ad ad

समाज


औषधि व्यवसायी संघको निर्वाचन : खण्डेलवालले घोषण गरे उम्मेदवारी

औषधि व्यवसायी संघको निर्वाचन : खण्डेलवालले घोषण गरे उम्मेदवारी

नेपालखबर
भदौ १९, २०८० मंगलबार १४:३६, काठमाडौँ

नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवालले उम्मेदवारी घोषणा गरेका छन्।

भदौ २२ र २३ गते वीरगन्जमा हुने राष्ट्रिय अधिवेशनमा खण्डेलवालले अध्यक्षमा उम्मेदवारी गरेका हुन्। उनी हाल संघको वरिष्ठ उपाध्यक्ष छन्।

२०३६ सालदेखि औषधि व्यवसायमा संलग्न रहेका खण्डेलवाल २८ वर्षदेखि संघको नेतृत्वमा रहेर काम गरेका छन्। 

उनले तत्कालीन नारायणी अञ्चलमा विभिन्न पदमा रहेर काम गरेसँगै केन्द्रीय कार्यसमितिमा सदस्य, उपकोषाध्यक्ष, उपाध्यक्ष (आयात) र वरिष्ठ उपाध्यक्षमा रहेर जिम्मेवारी निर्वाह गरेका छन्।

काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै खण्डेलवालले व्यवसायिक मुद्दासँगै व्यवसायीको हकहितका पक्षमा विभिन्न योजनासहित उम्मेदवारी घोषणा गरेको जानकारी दिए। 

‘आयातको उपाध्यक्ष हुँदा भन्सार लगायतमा रहेका नीतिगत समस्या निराकरणमा काम गरेको थिएँ,’ उनले भने, ‘व्यवसायी र नियामक संस्थाको समन्वयमा व्यवसायीमैत्री संस्था बनाउन मेरो योगदान रहन्छ।’

खण्डेलवालले औषधि व्यवसायी संघलाई ‘सबैभन्दा ठूलो र सबै अँट्ने’ संस्था बनाउन अधिकतम प्रयास गर्ने जानकारी दिए।

‘मेरो अहमता छैन, कसैलाई पक्षपात गर्दिनँ,’ उनी भन्छन्, ‘संस्थालाई राम्ररी चलाउन सक्छु। सबै साथीहरुलाई मिलाएर काम गर्न सक्छु।’

औषधि व्यवसायी संघलाई आर्थिक स्वावलम्बन गराउने आफ्नो उद्देश्य रहेको बताउँदै खण्डेलवालले तत्कालै ‘ओभर सप्लाई’ र ‘ओभर डम्पिङ’को समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए। 

‘हरेक व्यवसायमा समस्या आएको छ। उपभोक्ता धेरै छैनन्, सप्लाई धेरै छ। मेसिनहरु निष्क्रिय हुँदै गएका छन्,’ उनी भन्छन्, ‘व्यवसायीलाई डुब्ने अवस्थाबाट बाहिर निकाल्ने नेतृत्वले बलियो भएर काम गर्नुपर्छ।’

संस्थामा कानूनी सल्लाहकार राख्ने र विशेषज्ञ फर्मासिस्ट राख्ने, नीति विशेषज्ञ समूह बनाउने आफ्नो योजना रहेको खण्डेलवालले बताए।

उनले औषधि व्यवसायीले आफ्नो पैतृक सम्पत्ति र कम्पनीलाई परिवारमा हस्तान्तरण गर्न नपाउने नियमविरुद्ध संघले कदम चाल्ने बताए।

दूरदराजका व्यवसायीलाई ५ दिन लगाएर संस्था नवीकरणका लागि धाउनुपर्ने विद्यमान अवस्था परिवर्तनका लागि घुम्ती सेवा राखने वा स्थानीय तहलाई जिम्मा लगाउने मागलाई कडाइका साथ उठाउने खण्डेलको भनाइ छ।

खण्डेलवालले संस्थाका लागि सदस्यहरुलाई सहयोग गर्न विपद् व्यवस्थापन कोष बनाउने, हस्पिटल फार्मेसीको नाममा भएको बेथिति, बिमाका नाममा औषधि व्यवसायीको भुक्तानी रोक्ने जस्ता क्रियाकलापविरुद्ध काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .