ad ad

सुदूरपश्चिम


ड्रग्स सेवन गरेर पालैपालो बलात्कार, मोबाइलले खोल्यो मुस्कान हत्याको रहस्य

१० महिनापछि समातिए २ अभियुक्त
ड्रग्स सेवन गरेर पालैपालो बलात्कार, मोबाइलले खोल्यो मुस्कान हत्याको रहस्य

गोकुल जोशी
असोज ६, २०८१ आइतबार १८:१५, कञ्चनपुर

कैलालीमा महिलाको हत्या घटना भएको करिब १० महिनापछि दुई जना अभियुक्त पक्राउ परेका छन्।

कैलाली प्रहरीले ०८० मंसिर ६ गते मृत फेला परेकी डडेल्धुराको अमरगढी नगरपालिका–२ की ३१ वर्षीय बिमा थापा मगर (मुस्कान)को हत्या भएको निष्कर्ष निकालेको छ।

घटनाको करिब १० महिनापछि दुई अभियुक्तलाई नियन्त्रणमा लिएर आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका– ५ का २५ वर्षीय सञ्जिव चौधरी र सोही ठाउँका ३१ वर्षीय जनक देउवा हत्या आरोपमा पक्राउ परेका हुन्।

अभियुक्तले अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टले बताए।

अमरगढी नगरपालिका–२ की थापा धनगढी उपमहानगरपालिका–६ सरस्वती सामुदायिक वनमा मृत फेला परेकी थिइन्। उनी धनगढी उपमहानगरपालिका–५ मा बस्थिन्। उनी अविवाहित थिइन्।

ड्रग्स खाएर यौन सम्पर्क, मरेपछि जंगलमा फालियो शव
प्रहरीका अनुसार ०८० कार्तिक २९ गते बेलुकी सञ्जिव र जनकले लागुऔषध सेवन गरे। जनककी श्रीमती पहाडतिर गएकी थिइन्। त्यसपछि उनीहरूले फोन सम्पर्क गरेर बिमालाई घरमा बोलाए।

अभियुक्तले मृतक बिमाले पनि लागुऔषध सेवन गरेको प्रहरीसमक्ष खुलाएका छन्। लागुऔषध सेवनपछि सञ्जिव र जनकले पालैपालो बिमासँग शारीरिक सम्बन्ध राखे। सञ्जिवले दोस्रो पटक सम्बन्ध राख्न खोज्दा बिमा तयार भइनन्। त्यसपछि बिमामाथि उनले कुटपिट गरे।

‘दोस्रो पटक शारीरिक सम्बन्धका लागि जाँदा नमानेपछि एक/दुई झापड हानेको सञ्जिवले भनेका छन्। बिहान उज्यालो नहुँदै शव सामुदायिक वनमा छोड्न गएको खुलेको छ,’ प्रहरी स्रोत भन्छ, ‘ड्रग्स खाएर मरेको देखाउन नजिकै त्यो पनि छोडेको अनुसन्धानले देखाएको छ।’

शव स्कुटीको बिचमा राखियो। जनकले स्कुटी चलाए। र, सञ्जिवले पछाडि शव समातेर सरस्वती सामुदायिक वनमा पुर्‍याए। शव फालेर त्यहीँ खैरो हेरोइन र प्रिगाभा नामक लागुऔषध पनि छोडे।

मोबाइलले पुर्‍यायो हत्यारासम्म
०८० मंसिर ६ मा बिमाको शव क्षतबिक्षत अवस्थामा थियो। घटनास्थल नजिक लागुऔषध भेटिएको थियो। शव सडेको हुनाले पोष्टमार्टम गर्न सक्ने अवस्थामा थिएन। प्रहरीलाई उनको पहिचान गर्न हम्मेहम्मे परेको थियो।

२/३ दिनपछि कपडाको सहायताले उनको पहिचान खुलेको थियो। १० मंसिर ०८० मा बिमाका बुवा खनबहादुर थापामगरले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका थिए।

प्रहरीले सुक्ष्म ढंगले घटनाको अनुसन्धान सुरु गर्‍यो। गत चैत्र वैशाखतिर बिमाको मोबाइल मिसिङ रहेको खुल्यो। त्यसपछि प्रहरीले मोबाइलमाथि निगरानी राखेर अनुसन्धान अघि बढायो।

‘मोबाइल प्रयोगमा आएको थिएन। २ महिनाअघि सीम कार्ड राखेर चलाएको पाइयो,’ प्रहरी स्रोत भन्छ, ‘आईएमआईबाट लोकेसन पत्ता लगाउँदा धनगढी क्षेत्रमै देखायो।’

मृतक बिमाको मोबाइल सञ्जिवकी श्रीमती चाँदनीले चलाइरहेको पाइएको थियो। चाँदनीले आफूलाई श्रीमान्ले मोबाइल दिएको बताएकी थिइन्। तर सञ्जिव भने भारतमा थिए। सञ्जिवमाथि प्रहरीले झनै निगरानी बढायो।

श्रीमतीलाई भारत लैजान शनिबार राति गौरीफन्टा नाका पुगेका बेला प्रहरीले सञ्जिवलाई नियन्त्रणमा लिन सफल भएको हो। त्यसपछि सञ्जिवले अपराध स्वीकार्दै जनकको नाम पनि पोलेका थिए।

त्यसपछि प्रहरीले जनकलाई उनकै कोठाबाट नियन्त्रणमा लिएको हो। उनीहरूलाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .