समाज


इजरायलबाट फर्किने टोलीमा हुने छैनन् विपिन, उनलाई खोज्न के गर्न सक्छ सरकारले?

इजरायलबाट फर्किने टोलीमा हुने छैनन् विपिन, उनलाई खोज्न के गर्न सक्छ सरकारले?

सीताराम बराल
असोज २५, २०८० बिहिबार १८:५६, काठमाडौँ

इजरायलमा फसेका नेपालीमध्ये २ सय ५४ जना विद्यार्थीलाई लिएर नेपाल एयरलाइन्सको जहाज आज राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। 

स्वदेश फर्कन चाहने नेपालीमध्ये सरकारको पहिलो प्राथमिकतामा इजरायलमा ‘लर्न एन्ड अर्न’ (पढाइसँगै कमाइ) कार्यक्रम अन्तर्गत गएका कृषि विज्ञानका विद्यार्थीहरु परेका छन्। नेपालीहरुलाई लिन इजरायलको राजधानी तेलअबिब पुगेका परराष्ट्रमन्त्री एनपी साउद ती विद्यार्थीहरुका साथ नेपाल फर्कंदैछन्।  

तर, ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत नै इजरायल पुगेका भीमदत्त नगरपालिका–३, झाँसी (कञ्चनपुर) का विपिन जोशी बिहीबार राति काठमाडौँ आइपुग्ने नेपाल एयरलाइन्सको जहाजमा हुने छैनन्।   

आक्रमणयता सम्पर्कविहीन भएकाले नेपाल फिर्ता हुने पहिलो टोलीमा विपिन परेनन्। उनी हालसम्म ‘बेपत्ता’ को सूचीमा छन्। हमासको नियन्त्रणमा परेयता उनीबारे कुनै सूचना नेपाल सरकारले प्राप्त गर्न सकेको छैन।  

कहाँ होलान् विपिन! 
‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौमा इजरायलको नेपाली विद्यार्थीहरुको समूहमा विपिन पनि थिए। तर, उनीहरु रहेको किबुज अलिमुम भन्ने स्थान पनि शनिबार बिहानै हमासको आक्रममा पर्यो। 

आक्रमणमा परी १० जना नेपालीको मृत्यु भयो, ४ जना घाइते भए। 

जब हमासको आक्रमण सुरु भयो, विपिनसहित नेपाली विद्यार्थीहरुको समूह लुक्न पुगेको बंकरमा हमासले प्रयोग गरेको बम खस्यो। विपिनले त्यो बम हातले समातेर बाहिर फ्याँकिदिए। 

‘त्यहीँ रहेका अर्का नेपाली विद्यार्थी (हिमाञ्चल कट्टेल) ले यो कुरा फोनमा मलाई पनि बताउनु भएको थियो,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले कट्टेलको भनाइ उद्धृत गर्दै भनिन्, ‘तर फेरि दोस्रो पटक त्यहाँ बम खस्यो, त्यसपछि उहाँ हमासको नियन्त्रणमा पर्नुभयो।’  

त्यो घटना भएको पनि पाँच दिन बितिसकेको छ। तर अहिलेसम्म उनको अवस्था अज्ञात छ। 

जानकारी अनुसार, हमासको आक्रमण भएको त्यो घटनास्थलमा रहेका अन्य विदेशी नागरिकहरुसँगै विपिनलाई पनि हमास लडाकुहरुले गाजातर्फ लगेका थिए। 

हमासले विपिनसँगै कब्जा गरेका अन्य विदेशीहरु थाइल्यान्डका नागरिकहरु रहेको बताइएको छ। थाइल्यान्डको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बुधबार स्थानीय सञ्चारमाध्यमहरुलाई दिएको जानकारी अनुसार त्यो आक्रमणमा हमासले २० जना थाइ नागरिकहरुलाई कब्जामा लिएको थियो। 

उनीहरुको अवस्था अहिलेसम्म पनि अज्ञात छ। 

विपिनसँगै हमास लडाकुहरुले थाइ नागरिकहरुलाई लगेको गाजा क्षेत्र  प्यालेस्टिनीहरुका दुई समूहमध्ये हमासको प्रभाव रहेको इलाका हो। दुईमध्ये अर्काे इलाका ‘वेस्ट ब्याङ्क’ हो, जहाँ नरमपन्थी संगठन प्यालेस्टिनी लिबरेसन अर्गनाइजेसन (पीएलओ) को प्रभाव छ। 

कब्जामा लिइएकाहरुलाई हमासले गाजा क्षेत्र लैजानुको कारण त्यो क्षेत्र उनीहरुको पकडमा रहेकाले हो। हमासले आफ्नो कब्जामा रहेका इजरायली बन्दीहरुको प्रयोग इजरायली जेलमा रहेका आफ्ना समर्थकहरुको साटफेरका लागि प्रयोग गर्दै आएको छ। 

यस्तै साटफेरका लागि उसले कब्जामा लिएको हुँदो हो। तर, दुर्भाग्यवस कब्जामा प्यालेस्टाइन–इजरायल द्वन्द्वसँग कुनै साइनो नै नभएका विपिनजस्ता विदेशीहरु परेका छन्।  

जीवन रक्षाको पहिलो पहल  
नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालय र तेलअबिबस्थित नेपाली राजदूतावासले उनको खोजी र सुरक्षाको पहल गरिरहेको दाबी गरेका छन्। 

इजरायल घटनामा परेका र फसेका नेपालीको उद्धारबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले बुधबार (२४ असोज) मा पत्रकार सम्मेलन आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले तेलअबिबस्थित नेपाली राजदूतावासले विपिनको खोजी जारी राखेको बताइन्।  

‘आक्रमणबाट घाइते भएकाहरुलाई राखिएको अस्पताल लगायतका स्थानमा पुगेर विपिनको आधारमा खोजी गरिएको छ,’ प्रवक्ता लम्सालको भनाइ थियो, ‘उहाँको पहिचानका लागि तस्बिर र पासपोर्टको प्रतिलिपिको प्रयोग गरिएको छ।’

बम प्रहारपछि विपिन हमासको नियन्त्रणमा परेकाले तेलअबिबस्थित दूतावासले इजरायलस्थित अस्पतालमा उपचाररत अवस्थामा पनि हुनसक्छन् भन्ने अनुमानका साथ राजदूतावासले यो विकल्प अपनाएको हो। 

तर, घटनास्थलमा रहेका कट्टेलले विपिनका परिवार, तेलअबिबस्थित नेपाली दूतावास र मन्त्रालयका अधिकारीहरुलाई दिएको जानकारीको आधारमा विपिन उपचाररत अवस्थामा इजरायलभित्रै भेटिने सम्भावना कम हुनसक्छ।  

किनकि, उनीहरुले कब्जामा लिएका जीवित सबैलाई आफ्नो प्रभावक्षेत्र गाजामा लगेका थिए। विपिनसँगै हमासको कब्जामा परेका थाइ नागरिकहरु पनि इजरायलमा भेटिएका छैनन्। 

हमास आक्रमणलाई परिभाषित गर्ने सन्दर्भमा नेपाल सरकारको परिवर्तित धारणाले पनि यही कुरालाई बल प्रदान गर्छ। 

शनिबार (२० असोज) बिहानको घटनापछि त्यसै साँझ परराष्ट्र मन्त्रालयले पहिलो विज्ञप्ति जारी गरेको थियो। जसमा आक्रमणलाई ‘आतंकवादी’ र ‘क्रुर’ परिभाषित गरिएको थियो। 

तर, त्यसयताका विज्ञप्तिमा यस्तो शब्दावली पाइँदैन। 

हमासको नियन्त्रणमा पुगेपछि विपिनले पक्कै पनि आफू इजरायली नभई नेपाली नागरिक भएको बताएका होलान्। यस्तोमा नेपालले ‘आतंकवादी’ विशेषण दोहोर्याइरहँदा हमास लडाकूहरु विपिनप्रति थप आक्रामक बन्नु स्वाभाविक हो। यस्तो धारणाले विपिनको जीवन पनि खतरामा पार्ने हुनसक्थ्यो। 

यसैआधारमा कतिपय इजरायल घटनाका सन्दर्भमा नेपाल सरकारलाई सन्तुलित भाषा र व्यवहार प्रदर्शन गर्न सामाजिक सञ्जालमार्फत् सुझाव दिएका थिए। 

त्यसपछि विपिनको जीवन सुरक्षालाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले पनि आफ्नो भाषा परिवर्तन गर्न थाल्यो। त्यसयता मन्त्रालयले जारी गरेका विज्ञप्तिमा हमास वा उसको आक्रमणका लागि ‘आतंकवादी’ विशेषण प्रयोग गरिएको भेटिँदैन।  

खासमा विपिनको सुरक्षाका लागि सरकारको तर्फबाट यो नै ‘पहिलो पहल’ यही हो। प्रवक्ता लम्सालले पत्रकार सम्मेलनमा अन्य पहल पनि गरिएको तर अहिले नै भन्न उपयुक्त नभएको उल्लेख गरेकी थिइन्। 
 
हमाससँग सम्पर्कको सम्भावना  
यो गम्भीर क्षणमा नेपाल सरकारको पहिलो दायित्व विपिनको जीवन सुरक्षाको पूर्ण प्रत्याभूति र रिहाइका लागि प्रयास हो। उनलाई गाजा क्षेत्रतर्फ लगिएको अनुमान भएकाले हमाससँग सम्पर्क स्थापित गर्नुपर्ने पनि हुनसक्छ। 

किनकि इजरायलले पनि विगतमा ‘हमास’सँग ‘सम्झौता’ वा ‘लेनदेन’ मार्फत् आफ्ना नागरिकहरुलाई रिहा गराएका उदाहरण छन्, जबकि इजरायलको नजरमा हमास  ‘शत्रु’ र ‘आतंककारी’ समूह हो। 

कतिसम्म भने हमासको कब्जामा रहेका आफ्ना एकजना सैनिकको जीवनरक्षा र मुक्तिका लागि इजरायलले आफ्नो जेलमा रहेका एक हजार  प्यालेस्टिनीहरुलाई मुक्त समेत गराएको उदाहरण समेत छ।   

स्थिति गम्भीर रहेकाले विपिनको मुक्तिका लागि नेपालका लागि यस्तै कूटनीति आवश्यक पर्छ। गाजा क्षेत्रमा इजरायलले भीषण बमबारी गरिरहेको छ। 

त्यसैले, कुनै रुपमा हमास समूहसँग सम्पर्क स्थापित गरेर भए पनि विपिनको मुक्ति होस् भन्ने चाहना नेपालीहरुले गर्नु अन्यथा होइन।  

तर, जानकारहरु के बताउँछन् भने अहिलेको स्थितिमा दुई कारणले यस्तो प्रयास गर्नु असम्भवप्राय छ।  

पहिलो कारण गाजा इलाकामा इजरायलको भीषण हवाई हमला हो। शनिबार यता गाजा क्षेत्रमा भएको यस्तो हमलामा १२ सयभन्दा बढीको ज्यान गएको बताइएको छ।  

हवाई हमलाका अलावा गाजा क्षेत्रमा इजरायलले नाकाबन्दीसमेत लगाएको छ। त्यहाँ खानेपानी, औषधि र इन्धन आपूर्ति समेत बन्द गरिएको छ। हवाई हमलाबाट बच्न अधिकांश गाजावासीहरु बंकरमुनि छन्, हमासको नियन्त्रणमा रहेका विपिन पनि बंकरमुनि नै होलान् सायद। 

यता, इजरायलको राजधानी तेलअबिबको स्थिति पनि उस्तै छ। प्रवक्ता लम्सालले बुधबारको पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘नेपाली राजदूत (कान्ता रिजाल) सहित अन्य कर्मचारीहरु बंकरमा बसेर काम गरिरहनु भएको छ। बाहिर निस्कन सक्ने स्थिति छैन, अनुमति पनि छैन।’  

‘यस्तो स्थितिमा हमाससँग सम्पर्क गर्नु भनेको हाम्रो बुताबाहिरको कुरा हो,’ परराष्ट्र मन्त्रालयका अर्का एक अधिकारीले भने, ‘यतिबेला गर्न सकिने र गर्नुपर्ने भनेको उनीहरुको जीवन रक्षा र रिहाइको वातावरण बनाउन संयुक्त–अपिल हो।’ 

स्थापित कूटनीतिक प्रचलनका कारणले पनि नेपालले हमाससँग सम्पर्क गर्न सक्ने स्थिति छैन। 

‘नेपालको सम्बन्ध इजरायलसँग हो, हमाससँग हाम्रो सम्बन्ध नै छैन’ इजरायलका लागि पूर्व नेपाली राजदूत अञ्जान शाक्य भन्छिन्, ‘गाजा पनि इजरायली भूमि नै हो। यस्तोमा नेपालले विपिनको जीवनरक्षा र रिहाइका इजरायलसँगै अनुरोध गर्ने हो।’ 

शाक्यका भनाइमा, इजरायलमा रहेका सम्पूर्ण विदेशी नागरिकहरुको सुरक्षाका लागि इजरायल सरकार संवेदनशील देखिन्छ। उनले थपिन्, ‘नेपालीहरुको सुरक्षाप्रति पनि उहाँहरु संवेदनशील हुनुहुन्छ। यस हिसाबले परिणाम सकरात्मक आउला भन्ने लाग्छ।’ 

शाक्यले भनेजस्तो सकारात्मक परिणामको अपेक्षा र प्रार्थना गर्नु यतिबेला सम्पूर्ण नेपालीहरुको दायित्व हो। तर, हाम्रो प्रार्थना त्यतिबेला मात्र सफल हुनेछ, जब गाजामाथिको अन्धाधुन्ध हवाई हमला स्थगित हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .