पोखरामा आइतवार बिहान भएको यती एयरलाइन्सको एटीआर जहाज दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि निधन भएको पुष्टि भएको छ।
हालसम्म ६८ जनाको शव घटनास्थलबाट निकालिसक्दा उनको पनि मृत्यु भएको पुष्टि भएको हो। सुरक्षाकर्मीले घटनास्थलबाट उनको परिचयपत्र पनि फेला पारेका छन्।
उनको शवको सनाखत भइसकेको छ। प्रहरीले पहिचानको लागि उनको शवलाई 'बडी नम्बर ५३' उल्लेख गरेको छ।
दुर्घटनाग्रस्त जहाजमा पत्रकार पौडेल रहेको बिहानै खुलेको थियो। उनी सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका नेता पनि थिए।
उनी दुई दशकदेखि पत्रकारितामा संलग्न थिए। उनी नेपाल पत्रकार महासंघमा केन्द्रीय सदस्य पनि थिए। उनले यसअघि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षको जिम्मेवारी पनि पूरा गरिसकेका छन्।
उनी पोखराबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न काठमाडौं आएका थिए।
दुर्घटनामा परेकाहरुको यात्रुको सूचीमा उनको पनि नाम थियो। उनी पनि जहाजमा रहेको जानकारी आएपछि उनको फोनमा सम्पर्क हुन सकेको थिएन।
Shares
प्रतिक्रिया