ad ad

समाज


४१ वर्षअघि अस्थायी शाखा अधिकृत बनेका विश्वम्भर अब प्रधानन्यायाधीश

४१ वर्षअघि अस्थायी शाखा अधिकृत बनेका विश्वम्भर अब प्रधानन्यायाधीश

उजिर कार्की
साउन १८, २०८० बिहिबार १९:३, काठमाडौँ

४१ वर्षपहिले अस्थायी शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीश बन्ने भएका छन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिवार्य अवकासमा जाने भएपछि संवैधानिक परिषदले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

प्रधानन्यायाधीश कार्की ६५ वर्षे उमेर हदका कारण अवकास हुन लागेका हुन्। ८ महिना कामु प्रधानन्यायाधीश भएका कार्कीलाई संवैधानिक परिषदको सिफारिसमा असार १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए।

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस

कार्की अवकास भएसँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश बन्ने बाटो खुल्ला भएको हो। नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले श्रेष्ठ स्वभाविक प्रधानन्यायाधीशको दाबेदार भएको बताए।

‘अहिले पहिलो नम्बरमा उहाँ नै हुनुहुन्छ। उहाँ नै प्रधानन्यायाधीशको स्वभाविक दाबेदार हो’, घिमिरेले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश सिफारिसकै लागि संवैधानिक परिषदको बैठक मंगलबार बोलाएका थिए। तर उक्त बैठकले सिफारिस गर्न नसकेपछि आज सिफारिस गरेकाे हो। संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की र विपक्षी दलका नेता केपी शर्मा ओली सदस्य छन्।

मंगलबारको बैठकले सर्वसम्मत भावि प्रधानन्यायाधीश सिफारिस गरेको हो। यसका लागि प्रधानमन्त्रीले विपक्षी दलका नेता ओलीसँग पनि छलफल गरेका थिए।

अस्थायी शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म
प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भरप्रसाद श्रेष्ठ ४१ वर्षअघि अस्थायी नियुक्तिमा न्याय सेवामा प्रवेश गरेका थिए। कैलालीको धनगढीका श्रेष्ठ २०३८ चैत २७ गते तत्कालीन कानुन तथा न्याय मन्त्रालयमा अस्थायी शाखा अधिकृत नियुक्त भएका थिए।

त्यसको दुई वर्षपछि सुदूरपश्चि क्षेत्रीय अदालतमा तृतीय श्रेणीको शाखा अधिकृत भएर गए। त्यसपछि तत्कालीन केन्द्रीय क्षेत्रीय अदालतमा काम गरे।

२०४४ फागुन १४ गते द्वितीय श्रेणीमा बढुवा भए। बढुवा भएसँगै सूदुरपश्चिम क्षेत्रीय अदालतमा सहायक सचिवका रुपमा कार्यरत रहे। सहायक सचिवमा तीन महिना काम गरेपछि उनलाई न्यायाधीश नियुक्त गरिएको थियो।

२०४५ जेठ ३ गते श्रेष्ठ जिल्ला न्यायाधीश नियुक्त भएका थिए। उनले द्वितीय श्रेणीको न्यायाधीशका रुपमा जिल्ला अदालत दार्चुलाबाट सेवा सुरु गरे। त्यसको दुई वर्षपछि डडेलधुराको न्यायाधीश भए।

डडेलधुरापछि २०४८ कात्तिक २३ गते न्यायिक सेवा तालिम केन्द्रमा सरुवा भएका थिए। तालिम केन्द्रमा श्रेष्ठ सहायक प्रशिक्षण प्रमुखका रुपमा कार्यरत थिए।

२०४९ चैत १ गते पहिलो पटक सर्वोच्च अदालत प्रशासनमा सेवा गरेका थिए। तर त्यतिबेला उपरजिस्ट्रार भएका श्रेष्ठ एक वर्षपछि पुनः न्यायाधीशका रुपमा फर्किए। सर्वोच्चमा ठीक एक वर्ष काम गरेपछि उनलाई २०५० सालमा न्यायाधीश नियुक्त गरेर जिल्ला अदालत उदयपुरको जिम्मेवारी दिइएको थियो।

दुई वर्ष उदयपुरमा कार्यरत रहेपछि मकवानपुर सरुवा भए। मकवानपुर जिल्ला अदालतमा पनि दुई वर्ष कार्यरत रहे। त्यसपछि जिल्ला अदालत झापामा सरुवा भएका थिए।

झापामा भने करिब तीन वर्ष कार्यरत रहेका थिए। झापाबाट जिल्ला अदालत बाँके पुगेका श्रेष्ठले त्यहाँ पनि दुई वर्ष काम गरेपछि २०६० साल वैशाख ११ गते जिल्ला अदालत काठमाडौंको न्यायाधीश भएर तीन वर्ष रहे। विभिन्न अदालतका प्रशासन र ७ वटा जिल्लाको न्यायायधीश भइसकेपछि श्रेष्ठ तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश नियुक्त भएका थिए।

२०६३ सालमा तत्कालीन पुनरावेदन अदालत बागलुङको न्यायाधीश भएका थिए। बागलुङका तीन वर्ष र पाटन पुनरावेदन अदालतमा २ वर्ष कार्यरत रहिसकेका श्रेष्ठले पुनरावेदन अदालत पोखरामा पनि ३ वर्ष नै काम गरेको अनुभव छ। जसमा एक वर्ष कामु मुख्य न्यायाधीश समेत भए।

पोखरामा कामु मुख्य न्यायाधीशका रुपमा काम गरेपछि उनलाई मुख्य न्यायाधीशका रुपमा पुनरावेदन अदालत हेटौंडा सरुवा गरिएको थियो। २०७१ साल भदौ १० गतेदेखि विश्वम्भर प्रसाद श्रेष्ठ हेटौंडाको मुख्य न्यायाधीशका रुपमा कार्यरत थिए। त्यहाँ कार्यरत रहँदै उनलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो।

२०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका श्रेष्ठले त्यसको ठिक ७ वर्षपछि सर्वोच्च अदालतकै नेतृत्व गर्ने अवसर पाएका हुन्। प्रधानन्यायाधीशका रुपमा विश्वम्भरले १४ महिना नेतृत्व गर्नेछन्।

२०८१ साउन २० गते श्रेष्ठ ६५ वर्षे उमेरहदका कारण अवकास हुनेछन्। आज प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठको बारेमा अब संसदीय विशेष समितिमा सुनुवाई हुनेछ। उनीविरुद्ध उजुरी गर्नका लागि समितिले समय तोक्नेछ। उजुरी परे वा नपरे न्यायाधीशसँग समितिमा सुनुवाई हुनेछ।

छानबिनपछि उनलाई प्रधानन्यायाधीश नियुक्त गर्न समितिले सिफारिस गर्न सक्नेछ। संसदीय सुनुवाई लगतै राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .