नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका ६ जना आज (आइतबार) छुट्ने भएका छन्। उच्च अदालत पाटनले शुक्रबार आदेश जारी गर्दै ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
त्यसमध्ये नरेन्द्र केसी, हरिभक्त महर्जन,शम्शेर मिया र आशिष बुढाथोकीले धरौटी बुझाइसकेका छन्।
उनीहरूको धरौटी जम्मा भइसकेको र तारेखका लागि उपस्थित गराउन अदालतले पत्र लेखेको सुन्धारा कारागार स्रोतले जानकारी दियो।
त्यस्तै, रामशरण केसीको धरौटी जम्मा भइसकेको छ। उनको पत्र भने कारागार पुग्न बाँकी छ।
पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीको भने बैंक ग्यारेन्टी प्रस्तुत गर्ने तयारी छ।
उनीहरू आज छुटेपनि सम्पत्ती शुद्धिकरणको मुद्दा पुनः विभागमा बुझाइनेछ।
उच्च अदालत पाटनले शुक्रबार नक्कली शरणार्थी प्रकरणका ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। ४ जनालाई साधारण तारेखमा र ९ जनालाई थुनामा राख्न आदेश भएको छ। तर पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणका विषयमा भने आदेश बाझिएपछि निर्णय हुन सकेको छैन।
उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले १० दिन लामो सुनुवाइपछि शुक्रबार आदेश सुनाएको हो।
यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नरेन्द्र केसीलाई उच्च अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
यस्तै हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सन्दीपलाई सबैभन्दा बढी धरौटी तोकिएको हो।
यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र सहकारी सञ्चालक हरिभक्त महर्जनलाई उच्च अदालतले समान १५ लाख रुपैयाँका दरले धरौटी माग गरेको छ।
रामशरण केसीलाई पनि १५ लाख रुपैयाँ नै धरौटी माग गरिएको छ।
Shares
प्रतिक्रिया