समाज


बैंकको म्यानेजर पद गुमेदेखि डिप्रेसनमा थिए त्रिशूलीमा हामफालेका युवक

बैंकको म्यानेजर पद गुमेदेखि डिप्रेसनमा थिए त्रिशूलीमा हामफालेका युवक

सुनिता विष्ट
असोज १६, २०८० मंगलबार १३:४०, हेटौँडा

मकवानपुरका ३८ वर्षीय निरञ्जन देवकोटा सोमबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेंसीस्थित नयाँ पुलबाट त्रिशूलीमा हामफालेर बेपत्ता भएका छन्। 

बा.प्र. ०३–००५प ४१७६ नम्बरको एभेन्जर मोटरसाइकल नयाँ पुलमै छाडेर त्रिशूलीमा हामफालेर देवकोटा बेपत्ता भएका हुन्। 

इलाका प्रहरी कार्यालय गजुरीबाट ३ किलोमिटरको दूरीस्थित उक्त पुलबाट हामफालेका देवकोटाको अहिलेसम्म अवस्था खुल्न सकेको छैन। 

सोमबार साँझ त्रिशुलीमा हामफलेका देवकोटाको खोजी मंगलबार बिहानबाट सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। 

‘हिजो साँझ पानी परेर त्रिशूलीको वहाब पनि बढेको थियो। अध्याँरो पनि भएपनि खोजीकार्य बिहानबाट मात्रै सुरु गरेका हौं,’ प्रहरी उपरीक्षक मिश्रले भने। उनका अनुसार प्रहरी र स्थानीय मिलेर उनको खोजी भइरहेको छ।

प्रहरीले उनको खोजीकार्यसँगै घटनाबारे पनि अनुसन्धान थालेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले देवकोट किन त्रिशूलीमा हेलिए भन्ने यथेष्ट पुष्टि भएको छैन। 

प्रारम्भिक अनुसन्धानले आफ्नो जागिरलाई लिएर उनी केही समयदेखि चिन्तित रहेको खुलेको छ। 

‘कारण अन्य पनि हुन सक्छन्। हामी अनुसन्धानको क्रममै छौँ। हामी कारण खोज्दै अनुसन्धानमा जुटिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक मिश्रले भने।  

यता, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता दीपक रेग्मीले देवकोटा केही समयदेखि परिवारका सदस्यसँग कम घुलमिल हुने र एक्लै बस्न रुचाउने गरिरहेको बताए।

‘बैंकको ब्रान्च म्यानेजरको पद गएदेखि उनी डिप्रेसनमै पुगेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ उनले भने, ‘काम विशेषले काठमाठौं गएका उनी फर्किँदा त्रिशुलीमा हामफालेको परिवारका सदस्यहरुले बताउनु भएको छ। यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रवक्ता रेग्मीले नेपालखबरसँग भने।

पारिवारिक स्रोतका अनुसार निरञ्जन मेगा बैंक हेटौंडा शाखामा कार्यरत थिए। मेगा बैंकमा उनले लगभग १ वर्ष ब्राञ्च म्यानेजरको पद सम्हालेको पारिवारिक स्रोत बताउँछ। 

नेपाल इन्भेष्मेन्ट बैंक र मेगा बैंक मर्ज भएर इन्भेष्मेन्ट मेगा बैंक भएपछि उनको ब्रान्च म्यानेजर पद गएको थियो। 

त्यसपछि उनले बैंकलाई राजीनामा बुझाएका थिए। तर राजीनामा स्वीकृत भइनसकेको पाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी प्रवक्ता रेग्मीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .