ad ad

समाज


मनै लोभ्याउने फुङफुङे झरना

मनै लोभ्याउने फुङफुङे झरना

नेपालखबर
असोज ४, २०८० बिहिबार ११:५५, ताप्लेजुङ

पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङे झरना। फुङफुङे झरनाको चारैतर्फ डाँडाकाँडा र वनजंगल। यहाँको वातावरणले मनै लोभ्याउँछ। 

३०० मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा यो झरनाको नामकरण फुङफुङे राखिएको बुढापाका बताउँछन्।

ताप्लेजुङ सदरमुकामबाट नजिकै रहेको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो। यो सुन्दर झरनामा झरेको पानी मेवा खोलामा मिसिन्छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्धन गर्नुपर्ने भन्दै सूचीकरण गरेको १०० पर्यटकीय गन्तव्यमा फुङफुङे झरना पनि एक हो। झरनाको प्रचारप्रसार भएसँगै दैनिक यसको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको स्थानीयवासी बताउँछन्। अहिले झरनासम्म सडक पुगेकाले पनि अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको हो। 

पर्यटकको चहलपहल हुन थालेसँगै झरना अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरेर होटल सञ्चालनमा आउन थालेका छन्। सडक पुगेकाले झरना नजिकै तेम्बा क्षेत्रमा बजार नै विस्तार हुँदै गएको छ। स्थानीयले होटल तथा होम स्टेसमेत सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएको मिक्वाखोला गाउँपालिका–४ का होम स्टे सञ्चालक विजय साँवाले बताए।

केही वर्ष अगाडि झरनामा आउने पर्यटकका लागि खाने बस्ने ठाउँ अभाव थियो। तर झरना नजिकै सडक पुगेसँगै बजार विस्तार हुन थालेको साँवाले बताए। बजार विस्तार भएसँगै किसानले उत्पादन गरेको स्थानीय उत्पादानले पनि राम्रो बजार पाउन थालेको छ। 

झरना नजिकै अझ मिक्वाखोला गाउँपालिकाको केन्द्र स्थापना हुनुलाई पनि झरनाको थप प्रचारप्रसार सहयोेग पुगेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो। 

फुङ्फुङ्गे झरना ताप्लेजुङको पनि नजिकैको पर्यटकीय गन्तव्यमा पर्छ। यस क्षेत्रका लागि तीन तहका सरकारले विगतदेखि नै बजेट विनियोजन गरेर आवश्यक पूर्वाधार निर्माण गर्दै आएका छ।  

झरनालाई सौन्दयीकरण गर्नका लागि चालु आवमा संघीय सरकारबाट एक करोड बजेट विनियोजन भएर ठेक्का लागि सकेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डन्डु लामाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .