फ्रिज’ हुने अवस्थामा पुगेको छ।

नवनिर्वाचित मेयर शाहलाई यसबारे जानकारी गराउनैपर्ने भन्दै उनी महानगरको कार्यालय गएका थिए।

‘औषधि नै आएको छैन, कसरी हामीले पठाउनु?’ मेयर शाहको सचिवालयबाट निस्कँदै गर्दा गौतमले कसैलाई फोनमार्फत भनिरहेका थिए, ‘भर्खरै महानगरपालिकामा आएर मेयरज्यूसमक्ष कुरा राखेका छौँ। हेरौँ, औषधि पाइयो भने हामी खबर गर्छौँ।’

त्यसो त, नयाँ कार्यकाल सम्हाल्दै गरेका शाहलाई भने यसबारे पूर्ण जानकारी छैन। कार्यालयका सबै कर्मचारीको विवरणसमेत बुझ्न नपाएका शाह सचिवालयमार्फत गुनासाहरु सम्बोधन गर्ने प्रयास गरिरहेका छन्।

आगामी असार मसान्तभित्र सम्झौता सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म बजेट निकासा नभएको भन्दै गौतम महानगरपालिकाका कर्मचारीप्रति आक्रोशित देखिएका छन्।

यो त महानगरपालिकामा बुधबार दिउँसो देखिएको एउटा प्रतिनिधि घटना मात्र हो। गौतमजस्तै गुनासा र सुझाव बोकेर मेयर शाहलाई भेट्न पुग्नेहरुको बाक्लो भीड बुधबार दिउँसो महानगरपालिकामा देखिन्थ्यो।

केही व्यक्तिहरु बैंकको परिचयपत्र घाँटीमा झुण्ड्याएर महानगरपालिकामा पुगेका थिए त कोही महिनौंदेखि अलपत्र आफ्ना योजना र काम लिएर त्यहाँ पुगेका थिए।

‘१५/२० कर्मचारी नफेरे मेयर असफल’
स्वतन्त्रबाट महानगर प्रमुखमा निर्वाचित शाह कसरी अघि बढ्लान् भन्ने चासो धेरैमा छ। कतिपयले उनलाई राजनीतिक दलका कारण काम गर्न असजिलो हुने बताइरहेका छन् भने कतिपय कर्मचारीतन्त्रको कारण समस्या हुने टिप्पणी गरिरहेको सुनिन्छ।

महानगरपालिकाको समन्वयमा केही वर्षदेखि कुकुर ब्यवस्थापनमा काम गर्दै आएका गौतम चाँहि अहिलेकै प्रशासनयन्त्रलाई लिएर अघि बढ्दा शाह असफल हुने दाबी गर्छन्।

‘यहाँभित्र बस्ने २० जना जति कर्मचारीलाई परिवर्तन नगरी मेयरक रुपमा बालेन्द्र शाह सफल हुन सक्दैनन्,’ आक्रोश मिश्रित स्वरमा गौतमले भने, ‘यदि बालेनले यही हिजोकै प्रशासनयन्त्रलाई नै समातेर अघि बढ्न खोज्दा फेल हुने पक्का छ।’

यसअघि महानगरकै समन्वयमा काम गरेका गौतमले किन यसो भने त? उनको अनुभवमा निवर्तमान मेयर विद्यासुन्दर शाक्यलाई पनि कर्मचारीले नै काम गर्न नदिएका हुन्।

सो कुरा मेयर शाक्यले कार्यकालको अन्तिमतिर आफूलाई सुनाएको गौतमले बताए। ‘हामीले अन्तिममा मेयर विद्यासुन्दर शाक्यलाई भेट गर्दा उहाँले भन्नुभएको थियो, ‘मैले ल्याएका योजनाहरुमा फसाइदिने प्रशासन नै हो। कर्मचारीतन्त्रले फसाइदिने हो ।’

‘एक करोड बजेटमा २२ लाख कर्मचारीले मागे’
काठमाडौं महानगरका कर्मचारीसँग ‘दिक्क’ भएका गौतमले १ करोड बजेटबाट कर्मचारीले २२ लाख मागेको बताउँछन्। उनले कर्मचारीको नाम भने खुलाउन चाहेनन्।

महानगरपालिकामा भेटिएका गौतमले भने ‘३२ वटै वडाले मन पराएर १ करोड रुपैयाँ बजेट हालिदिएको थियो। १ करोडमा ५० लाख हामीलाई स्टाफ सञ्चालन खर्च र बाँकी ५० लाखको औषधि किनिदिन्छौं भनेका थिए,’ गौतमले सुनाए, ‘५० लाखमध्येबाट उनीहरु(कर्मचारी)ले २२ लाख मागे।’

कर्मचारीले पैसा मागेपछि काम गर्न नसकिएको गौतमको गुनासो छ। ‘५० लाखमध्येबाट उनीहरुले २२ लाख मागे। त्यसपछि हामीले पाउने औषधि रोकिदिएर ९ महिनासम्म हामीले आफ्नै पैसाले काम गरिरहेका छौं,’ गौतम भन्छन्, ‘यसबारे हामीले मेयर साबसँग कुरा राख्यौं। जसले ९ महिनासम्म औषधि ल्याउन रोक्यो, भोलि औषधिको म्याद सकिएर बागमतीमा फाल्ने दिन आउँला, त्यसको जिम्मेवार को?’

गौतमले ‘मनमित्र’ कार्यक्रमको नाम दिएर काठमाडौं महानगरपालिकाभित्रका कुकुरहरुलाई रेबिज विरुद्धको सुई, बन्ध्याकरण लगायतका कामहरु भइरहेको बताए।

प्रेसरमा बालेन्द्र
नवनिर्वाचित महानगरप्रमुख शाह महानगरका लागि नयाँ छन्। स्वतन्त्रबाट महानगरको जिम्मेवारी सम्हाल्न पुगेका शाह निर्वाचित भएदेखि नै देशका ठूला राजनीतिक दलका शीर्षनेतादेखि प्रधानसेनापतिसमेतको भेटघाटमा ब्यस्त छन्।

सपथ लिएकै दिन प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका बालेन्द्रले त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरिसकेका छन्। यसअघि नै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमै पुगेर भेट गरेका छन्। अब उनले प्रचण्डलाई समेत भेट्ने तयारी गरिरहेका छन् ।

शाहको कार्यकाल ‘हनिमुन पीरियड’को सुरुवाती चरणमा छ। यही बेला आगामी १० असारभित्र संविधानको ब्यवस्थालाई टेकेर महानगरपालिकाको आगामी वर्षको बजेट ल्याउनपर्ने दबाव छ। शाहको सचिवालयका एक सदस्यका अनुसार तत्काल कुनै पनि प्रतिक्रिया मिडियामा दिने पक्षमा मेयर शाह छैनन्।

‘अहिले हामी टिमवर्कमा काम गरिरहेका छौं,’ चुनावदेखि नै बालेन्द्रको टिममा रहेर काम गरेका कुमार बेन भन्छन्, ‘सबैसँग समन्वय गरेर अघि बढ्नपर्ने हुन्छ। सबै शीर्ष नेताहरुसँग मेयरज्यूको भेट हुन्छ। अहिले नै बाहिर धेरै बोल्ने कुरा छैन।’

शाहलाई काठमाडौंको फोहोर ब्यवस्थापनदेखि मेलम्चीको पानी ल्याउनेसम्मको चुनौती । महानगरपालिकामा विभिन्न स्वार्थ बोकेर आउने समूहका प्रतिनिधिसँग जुध्न पनि उत्तिकै असहज छ। महानगरपालिकामा विभिन्न स्वार्थ समूहहरु आ–आफ्ना काम सिद्ध गर्नका लागि पुग्न थालिसकेका छन्। जुन, बुधबार दिउँसो महानगरपालिकाको कार्यालयअघि देखिएको भीडबाटै प्रष्ट हुन्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .