समाज


एमाले बागमती अधिवेशन : चुनाव हुन नदिन ओली सक्रिय, ढुंगेल र दाहालबीच होला सहमति?

एमाले बागमती अधिवेशन : चुनाव हुन नदिन ओली सक्रिय, ढुंगेल र दाहालबीच होला सहमति?

सुनिता विष्ट
असोज ११, २०८० बिहिबार २१:५१, हेटौंडा

गत सोमबार (८ असोज) उद्घाटन भएको एमाले बागमती प्रदेशको अधिवेशन नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतीको प्रयासमा छ। 

अध्यक्षकै तीनजना उम्मेदवारले उम्मेदवारी फिर्ता गरेपछि अब मैदानमा दुईजना छन्। 

केशव पाण्डे र सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता गरेपछि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल चुनावी मैदानमा छन्। पाण्डेले ढुंगेललाई समर्थन गर्ने बताएका छन् भने श्रेष्ठ र बुढाथोकीको समर्थन दाहाललाई छ।

प्रतिस्पर्धाबाट हात नझिकेका ढुंगेल र दाहालबीच सहमति गराउन एमाले अध्यक्ष ओलीले नै सक्रियता देखाएका छन्। 

होला ओलीको प्रयास सफल?
पटक पटक सारिँदै आएको अधिवेशनको कार्यतालिका अनुसार बिहीबार राति ९ बजेसम्म मात्र उम्मेदवारी फिर्ताको समय छ। 

ढुंगेल र दाहाल प्रतिस्पर्धामा रहँदा ओली फकाउने कसरतमा छन्। 

गत मंसिरको आम निर्वाचनमा मकवानपुर प्रतिनिधि क्षेत्र नम्बर १ बाट दाहाल उम्मेदवारी दर्ता गराउन चाहन्थे। तर अध्यक्ष ओलीले राप्रपा नेपालका अध्यक्ष समेत रहेका कमल थापालाई उनको टिकट दिएको भन्दै दाहाल रुष्ट देखिएको एमाले निकट स्रोतको दाबी छ।

यद्यपि, यति हुँदाहुँदै पनि दाहाल ओली पक्षकै बलियो नेता हुन् भने ढुंगेललाई ओली आफैंले अघि सारेको चर्चा पनि छ। 

निर्वाचन गरेर एमालेमा फुट आउनसक्ने संकेत पाएका ओली आज रातभरमा नतिजा उल्ट्याउने खेलमा लाग्ने आकलन नेताहरूले गरेका छन्।

जसका लागि आज साँझ ६ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया पुनः समय लम्बाइएको छ। नयाँ नेतृत्व छान्नका लागि हुन लागेको निर्वाचनको यसअघि पनि कार्यतालिका संशोधन हुँदै आएको हो।

ओलीले सर्वसम्मतीको प्रयास जारी राखिरहँदा अध्यक्ष पदका ढुंगेल र दाहालमध्ये दुवैले आफ्नो अडान नछोडेको एमाले प्रदेश कमिटीका एक नेताले बताए।

‘अध्यक्ष ओली ज्युलगायत पार्टीका अन्य शीर्ष नेताहरूले पनि पार्टीको हितको लागि सर्वसहमती गरौं। यो पटकको लागि ढुंगेललाई अध्यक्ष बनाऔं। कृष्ण प्रसाद दाहालको उम्मेदवारी फिर्ता गरौं भनेर प्रस्ताव राख्नुभएको छ। तर उहाँले उम्मेदवारी फिर्ता लिन रुचाइरहनु भएको छैन,’ ती नेताले नेपालखबरसँग भने। 

यता, अधिवेशन प्रचार विभागका प्रमुख महेश कुमार बर्तौलाका अनुसार अहिले पनि सर्वसम्मतीकै पक्षमा पार्टी नेतृत्व लागिरहेको छ। 

‘अझै पनि हामी सहमतीकै पाटोमा छौं,’ बर्तौलाले भने, ‘३ सय भन्दा बढी उम्मेदवारमा १ सय ५० बढी सर्वसम्मती भइसक्नुभएको छ। अध्यक्षको हकमा पनि भोलि बिहानसम्म छलफल गर्छौं। यदी केही सिप लागेन भने भोलि बिहान ९ बजेबाट मतदान प्रक्रिया थालनी हुनेछ।’

समग्र पक्षलाई हेर्दा दिनभरमा तीनजनाको उम्मेदवारी फिर्ता गराएको बालकोटले रातभरमा एकजनाको उम्मेदवारी फिर्ता गर्न सके मात्र अध्यक्ष ओलीको सर्वसहमतीको प्रयास सफल हुने देखिन्छ।

‘ओलीले नै रुचाइएका ढुंगेलको उम्मेदवारी फिर्ता गराउन उनी आफै सहमत देखिएका छैनन्,’ एमाले निकट एक केन्द्रिय सदस्यले भने, ‘दाहालले ओलीसँग छलफल नै नगरी आफूखुसी उम्मेदवारी दर्ता गराएको खण्डमा उनको उम्मेदवारी फिर्ता गराउने दाउ ओलीको छ।’

ढुंगेल बागमती प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन्।

वाम गठबन्धनबाट २०७४ मा प्रदेश सभामा निर्वाचित उनी एमाले–माओवादीको गठबन्धन सरकारमा मन्त्री भएका थिए।

प्रतिनिधि सभामा भने तीनपटक उम्मेदवार बने पनि ढुंगलले चुनाव जित्न सकेनन्। ढुंगेल ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका पूर्णबहादुर तामाङसँग १६ हजारभन्दा बढी मतान्तरले हारे। 

यस्तै, अर्का उम्मेदवार दाहाल एमालेका केन्द्रीय सदस्य हुन्।

२०४८ सालयता दाहाल निरन्तर निर्वाचित जनप्रतिनिधि हुन्। ४ मंसिर २०७९ मा भएको निर्वाचनमा भने उनी उम्मेदवार बनेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .