ad ad

समाज


‘केही थप सुन्नु नपरोस् जस्तो लाग्छ’

‘केही थप सुन्नु नपरोस् जस्तो लाग्छ’

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ८:२०, महोत्तरी

बाबुको सहादतको सम्मानस्वरुप आफूलाई दोसल्ला ओढाइरहँदा महोत्तरी गाउँपालिका–१ सनउखराकी २० वर्षीया रामरतीकुमारी यादवका बरबर्ती आँसुका धारा झरे। सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको ६७औँ प्रहरी दिवस–२०७९ मा अमर प्रहरीका परिवारजनलाई सम्मानस्वरुप दोसल्ला ओढाइँदा उहाँलाई मन थाम्न सकस पर्दा आँसु झरेका हुन्।

“म त्यो सन्तान हुँ, जसले बाबुको काख पाइनँ”, दोसल्ला ओढेपछि उनले सञ्चारकर्मीसँग भनिन्, “बुवाको सहादत र आफ्नो जन्मको कुरा हजुरआमाले सुनाउँदा त्यो दिनबारे केही थप सुन्नु नपरोस् भन्ने लाग्छ।”

जीवनको संयोग पनि कस्तो! पिता नेपाल प्रहरीका हवल्दार नरेश यादव तत्कालीन द्वन्द्वमा मारिँदा त्यसै दिन रेखा यादवको कोखबाट जन्मेकी रामरतीको पहिलो रुवाइ घरमा गुञ्जेको थियो।

२०५९ भदौ २३ गते घरमा रामरती जन्मेकी खबर जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा कार्यरत प्रहरी हवल्दार नरेशले सुन्न पाएनन्। बरु नरेश गोली लागेर ढलेको खबर घरका परिवारजनले  केही बेरपछि पाए। नरेशकी आमा जिरवादेवी यादव त्यो दिनको सम्झनाले भक्कानिन्छिन्।

“घरमा नातिनी जन्मी, यो खबर छोरालाई पुर्‍याउनै नपाइ ऊ (नरेश) यो दुनियाँमा नरहेको खबर आयो।  नातिनीसँगै प्रहरी दिवस कार्यक्रममा सरिक हुन पुगेकी करिब ७५ वर्षीया जिरवादेवीले भनिन्, “अब आँखामा आउने आँसु सुके, यै नातिनी (रामरती) लाई हेरेर चित्त बुझाउनु छ।”

नरेशको सहादतसँगै उसै दिन घरमा छोरी जन्माएकी रेखा यादवले पतिको नाउँमा प्राप्त हुने सुविधा हात पारेर अर्को बिहे गरेपछि रामरतीको भरणपोषण र शिक्षादीक्षाको जिम्मेवारी हजुरआमा जिरवाको काँधमा आइपर्‍यो। पढाइमा एसइई (दसाैँ कक्षा, माध्यमिक शिक्षा परीक्षा) सम्म विभिन्न क्षेत्रबाट साथ पाएकी रामरतीले अबको अघिल्लो शिक्षा आफ्नै परिवारको वलबुताबाट गर्नुपर्ने भएको छ।

“आमा जवान हुनुहुन्थ्यो, अर्को बिहे गर्नुभयो, केही गुनासो छैन”, आमाले अर्को बिहे गरेको कुरामा चित्त दुखाइ नभएको बताउँदै रामरती भनिन्, “ बुवाका नाउँमा प्राप्त सुविधामा भने मलाई पनि सम्झनुपर्थ्याे भन्ने लाग्छ।”

कार्यक्रममा उपस्थित अमर प्रहरीका परिवारजनका विलौना हृदयविदारक थिए। कार्यक्रममा विसं २०५९ कै भदौ २२ गते सिन्धुलीको भिमान प्रहरी चौकीमा आक्रमणमा वीरगति प्राप्त गरेका प्रहरी जवान गौरी रायकी पत्नी जमुनादेवी रायले आफ्ना विलौना सुनाउँदा कार्यक्रमका सबै सहभागीका आँखा रसाए।

महोत्तरीको मनराशिशवा–९ बथनाहाकी जमुनाले पतिको सहादतपछि तीन छोरा हुर्काए पनि अहिले सबै बेरोजगार हुँदा घरगुजाराको सङ्कट परेको बताइन्।

यसैगरी कार्यक्रममा विसं २०६० चैत २२ गते धनुषाको यदुकुहास्थित इलाका प्रहरी कार्यालयमा माओवादी आक्रमणमा वीरगति प्राप्त गरेका प्रहरी जवान जलेश्वर–५ पर्सापतैलीकी पुनम राउतले पनि अमर प्रहरी परिवारको पारिवारिक अवस्थाबारे कार्यक्रममा बताइकी थिइन्।

द्वन्द्वमा २३ प्रहरीले मुलुकका विभिन्न ठाउँमा कार्यरत रहेकै अवस्थामा सहादत प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको अभिलेखमा उल्लेख छ।

कार्यक्रममा सबै अमर प्रहरी परिवारलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी र प्रहरी नायब उपरीक्षक रवि रावलले दोसल्ला ओढाइ सम्मान गरेका थिए। समारोहमा पछिल्लो एक वर्ष अवधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षकदेखि जवानसम्मका १२ जनालाई नगद पुरस्कार प्रदान गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .