सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा लागेका नेकपा माओवादी केन्द्रका नेता भीमकान्त भण्डारीले सफाइ पाएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा व्यवसायीसमेत रहेका भण्डारीले मंगलबार विशेष अदालतबाट सफाइ पाएका हुन्।
विशेष अदालतका न्यायधीश यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले अख्तियारको दाबी नपुग्ने रायसहित भण्डारीलाई सफाइ दिएको हो।
गुल्मीका निवासी भण्डारी कोभिड महामारीका बेला चर्चामा आएको ललितपुरस्थित विध ल्याबका सञ्चालक पनि हुन्।
विशेष अदालतले अकुत सम्पत्तिसम्बन्धी अख्तियारको दाबी नपुग्ने ठहरसहित सफाइ दिएको हो। विशेष अदालतले व्यवसायबाट आर्जित सम्पत्तिमा अख्तियारले छानबिन गर्न नसक्ने पनि जनाएको छ।
अख्तियारले गत असार ३ गते भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो। त्यसपछि भण्डारी सर्वोच्च पुग्दा कारण देखाऊ आदेश जारी भएको थियो।
२०७३ असोजमा नायब सुब्बामा सरकारी सेवामा प्रवेश गरी २०७७ असार ३० मा स्वेच्छिक अवकाश लिएका भण्डारीविरुद्ध अख्तियारले ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको थियो।
Shares
प्रतिक्रिया