ad ad

समाज


नर्भिकले आमा र बच्चाकेन्द्रित विशेषज्ञ सेवा सुरु गर्ने

नर्भिकले आमा र बच्चाकेन्द्रित विशेषज्ञ सेवा सुरु गर्ने

नेपालखबर
बैशाख १०, २०८० आइतबार १६:२३, काठमाडौँ

देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको छ। 

हस्पिटलले एक हप्तासम्म विविध कार्यक्रम आयोजना गरी आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको हो।

साताव्यापी कार्यक्रमको अन्तिम दिन काठमाण्डौको याक एण्ड यति होटलमा एक भव्य समारोहका बीच वार्षिकोत्सव विशेष समारोहको आयोजना गरिएको थियो। 

समारोहलाई सम्बोधन गर्दै नर्भिक अस्पतालका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीले ३० वर्षअघि आफ्ना स्वर्गीय पिताजी लुनकरणदास चौधरीले देखेको सपना साकार भएको भन्दै खुसी प्रकट गरे। 

‘नर्भिकको तीसौं वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज यहाँहरुमाझ म देख्दैछुः मेरा पिताजीले देख्नुभएको सपना, जसमा जीवनको दृढता, रोगमुक्ति, रोगसँग लड्न सामथ्र्य नेपालको परिकल्पना र स्वस्थ जीवनका प्रणहरु साकार भएको छ। म देखिरहेको छु’, उनले भने, ‘मेरो पिताजीको स्वप्नवाटिका, जहाँ सुन्दर फूलहरु रोगमुक्त मुस्कान फिजाउँदै फूलिरहेका छन्।’

चौधरीका बुबा स्व. लुनकरणदास चौधरीको आज १०१ औं जन्मजयन्ती पनि हो। 

उनले आफ्ना योजनाहरुलाई दृष्टिगत गर्दा विश्वभर भइरहेको उपचार पद्धतिको द्रुत विकाससँगै आफूलाई साथ साथै लैजानुपर्ने आवश्यकता रहेको बताए। 

समारोहमा बोल्दै हस्पिटलकी प्रबन्धनिर्देशक मेघा चौधरीले नर्भिकले दिने सेवा अझ निखार्दै र विस्तार गर्दै अगाडि बढ्ने बताइन्। 

‘हामीसँग थुप्रै महत्वाकांक्षी भिजनहरु छन्। नयाँ २०० शय्याको स्टेट अफ दि आर्ट फ्यासिलिटीसहितको अत्याधुनिक भवन निर्माण सुरु भइसकेको छ। अब हामीले निकट भविष्यमै आमा र बच्चासँग सम्बन्धित विशेषज्ञ सेवा समेत बिस्तार गर्नेछौँ’, उनले थपिन्। 

उनले प्रविधिमा पनि लगानी बढाउँदै जाने र निकट भविष्यमै वल्र्डकै बेस्ट सेन्टरसँग टेलिमेडिसिन फ्यासिलिटीका लागि नर्भिक जोडिने उद्घोष समेत गरिन्। उनले ३० वर्षको उपलब्धिको रक्षा गर्दै नर्भिकलाई अझ माथि पुर्याउने प्रण समेत गरेकी थिइन्। 

समारोहलाई सम्बोधन गर्दै नर्भिक हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले २०५० सालदेखि ३० शय्याको सानो नर्सिङहोमबाट सुरु भएको नर्भिक मल्टिस्पेशालिटिज अस्पतालको रुपमा स्थापित भएकोमा खुसी व्यक्त गरे। 

उनले असल र दूरदर्शी नेतृत्वका कारण स्थापित हस्पिटल पब्लिक लिमिटेड कम्पनीको रुपमा रुपान्तरण भइसकेको र निकट भविष्यमै सर्वसाधारणका लागि आईपीओ समेत जारी गर्ने बताए। 

प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले ३० वर्षअघि ३० बेडबाट सुरु भएको नर्भिक आज देशकै कहलिएको अस्पतालको रुपमा स्थापित भएको खुसी प्रकट गरे। 

उनले नर्भिकलाई योभन्दा धेरै अगाडि पुर्याउने दाबी गर्दै यो हस्पिटललाई स्वास्थ्य क्षेत्रकै पर्यायवाचीको रुपमा स्थापित गर्ने समेत उद्घोष गरे। 

कार्यक्रममा २० वर्षभन्दा बढी समयदेखि नर्भिकमा अनवरत सेवा गर्दै आएका कर्मचारीहरुलाई दीर्घसेवा सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो। 

औपचारिक समारोहअगाडि आयोजित सीएमई (कन्टीन्यूअस मेडिकल एजुकेसन)मा वरिष्ठ चिकित्सकद्वय डा. यादवदेव भट्ट र डा. पंकज जलानले क्रमशः विशेष कार्यपत्र प्रस्तुत गरेका थिए। 

नर्भिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले सांगीतिक र सांस्कृतिक प्रस्तुति समेत दिई वार्षिकोत्सव समारोहको रौनक बढाएका थिए। 

अस्पतालले यसअघि प्रभातफेरि, रक्तदान लगायतका कार्यक्रम आयोजना गरेको थियो। वार्षिकोत्सवकै अवसरमा विभिन्न सेवाहरुमा ३० प्रतिशत छुटको अफर समेत ल्याइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .