ad ad

समाज


बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव

बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव

नेपालखबर
असोज ७, २०८१ सोमबार १६:५०, काठमाडौँ

नेपालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकहरुको अभाव रहेको पाइएको छ।

बालबालिकामा हुने क्यान्सर रोगीहरूको संख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरू भने पर्याप्त नभएको चिकित्सक सनी सिपाईंले बताए। कान्ति बाल अस्पतालमा कार्यरत उनले बालबालिकामा हुने क्यान्सर रोग उपचारका लागि चिकित्सकहरुको नै अभाव रहेको जानकारी दिए।

उनले कान्ति बाल अस्पतालमा पनि आफूसहित २ जना चिकित्सकको भरमा उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए।

चिकित्सक सिपाईंले सरकारले क्यान्सर अस्पतालहरुको स्तरोन्नति गरेर यसको जाँचका लागि बाहिरको भर पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

उनले भने, ‘अहिले चिकित्सकहरुको पर्याप्तता छैन। किनभने निश्चित रुपमा धेरैजसो जति पनि सेवा दिईरहेका छन्। यी केन्दहरुमा नै छन्। केन्द्रहरुबाट सेवा दिन पनि सबै ठाउँमा पर्याप्त छैनन्। कान्तिको हकमा म र अर्का एक जना चिकित्सक हुनुहुन्छ भने अन्य सेवाहरुमा एक जना वा दुई जना हुनुहुन्छ। जसले गर्दा ती सेवा केन्द्रहरुमा सेवा गर्न पनि केही कठिनाईहरु छन् भने नेपालमा काठमाडौं बाहिर ती सेवा पुर्‍याउनका लागि अझै पनि पर्याप्त जनशक्तिको अभाव नै छ।’

बालिबालिकाहरुमा धेरैजसो ब्लड क्यान्सर देखिएको विभिन्न अध्ययनहरुले देखाएको छ। करिव ६० प्रतिशत भन्दा बढी बालबालिकाहरुमा ब्लड क्यान्सर देखिएको चिकित्सक सिपाईंको भनाई छ। उनले त्यसैगरी उनीहरुको ब्रेन टयुमर, आँखा, नसा र मिर्गौलामा हुने क्यान्सर पनि क्रमशः देखिएको उपचारको क्रममा पाइएको पनि बताए।

चिकित्सक सिपाईले भने, ‘बालबालिकामा धेरैजसो ब्लड क्यान्सर देखिने गरेको पाइएको छ। ६०/६५ प्रतिशत जति पनि क्यान्सर छ, त्यो बालबालिकाहरुमा हुने रगतको नै क्यान्सर हो। त्यसपछि ब्रेन ट्युमर, अरु अंगहरुमा आँखामा हुने, नशामा हुने, मिर्गौलामा हुने क्यान्सरहरु क्रमशः देखिदै आएका छन्।’

नेपालमा वार्षिक करिब १५ सयसम्म बालिबालिकाहरुमा क्यान्सर देखिने प्रक्षेपण छ। त्यही प्रक्षेपणको आधारमा सो रोगका लागि उपचारको व्यवस्था मिलाउने काम गरिएको छ। कान्ति बाल अस्पतालमा मात्रै सो रोग लागेका बालबालिकाहरु वार्षिक रुपमा करिब १६० देखि २ सयसम्म आउने गरेको अस्पतालले जनाएको छ।

चिकित्सक सिर्पाइले भने, ‘नेपाल वार्षिक सरदर हजारदेखि १५ सय जति बालबालिकाहरुमा क्यान्सर रोग देखिने प्रक्षेपण छ। त्यही प्रक्षेपणको आधारमा हामीले हाम्रो कार्यक्रमहरुलाई अगाडि बढाईराखेका छौं। र कान्तिको नै हेर्ने हो भने पनि वार्षिक १६० देखि २ सयसम्म रहने गरेको छ। त्यस्तै अन्य अस्पतालहरु, जसले त्यो सेवा दिइरहेका छन्।’

चिकित्सकहरुले सो रोगको उपचारका लागि नेपालमा करिब ८ लाख रुपैयाँसम्म खर्च हुने जानकारी गराएका छन्। चिकित्सक सिपाईंका अनुसार परीक्षणको लागि खासगरी भारत पठाउनुपर्ने भएकाले उपचार खर्च बढ्न सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .