ad ad

समाज


मन्त्री गुरुङले फेरि अड्काए न्यायाधीश नियुक्ति, परिषद्‌मा विवाद झिकेर अमेरिकातिर

मन्त्री गुरुङले फेरि अड्काए न्यायाधीश नियुक्ति, परिषद्‌मा विवाद झिकेर अमेरिकातिर

कानुनमन्त्री धनराज गुरुङ र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ (फाइल तस्बिर)


नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १९:१७, काठमाडौँ

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रयास विफल भएको छ। हिजो दिनभर र आज केहीबेर छलफल गरे पनि न्यायाधीशका नाम टुंग्याउन न्यायपरिषद् असफल भएको हो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले तिहारअघि नै निर्णय लिने गरी पहल गरेका थिए। हिजो प्रधानन्यायाधीश श्रेष्ठ र वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमै नबसी न्यायाधीश नियुक्तिबारे छलफलमा सहभागी भएका थिए।

सर्वोच्च अदालतमा ७ जना न्यायाधीश नियुक्तिका लागि हिजै धेरै विषयमा सहमति भइसकेकोले आज केहीबेर मात्र औपचारिकताका काम सकेर निर्णय सार्वजनिक गर्ने भनिएको थियो। तर, न्यायपरिषद्‌मा आज हिजोभन्दा झन् खराब वातावरण बनेको न्यायपरिषद्का एक सदस्यले नेपालखबरलाई बताए।

खासगरी कानुनमन्त्री धनराज गुरुङ जसरी पनि विवाद लम्ब्याउने र नयाँ–नयाँ विवाद सिर्जना गर्ने प्रकारले प्रस्तुत भएकाले निर्णय हुन नसकेको ती सदस्यको भनाइ छ।

‘धेरै कुरा हिजो (बिहीबार) मिलिसकेको थियो। आज सामान्य औपचारिकताका काम गरेर टुंग्याउने भन्ने कुरा भएको थियो,’ न्यायपरिषद्  स्रोतले भन्यो, ‘रातभरिमा उहाँ (कानुनमन्त्री गुरुङ)ले कसको के कुरा सुन्नुभयो? आज त पूरै बोली फेर्नुभयो। यो पनि हुन्न, त्यो पनि हुन्न भन्नुभयो। के–चाहिँ हुन्छ भनेर केही भन्नुभएन।’

आज न्यायाधीश नियुक्तिसम्बन्धी निर्णय हुनेमा प्रधानन्यायाधीश श्रेष्ठ बिहानसम्म आशावादी थिए।

उनले सर्वोच्च अदालत बार एशोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चाँडै न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्ने बताएका पनि थिए। आजकै बैठकमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायपरिषद्‌बाट आज जसरी पनि निर्णय गर्नुपर्ने अडान लिएका थिए।

तर, नयाँनयाँ विवाद सुरु भएपछि न्यायपरिषद् निर्णयविहीन भएको ती सदस्यको भनाइ छ।

न्यायपरिषद्‌मा प्रधानन्यायाधीश अध्यक्ष हुन्छन् भने कानुनमन्त्री, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त कानुनविद् र नेपाल बार एसोसिएसनले पठाएका कानुनविद् हुन्छन्।

कानुनविद्का रूपमा रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ सदस्य छन्।

कहाँ अड्कियो हलो?
न्यायपरिषद् स्रोतले दिएको जानकारीअनुसार तल्ला अदालतबाट कसलाई सर्वोच्चमा ल्याउने भनेर बिहीबार लगभग सहमति भइसकेको थियो। 

‘क्याडर जज’को संख्या र नाममा कुरा सहमतिनजिक पुगेपछि कानुन व्यवसायीबाट ल्याउन सकिने सम्भावित नाममा छलफल प्रवेश गरेको थियो।

त्यसपछि मन्त्री गुरुङले राजनीतिक तहमा पनि सहमति जुटाउनुपर्ने भन्दै समय माग गरेका थिए। 

शुक्रबार जसरी पनि नाम टुंग्याउने समझदारी गरी बिहीबारको छलफल टुंग्याइएको थियो। तर, शुक्रबार भने गुरुङ अघिल्लो दिनका कुनै पनि सहमतिमा अडिएनन्।

‘आज क्याडर जज र कानुन व्यवसायी दुवै कुरामा विवाद भयो,’ नेपालखबरको सम्पर्कमा आएका परिषदका पदाधिकारीले भने।

अमेरिकातिर कानुनमन्त्री
आज निर्णय हुन नसकेपछि अब कात्तिक महिनाभर न्यायाधीश नियुक्तिको सम्भावना टरेको छ। 

न्यायपरिषद् निर्णयविहीन भइरहेका बेला मन्त्री गुरुङ अमेरिका जाने भएका भएका छन्। उनले अब मंसिर १ गते मात्र नेपाल आइपुग्ने जानकारी परिषद्लाई गराएका छन्। 

यसअघि पनि तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन खोज्दा पनि मन्त्री गुरुङ यसैगरी छलेर हिँडेका थिए।

त्यतिखेर पनि उनी कुनै औपचारिक कार्यक्रमबिनै अमेरिका घुम्न निस्किएका थिए। त्यस्तै कांग्रेस केन्द्रीय समितिको बैठकमा व्यस्तता देखाएर पनि न्यायपरिषद् बैठक छलेका थिए। 

मन्त्री गुरुङ अस्ट्रेलिया घुमेर केही दिनअघि मात्र काठमाडौँ ओर्लिएका हुन्। यसबारे प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .