ad ad

राजनीति


पार्टी खोलेको २७ महिनामै रविमाथि आइपरेको दोस्रो संकट

गृहस्रोत भन्छ : सोमबारसम्ममा रविलाई समातेर पोखरा लगिन्छ
पार्टी खोलेको २७ महिनामै रविमाथि आइपरेको दोस्रो संकट

सागर न्यौपाने
असोज ६, २०८१ आइतबार २१:४९, काठमाडौँ

आइतबार अपराह्न राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय चःमतीमा नेता/कार्यकर्ताको भीड एक्कासि बाक्लियो। 

केही प्रहरी अधिकारीहरू देखिन थाले।

दिउँसो ४ बजेतिर सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी काठमाडौँबाट पक्राउ परे। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जोशीलाई काठमाडौँ प्रहरीले समाएर पोखरा पठाएको थियो। 

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन बुझेकै दिन प्रहरीले जोशीलाई पक्राउ गरेपछि रास्वपा सभापति लामिछाने पनि पक्राउ पर्ने भन्दै नेता/कार्यकर्ता पार्टी कार्यालयमा भेला भए। 

रास्वपाकै काठमाडौँमा उपलब्ध सांसद र नेताहरू सभापतिसँग कार्यालयमै बेलुकी अबेरसम्म बसे। प्रहरीले उनलाई पक्राउ गर्न खोजेको सूचना पाएपछि उनीहरू रविसँगै बसेका हुन्। 

काठमाडौँ प्रहरीले उनलाई पक्राउ गरेर पोखरा लैजाने तयारी गरेको छ। तर, रवि सांसद भएकाले प्रहरीले अन्य प्रक्रिया मिलाउनुपर्ने हुन्छ।

प्रहरीले पक्राउ तयारी गरेसँगै रास्वपा सभापति लामिछानेमाथि राजनीतिक संकट चुलिएको छ। 

गोर्खा मिडिया नेटवर्कमा गएको सहकारी रकम अपचलनमा उनी पनि दोषी रहेको सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले प्रतिवेदनमा उल्लेख गरेको थियो।

पार्टी खोलेको २७ महिनामै रवि दोस्रोपटक गिरफ्तारीको सँघारमा पुगेका छन्। यद्यपि, अदालतबाट प्रमाणित नहुँदासम्म उनको सांसद पद भने सुरक्षित रहनेछ।

२०७९ पुस ११ देखि माघ १३ र २०८० फागुन २३ देखि असार २८ सम्म दुईपटक गृहमन्त्री बनेका उनले पहिलोपटक नागरिकता प्रकरण्मा सांसद पद गुमाएका थिए।

लामो समय अमेरिका बसेर नेपाल फर्किएका उनले नेपाली नागरिकता ब्युँताउने प्रक्रिया नै नगरी २०७९ मंसिर ४ गतेको चुनावमा उम्मेदवार बनेका थिए। 

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता ब्युँताउने प्रक्रिया नअपनाएको भन्दै सर्वाेच्च अदालतले २०७९ माघ १३ गते उनको पद खारेज भएको फैसला सुनायो। नागरिकता ऐनअनुसार, विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता ब्युँताउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ।

तर, रविले पुनः नेपाली नागरिकता प्राप्त नगरेकाले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन योग्य नरहेको सर्वाेच्चको ठहर थियो।

‘निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नंं २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचित समेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने लगायतका काम कारबाही नेपालको संविधानको धारा १३३ को उपधारा (२), (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,’ अदालतको आदेशमा भनिएको थियो।

मंसिर ४ मा प्रतिनिधि सभा सदस्यका लागि चितवन–२ बाट रवि उम्मेदवार बनेलगत्तै निर्वाचन आयोगमा उजुरी परेको थियो। 

तर, निर्वाचन आयोगले मंसिर ९ गते चुनावी परिणाम घोषणा ग¥यो। रविले जिते।  

तर, त्यसका विरुद्ध सर्वाेच्चमा रिट दायर भयो। त्यसमाथि सर्वाेच्चले माघ १३ गते रविको पद कायम नरहेको फैसला सुनायो। सांसद पदसँगै गृहमन्त्रीबाट समेत उनी हट्न बाध्य भएका थिए।

सहकारी रकम अपचलन
पोखराको सूर्य दर्शन, बुटवलको सुप्रिम लगायतका सहकारीमा सर्वसाधारणको बचत रकम अपचलन गरेको र त्यसमा रवि संलग्न रहेको आरोप लगाउँदै छानबिनको मागसहित तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध ग¥यो।

जसकारण संसदीय छानविन समिति बनाउन सरकार बाध्य भयो।  २०८० जेठ १५ गते एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा ७ सदस्यीय संसदीय विशेष छानबिन समितिले बन्यो।

समितिले तीन महिना १५ दिन लगाएर प्रतिवेदन तयार पा¥यो। जसमा रविको भूमिका सिधै सहकारीको रकम अपचलनमा नभई गोर्खा मिडिया नेटवर्कमा गएको रकम परिचालनमा रहेको ठहर गरेको छ। 

गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक रहेका बेला रविले ६५ करोड रकम बाँडफाँटमा हस्ताक्षर गरेको समितिले जनाएको छ। 

सोही आधारमा उनलाई कारबाही गर्न विशेष समितिले सरकारलाई सुझाव दिएको थियो।

सरकारले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै आइतबार (असोज ६) गृहमन्त्री रमेश लेखकले मातहतका निकाय (प्रहरी)लाई निर्देशन दिएका छन्।

गृहमन्त्रीको निर्देशन पाएलगत्तै प्रहरीले रविमाथि निगरानी बढाएको छ।

यद्यपि, रविलाई सोमबारसम्ममा पक्राउ गरिने  गृह मन्त्रालय स्रोतको दाबी छ।

‘राजनीतिमा कुनै नाटकीय ट्विस्ट आएन भने माननीय रवि लामिछानेलाई सोमबार (असोज ७) भित्रै पक्राउ गरेर पोखरा लग्ने देखिन्छ,’ गृहस्रोतले नेपालखबरसँग भन्यो। 

नागरिकता प्रकरणले उपचुनावबाट थप शक्ति आर्जन गरेका रविलाई यसपटक सहकारी प्रकरणले तनाव दिएको छ। 

वैकल्पिक शक्ति बन्ने योजनासहित २०७९ असार ७ गते स्थापना भएको रास्वपाका सभापति रविले दोस्रोपटक पेचिलो राजनीतिक मुद्दा खेपेका छन्। 

उनलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको अवस्थामा रविमाथि फेरि राजनीतिक संकट पर्नेछ।

आइतबार उनलाई पक्राउको हल्ला चलेपछि पार्टीपंक्तिमा पनि निराशा चुलिएको छ। 

रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘घोर निरङ्कुश षड्यन्त्रविरुद्ध निलो क्रान्ति।’

तर, उनले कस्तो खालको क्रान्ति भन्ने खुलाएका छैनन्।

रवि आइतबार यो अबेरसम्म पनि पार्टी कार्यालयमै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .