ad ad

राजनीति


भाग्ने तयारीमा थिए छवि, प्रहरीको उच्च निगरानीमा रवि

भाग्ने तयारीमा थिए छवि, प्रहरीको उच्च निगरानीमा रवि

उजिर कार्की
असोज ६, २०८१ आइतबार १९:४४, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले सहकारी ठगीका आरोपितमाथि कारबाही अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ।

प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि मात्रै सहकारी छानबिन समितिले कारबाही गर्न भनेका व्यक्तिलाई नियन्त्रणमा लिने तयारी गरेको भए पनि छविलाल जोशी भने भाग्न लागेको सूचना पाएपछि तत्काल पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो। 

‘छविलाल जोशीलाई पनि अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि मात्रै पक्राउ गर्ने भन्ने हाम्रो तयारी थियो। तर उनी भाग्न लागेको सूचनापछि तत्काल पक्राउ गरिएको हो। उनीहरूमाथि केही दिनअघिबाटै निगरानी बढाइएको थियो’, प्रहरी स्रोतले नेपालखबरसँग भन्यो, ‘अब अदालतबाट अनुमति लिइसकेपछि अरू पनि पक्राउ पर्छन्।’

स्रोतका अनुसार, पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतबाट अनुमति लिएर पक्राउ गर्ने प्रहरीको तयारी छ।

‘उनी पूर्वगृहमन्त्री मात्रै होइनन्, बहालवाला सांसद पनि हुन्। भागी जाने सम्भावना छैन। उसलाई पक्राउ गर्न हतारिनुपर्ने अवस्था छैन।यही परिस्थितिमा अदालतको पक्राउ पूर्जी नआई रवि पक्राउ पर्दैनन्। बीचमै परिस्स्थिति बदलिए त प्रहरीले जरुरी पक्राउ पूर्जी दिएर जुनसुकै बेला पक्राउ गर्न सक्छ’, स्रोतले नेपालखबरसँग भन्यो।

सहकारी छानबिन समितिले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ।

समितिको प्रतिवेदन मन्त्रिपरिषद बैठकले नै कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद्ले कार्यन्वयनका लागि गृह मन्त्रालयमा पठाएको थियो। गृहमन्त्री लेखकले आइतबार प्रहरी महानिरीक्षकलाई बोलाएर उक्त प्रतिवेदन कार्यन्वयनमा अगाडि बढ्न निर्देशन दिएका थिए।

उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा अघि बढाउने तयारी गरेको छ।

गृहमन्त्रीले निर्देशन दिएको केही घण्टामै छविलाल जोशी पक्राउ परेका हुन्। जोशीका व्यावसायिक साझेदारसमेत रहेका रवि लामिछानेमाथि प्रहरीले निगरानी बढाएको छ।

लामिछाने अहिले रास्वपा केन्द्रीय पार्टी कार्यालय, वनस्थलीमा कार्यकर्तामाझ छन्। आफूलाई पक्राउ गर्न लागेको आशंकामा लामिछानेले कार्यकर्तालाई पार्टी कार्यालय झिकाएका छन्। अहिले रास्वपा मुख्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

कार्यकर्ताको उपस्थिति पनि बढ्दै गएको छ।

यता जोशीलाई भने आइतबार बेलुका नै पोखरा लगिँदै छ। जोशीलाई लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी निरीक्षकको नेतृत्वमा टोली पोखरा जाँदै छ। उनलाई बेलुका ८ बजे विमानमार्फत पोखरा लगिँदै छ।

सूर्यदर्शन सहकारी ठगीको आरोपमा गत माघमा नै जोशी र लामिछानेसहितविरुद्ध पूरक जाहेरी परेको थियो। जीबी राई, कुमार रम्तेललगायत विरुद्ध भने यसअघि नै मुद्दा दर्ता भइसकेको छ।

यसबीचमा आफैं गृहमन्त्री भएका लामिछानेले यो मुद्दा दबाउँदै आएका थिए। संसदीय छानबिन र गृहमन्त्री परिवर्तनसँगै उनीविरुद्धको सहकारी ठगी मुद्दामा अनुसन्धानले गति लिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले यसअघि नै आएर उनी संलग्न गोर्खा मिडिया नेटवर्कसहितका संस्थामा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो। सोही क्रममा छवि र रविसहितसँग बयान कागज पनि गराइसकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .