ad ad

समाज


बालेन्द्रबारे प्रशासनले भन्यो : ड्युटीका कर्मचारीलाई काम गर्न दिनू, सामाजिक सञ्जालमा जथाभावी नलेख्नू

बालेन्द्रबारे प्रशासनले भन्यो : ड्युटीका कर्मचारीलाई काम गर्न दिनू, सामाजिक सञ्जालमा जथाभावी नलेख्नू

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८० सोमबार १३:१९, काठमाडौँ

जिल्ला प्रशासन कार्यालयलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई ड्युटीमा रहेका कर्मचारीहरुबारे जथाभावी टिप्पणी नगर्न भनेको छ।

गत शनिबार राति आफ्नी पत्नी सविनालाई ट्राफिक प्रहरीले चेक जाँचका नाममा रोकेको भन्दै सिंहदरबारमा आगो लगाउने धम्की दिएका बालेन्द्रलाई प्रशासनले सामाजिक सञ्जालमा जथाभावी नलेख्न पनि आग्रह गरेको छ।

उक्त प्रकरणलाई लिएर सामाजिक सञ्जाल तातिरहेका बेला काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले सोमबार एक प्रेस वक्तव्य निकाल्दै कर्मचारीको मनोबल गिराउने काम नगर्न भनेका हुन्। 

प्रशासनले सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत् हुँदै आएको पनि जनाएको छ। 

प्रसशानले गृह मन्त्रालयले विभिन्न मितिमा अनुगमन, नियमन र नियन्त्रणका लागि परिपत्रसमेत गर्ने गरेको जनाएको छ। 
सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारी साधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको प्रशासनले स्मरण गराएको छ। 

गृहको निर्देशन अनुसार सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको पनि प्रशासनले जनाएको छ। 

‘सुरक्षाकर्मी एवम् कर्मचारीहरु विद्यमान कानुन एवम् नीति निर्देशनको पालना गर्न-गराउन अहोरात्र फिल्डमा खटिएर काम गर्दै आएका छन्। आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्न यसरी खटिने सुरक्षाकर्मी र कर्मचारीहरुलाई जिम्मेवार सरकारी निकाय, पदाधिकारी, नागरिक समाज र आम नागरिकका तर्फबाट उचित सहयोग, समर्थन र हौसला सदैव अपेक्षित हुन्छ’, प्रशासनले भनेको छ, ‘कार्यक्षेत्रमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीबारे कुनै गुनासो भए तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी आए आवश्यक निर्णय हुनेछ।’

प्रशासनले पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको पनि प्रशासनले जनाएको छ। 

‘आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउनु हुन र विभिन्न सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ’, प्रशासनले अगाडि भनेको छ, ‘हामीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन भन्ने कुरा स्थापित गरेको व्यहोरा जगजाहेर छ। प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिवद्ध छ।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .