समाज


ककनीमा थुनिएकालाई ‘बालुवाटारमा वार्ता गर्ने’ भन्दै झुक्याइयो

संघर्ष समितिका संयोजक भन्छन्– सिसडोलका जनताले दुर्दशा भोग्न नपरोस्
ककनीमा थुनिएकालाई ‘बालुवाटारमा वार्ता गर्ने’ भन्दै झुक्याइयो

रुपक चौलागाईं
जेठ २७, २०७९ शुक्रबार १०:४२, काठमाडौँ

दुर्गन्धले आक्रान्त बनेका काठमाडौं महानगरपालिकाका बासिन्दा शुक्रबारदेखि फोहोर उठ्ने प्रतीक्षामा छन्। रातारात सहमति भएको छ तर कार्यान्वयन हुने–नहुने केही घण्टापछि मात्र स्पष्ट हुनेछ।

बिहीबार राति काठमाडौं महानगरपालिकामा भएको १८ बुँदे सहमति कार्यान्वयन हुने र फोहोर उठ्ने प्रतीक्षा गरिरहँदा बञ्चरेडाँडाका स्थानीय भने शहरी विकास मन्त्रालयको निर्णय कुरेर बसेका छन्।

‘मन्त्रालयमा छलफल हुँदै छ भन्ने सुनेका छौं,’ बञ्चरेडाँडा संघर्ष समितिका सदस्य समीर ढकाल भन्छन्, ‘त्यसपछि के कुरा आउँछ, अनि हामी अघि बढ्ने भन्ने भएको छ।’

अहिले मन्त्रालयमा नुवाकोट र धादिङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, स्थानीय जनप्रतिनिधि लगायतको छलफल जारी छ।

उता, मध्यरातसम्म महानगरपालिकाको कार्यकक्षमा बसेर सहमति गरेका वडाध्यक्षहरु भने स्थानीयसँग वार्ता गर्न बञ्चरेडाँडातर्फ लागेका छन्।

महानगरपालिकासँग भएको सहमतिबारे स्थानीयसँग छलफलका लागि जान लागेको धुनीबेंसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङले जानकारी दिए।

बञ्चरेडाँडाका स्थानीयलाई निर्णय सुनाएर फोहोर व्यवस्थापन गर्नका लागि अवरोध खुलाउने गरी आफू त्यसतर्फ जान लागेको उनले नेपालखबरलाई बताए।

‘संघर्ष समितिलाई झुक्याइयो’
बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहितका ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको थियो। उनीहरुलाई एक रात ककनी प्रहरी चौकीमा राखियो। भोलिपल्ट प्रधानमन्त्री शेरबहादुर देउवासँग तपाईहरुको वार्ता हुने भयो भन्दै उनीहरुलाई रिहा गरियो।

प्रधानमन्त्रीसँगै वार्ता हुने भनेपछि ढुंगाना काठमाडौं आए। तर, अन्तिम समयमा उनलाई प्रधानमन्त्रीसँग वार्ता नहुने भन्दै शहरी विकास मन्त्रालयमा छलफल हुने बताइयो।

बिहीबार साँझ मन्त्रालयमा पनि कुनै छलफल नहुने भन्दै शुक्रबार बिहानका लागि बैठक बोलाइएको जानकारी गराइयो। तर, शुक्रबार शहरी विकास मन्त्रालयको बैठकमा उनलाई बोलाइएन।

‘अस्ति नबोलाइएका वडाध्यक्षलाई बोलाएर राति नै बैठक बसेर सहमति भएकाले अहिले तपाईंहरुको आवश्यकता परेन भन्ने खबर आयो,’ ढुंगानाले भने, ‘हिजो तीनजना मन्त्रालयमा आउनू भन्ने खबर आएको थियो, आज एकजनामात्र आउनू भन्ने खबर आयो। शहरी विकास मन्त्रालयमा बोलाइएको बैठक पनि मन्त्री ज्यूले स्थागित गर्नुभएको भन्ने खबर आयो।’

ढुंगानाका अनुसार  विहीबार राति भएको सम्झौता सकारात्मक नै छ। तर, कार्यान्वयनको पाटो फितलो हुँदा पटक–पटक समस्या भइरहेको बताउँदै ढुंगानाले नेपालखबरसँग भने, ‘यसअघि शहरी विकास मन्त्रालयमा गरिएको सम्झौता भन्दा विहीबारको सहमति केही सकारात्मक छ। फोहोरमैलाको विषयमा वर्षौंदेखिको समस्याका बारेमा सम्पूर्ण अवगत भयो।’

ढुंगानाले अगाडि थपे, ‘विगतम प्रधानमन्त्री कार्यालय गरेका निर्णयहरु पनि हिजोको सहमतिमा आएको छ। त्यो स्वागतयोग्य कुरा पनि हो। तर, यसअघि भएजस्तै दुर्गति योपटक पनि भयो भने समस्या हुन्छ। सिसडोलका जनताले दुर्दशा भोग्न नपरोस् भन्ने हाम्रो कामना छ।

छुटेका वडाध्यक्षलाई बोलाएर सहमति
खासगरी यसअघि नै सोमबार राति शहरी विकास मन्त्रालयमा सहमति जुटाइसकिएको थियो। तर, मंगलबार र बुधबार दिनभर बञ्चरेडाँडाका स्थानीयले अवरोध गरिरहे।

सोमबारको सहमतिमा धुनबेंसी नगरपालिकाको प्रभावित क्षेत्र पर्ने वडा नम्बर १, ३ र ककनी गाउँपालिका १ र २ वडाध्यक्ष सहभागी भएका थिएनन्।

उनीहरुले आफूहरुलाई समेत जानकारी नदिई मेयर र उपमेयर तहबाट निर्णय भएको भन्दै आक्रोश पोखेका थिए। त्यसपछि उनीहरुलाई सम्बोधन हुने गरी महानगरपालिकाले बोलाएर १८ बुँदे सहमति गरेको हो।

काठमाडौंको फोहोर उठाउन दिन बञ्चरेडाँडाबासी सहमत (सहमति पत्रसहित)

आज पनि हुन्छ विरोध?
धुनबेसी –१ का अध्यक्ष तामाङका अनुसार केही स्थानीयहरु आज पनि अवरोध गर्न सक्छन्। तर, त्यहाँका स्थानीयहरुलाई सहमतिका बुँदाबारे प्रष्ट पार्नका लागि आफू बञ्चरेडाँडा जान लागेको उनले बताए।

‘कतिपयको विरोध पनि हुन्छ। सम्झौता हामीले लिखित हस्ताक्षर गरेका छौं,’ उनले भने, ‘हामीले सम्झौता गर्ने बेलामा स्थानीयमाझ गएर मेयर र उपमेयर दुवैले यस्ता यस्ता सम्झौता भए यो मान्न तयार हुनुहुन्छ कि हुनुहुन्न? भनेर सोध्नका लागि भनेका छौं। यदि यो सम्झौता मान्न तयार हुनुहुन्न भने के–के बाँकी छ सोध्नुपर्यो भनेका छौं।’

केही बिचौलियाले स्थानीयलाई भ्रम छर्न खोजेको तामाङले बताए। ‘केही स्थानीय अझै पनि विरोधमा छन्। यहाँ केही बिचौलिया छन्,’ उनले भने, ‘ती बिचौलियाहरु हिजो सहमति हुँदै गर्दा पनि चित्त बुझेर बीचमा उठेर हिँड्नुभएको थियो। केहीले भ्रम छरिरहेका छन्।’

वडाध्यक्ष तामाङ भन्छन्, ‘जसको त्यहाँ जग्गा छ, त्यहाँ जग्गा भएर स्थायी बसोबास अन्तै भएको मान्छेले आफ्नो जग्गा अधिग्रहण होस् र यहाँबाट पैसा लिन पाउँ भन्ने ध्येय छ। उनीहरुले स्थानीयको स्वास्थ्य, शिक्षाको कुरा नभई स्थानीयलाई आक्रोशित बनाउँदै भ्रम छर्ने काम गरिरहेका छन् ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .