समाज


मंसिर ७ : डीआईजीको नेतृत्वमा संयुक्त कमान्ड सेन्टर, ड्रोनबाट समेत जुलुसको निगरानी

मंसिर ७ : डीआईजीको नेतृत्वमा संयुक्त कमान्ड सेन्टर, ड्रोनबाट समेत जुलुसको निगरानी

डीआईजी लालमणि आचार्य


उजिर कार्की
मंसिर ६, २०८० बुधबार २१:३५, काठमाडौँ

दुर्गा प्रसाईं र युवा संघबीच झडपको अवस्था आउन नदिन प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ। उनीहरुको आवतजावत हुने स्थानदेखि निवाससम्म विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए। 

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र युवा संघले एकैदिन कार्यक्रम राखेपछि सुरक्षा चुनौती बढेको हो। उनीहरु यसअघिबाटै एकअर्काविरुद्ध खनिँदै आएका छन्। 

युवा संघका इन्चार्ज महेश बस्नेत र दुर्गा प्रसाईंले एकअर्कालाई अवरोध समेत गरेको आरोप लगाउँदै आएका छन्। प्रसाईंलाई कालोमोसो महेश बस्नेतको निर्देशनमा युवा संघका कार्यकर्ताले लगाएको आरोप प्रसाईंको छ। उता झापा जाँदा बस्नेतलाई प्रसाईंका कार्यकर्ताले अवरोध गरेको बस्नेतको आरोप छ। 

भोलि मंसिर ७ गते हुने कार्यक्रमलाई पनि बस्नेत र प्रसाईंले आफ्नो शक्ति प्रदर्शनका रुपमा लिएका छन्। उनीहरुबीच कसले बढी भीड उतार्ने भन्ने प्रतिस्पर्धा नै देखिएको छ। प्रसाईंले कार्यक्रमका लागि काठमाडौं ल्याएका महिलाहरुलाई युवा संघका कार्यकर्ताले मध्येराति सुतिरहेकै स्थानबाट उठाएर बाहिर लखेटेका छन्। 

यो घटनापछि युवासंघले अमानवीय हर्कत गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। सुरक्षा निकायले भने यसले चुनौती थपिएको र बदलामा अन्य स्थानमा पनि घटना हुन सक्ने आकलन गरेका छन्। 

मध्यराति महिलाहरुलाई उठाएर लखेटिएको विषयमा भक्तपुर प्रहरी परिसरले अनुसन्धान गरिरहेको जनाएको छ। बस्नेत र प्रसाईंले शक्ति प्रदर्शन भक्तपुरबाट सुरु गर्दैछन्। यसअघि माइतीघर मण्डलमा कार्यक्रम गर्ने भनेका दुवै पक्षलाई त्यहाँ नदिएर प्रशासनले युवा संघलाई तीनकुने र दुर्गा प्रसाईंको अभियानलाई बल्खुमा स्थान तोकिदिएको छ।

कार्यक्रमका लागि भक्तपुरबाट एमालेका भातृ संगठनको र्‍याली कोटेश्वर हुँदै च्यासल पुगेर कार्यक्रमस्थल तीनकुने पुग्नेछ। 

उता दुर्गा प्रसाईं नेतृत्वको अभियानका लागि अर्कै बाटो तोकिएको छ। प्रसाईंको र्‍याली पनि भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयअगाडि चौरबाट सुरु हुने छ। 

तर प्रशासनले तोकेको भन्दा छुट्टै रुटबाट र्‍याली लैजाने प्रसाईंले बताएका छन्। सोही अनुसार कोटेश्वर चोकबाट बल्खु जाने रुट सार्वजनिक गरेका छन्। 

प्रशासनले तोकेको रुट अनुसार भने प्रसाईंको र्‍याली पेप्सिकोलाबाट विमानस्थलको पूर्वबाट नयाँबस्ती हुँदै चाबहिल पुग्ने छ। त्यहाँबाट चक्रपथ–कलंकी हुँदै बल्खु लैजाने प्रहरीको तयारी छ। 

दुवै पक्षका कार्यकर्तालाई कार्यक्रमस्थलसम्म सुरक्षित रुपमा पुग्ने व्यवस्था गरिएको प्रहरीको दाबी छ। आवश्यकता अनुसार अहिलेबाटै सुरक्षाकर्मी परिचालन भइसकेका छन्। अवस्था हेरेर जनशक्ति थप र योजना परिवर्तन हुन्छ। झडपको अवस्था आउन नदिन प्रहरीले स्कोर्टिङको समेत व्यवस्था गरेको छ। 

ललितपुर र भक्तपुर परिसरले आ–आफ्नो जिल्लाको सुरक्षा हेर्नेछन्। दुवै कार्यक्रम काठमाडौंमा हुने भएकाले काठमाडौं परिसरका एसएसपी भूपेन्द्र खत्रीको कमान्डमा नेपाल प्रहरी फिल्डमा परिचालित हुनेछ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि कम्तीमा इन्सपेक्टरको कमान्डमा हरेक टोलीमा खटिनेछन्।  

डीआईजीको नेतृत्वमा संयुक्त कमान्ड सेन्टर
काठमाडौं उपत्यकाका तीन वटै जिल्लाको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी लालमणि आचार्यको नेतृत्वमा एकीकृत कमान्ड सेन्टर स्थापना गरिएको छ। कमान्ड सेन्टरमा सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु पनि रहनेछन्। 

सशस्त्र प्रहरीका एसएसपी, नेपाली सेनाका महासेनानी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक सेन्टरमा रहनेछन्। रानीपोखरीमा रहने यो सेन्टरबाट फिल्डको मनिटरिङ हुनेछ। 

यहीँबाट दुवै कार्यक्रमस्थल र अन्य क्षेत्रको पनि सुरक्षा अनुमगन हुने, सूचना संकलन हुने र आवश्यकता अनुसार जनशक्ति परिचालनको काम हुनेछ। कमान्ड सेन्टरमा सबै सुरक्षाकर्मीबाट सूचना संकलन हुनेछ। 

परिस्थिति काबुभन्दा बाहिर नगएसम्म सेना फिल्डमा हुने छैन। तर स्थिति काबुभन्दा बाहिर गएको अवस्थामा स्थानीय प्रशासन ऐन अनुसार सेना समेत खटाउने गरी तयारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। सोही अनुसार सुरुबाटै सुरक्षा योजनामा नेपाली सेनालाई पनि सामेल गराइएको छ। 

बिहीबारको सुरक्षाका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने छ। तर आवश्यक परे थप जनशक्ति रिजर्भमा रहनेछन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीले नै र्‍याली सुरु हुने स्थानबाटै दुवै आन्दोलनकारी प्रहरीको घेरामा हुनेछन्। उनीहरुमाथि आक्रमण हुन नदिन र उनीहरुले पनि क्षति गर्न नपाउने गरी सुरक्षा तयारी गरिएको प्रहरीको दाबी छ। 

जुलुसमा १५ सय बढी सशस्त्र प्रहरी परिचालन गरिने छ। नेपाल प्रहरी भने जिल्ला अनुसार छुट्टाछुट्टै खटाइएको छ। काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना परिचालन गर्ने योजना छ। 

यस्तै ट्राफिक व्यवस्थापनका लागि ९७८ जना ट्राफिक प्रहरी परिचालन गरिनेछ। यस्तै सूचना संकलनका लागि प्रहरी प्रधान कार्यालयले झण्डै ५ सय सादा पोसाकका प्रहरी खटाउने छ। 

दुर्गा प्रसाईंको कार्यक्रममा भने निगरानीका लागि ड्रोन समेत प्रयोग गरिने छ। अहिलेसम्मको तयारी र दुवै पक्षको स्थिति हेर्दा परिस्थिति सामान्य नै हुने आकलन सुरक्षा निकायको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .