गोरखाको मनास्लु हिमालको हिमपहिरामा पुरिएका दुईजनाको उद्धार गरिएको छ। तेस्रो आधार शिविरमा गएको पहिरोमा परेका दुई जनालाई काठमाडौं पठाइएको गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले बताए।
दोलखाको गौरीशंकर गाउँपालिका ५ का ४४ वर्षीय जितबहादुर शेर्पा र संखुवासभाको मकालु गाउँपालिका १ का २७ वर्षीय सुकबहादुर तामाङलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको हो। उनीहरुको अहिले काठमाडौंको कपनस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ।
हिमपहिरोबाट सिम्रिक हेलिकप्टरले समागाउँसम्म र सामागाउँबाट कैलास हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।
हिमपहिरोमा परेकाको उद्धार गर्नका लागि तीन वटा हेलिकप्टर परिचालन गरिएको थियो। तर मौसमका कारण समस्या भइरहेको एसपी खनालले बताए।
पहिरोमा १०/१२ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ। उनीहरु दोलखा र संखुवासभाका भएको पनि प्रहरीले बताएको छ।
मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान हिमपहिरो गएको थियो।
Shares
प्रतिक्रिया