ad ad

समाज


न्यायाधीश अभावमा स्थगित भयो सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ

न्यायाधीश अभावमा स्थगित भयो सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ

फाइल तस्बिर


नेपालखबर
असोज १, २०८० सोमबार १२:१२, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको फैसला आउने सम्भावना सोमबार पनि टरेको छ।

सोमबारका लागि पेसी तोकिए पनि मुद्दा हेर्ने न्यायाधीश नहुँदा सुनुवाइ स्थगित भएको हो। 

एकजना नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दाको अन्तिम सुनुवाइका लागि पटकपटक पेसी तोकिए पनि टुंगो लाग्न सकेको छैन। 

जिल्ला अदालत काठमाडौंमा सोमबार सुनुवाइ हुने बताइए पनि न्यायाधीश अभावमा रोकिएको हो।

अदालतका अनुसार केही न्यायाधीश बढुवा भएर उच्च अदालतमा जान बिदाइ भएकाले मुद्दा नहेरेका हुन्। अर्कातिर अन्यको सरुवा भएकाले पनि सुनुवाइ नै स्थगित गरिएको हो।

यसअघि यो मुद्दामागत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासमा सुनुवाइ भएको थियो। त्यसबेला कार्कीले पीडित किशोरी गौशाला २६ को पञ्जीकरणसम्बन्धी फाइलको ढड्डा नै झिकाउन आदेश दिएको थियो। 

उक्त आदेशअनुसार सम्बन्धित स्थानीय तहले बसाइँसराइसम्बन्धी विवरण गत साता जिल्ला अदालतमा पेस गरेको थियो। त्यसैले आज मुद्दाको छिनोफानो हुने अनुमान थियो। तर पेसी नै स्थगित भएको हो।

अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले सफाइ पाउने वा जेल जानुपर्ने फैसला हुनेछ। सन्दीपले एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ।

ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०८९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

उक्त मुद्दामा यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भए। त्ययसपछि सर्वोच्च अदालतले उनलाई विदेश जान लगाइएको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .