ad ad

समाज


रुस पठाउने कन्सल्टेन्सी सञ्चालक दम्पतीको बयान : युक्रेनको भिसा आए पनि  पठाएनौँ

१० जनाको ८३ लाखभन्दा बढी ठगेको अभियोग
रुस पठाउने कन्सल्टेन्सी सञ्चालक दम्पतीको बयान : युक्रेनको भिसा आए पनि  पठाएनौँ

उजिर कार्की
पुस १०, २०८० मंगलबार १९:३२, काठमाडौँ

नेपालीलाई रुसी सेनामा पठाएको आरोपमा पक्राउ परेका कन्सल्टेन्सीका सञ्चालक दम्पतीले ८३ लाख बढी ठगी गरेको भन्दै मुद्दा दायर भएको छ। आइतबार जिल्ला अदालत काठमाडौँमा कन्सल्टेन्सी सञ्चालक सुजाता दाहाल, उनका पति सुमनकुमार लिम्बू र दुईजना कर्मचारीविरुद्ध दुई वटा मुद्दा दायर भएको हो। 

एउटा मुद्दामा १८ लाख ६५ हजार १५० रुपैयाँ तीन जनाको ठगी गरेको अभियोग छ। अर्को मुद्दामा भने विभिन्न व्यक्तिको ६५ लाख रुपैयाँ ठगी गरेको अभियोग छ। 

अभियोग पत्रमा मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम प्रतिवादीहरुबाट जाहेरवालाहरुलाई क्षतिपूर्ति रकम भराइदिन माग गरिएको छ। 

यस्तै सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना गर्न माग गरिएको छ। 

प्रहरीले उनीहरुलाई २०८० मंसिर १४ गते पक्राउ गरेर सुरुमा अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेको थियो। तर पछि ठगी गरेको उजुरी परेपछि ठगीमा अनुसन्धान अगाडि बढाएको हो। 

दोलखाको बिगु गाउँपालिका ४ की सरिता थापाले आफ्ना श्रीमानलाई रुस पठाउँदा ठगेको भन्दै उजुरी दिएकी थिइन्।

कन्सल्टेन्सी सञ्चालक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ घर भई हाल शान्तिनगरमा डेरा बस्ने २५ वर्षीया सुजाता दाहाल, बाराको कलैया उपमहानगरपालिका ७ घर भई शान्तिनगर बस्ने सुजाताका श्रीमान् सुमनकुमार लिम्बू, उनीहरुको कन्सल्टेन्सीका कर्मचारी बाराको जितपुर सिमरा उपमहानगरपालिका २ का २५ वर्षीय सन्तोष नेपाल र हाल फरार रहेका दिपेश अधिकारीविरुद्ध ठगीको कसुमार मुद्दा दायर भएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। 

उनीहरुविरुद्ध मानव बेचबिखनको कसुरमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। ठगी मुद्दामा बुधबारदेखि जिल्ला अदालतमा बकपत्र गराउने र थुनछेक बहस सुरु हुनेछ। थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने वा थुनाबाहिरै राखेर फैसला गर्ने भन्ने आदेश दिनेछ। 

१० जनाको ८३ लाखभन्दा बढी ठगेको आरोप 
कन्सल्टेन्सी सञ्चालक दम्पती र उनीहरुका कर्मचारी समेतको मिलेमतोमा १० जना ठगिएको उजुरी परेको छ। १० जनाबाट ६३ लाख बढी ठगी भएको अभियोग पत्रमा उल्लेख छ। 

सरिता थापाले आफ्ना श्रीमानलाई रुसमा पठाउँदा ठगी गरेको भन्दै जाहेरी दिएकी छन्। उनका श्रीमान् ईश्वरलाई विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने काम गर्ने बताउँदै बेस्ट हब कन्सल्टेन्सीमार्फत रुस पठाएका थिए। 

७ लाख ८० हजार रुपैयाँ लाग्ने बताएको कन्सल्टेन्सीले रुसमा पुगेपछि मासिक ३ लाख रुपैयाँ कमाइ हुने भनेको थियो। 

नेपालबाट भिजिट भिसामा रुस पुगेपछि कामदार भिसाको प्रक्रिया गरी रोजगारीमा लगाउने आश्वासन दिएका थिए। यसअघि पनि धेरै जनालाई पठाइसकेको र उनीहरुले राम्रो कमाइरहेको प्रलोभन दिइएको थियो। 

सरिताका श्रीमान् ईश्वरले भिसा प्रक्रिया गरिदिनु भनी राहदानी लगायतका कागजात बुझाएका थिए। उनले सुजातालाई खल्ती वालेटबाट ६५ हजार, एक लाख ४० हजार नगद र उनले दिएको कमलेस सिंहको बैंक खातामा पटकपटक गरी ५ लाख ७५ हजार रुपैयाँ जम्मा गरिदिएको जाहेरीमा उल्लेख छ। 

उनीहरुले सात लाख ८० हजार रुपैयाँ लिएर ईश्वरलाई रुस पठाएको अभियोग छ। उनीहरुविरुद्ध अन्य चार जनाले पनि युक्रेन र बोस्नियामा पठाउँछौँ भन्दै ठगी गरेको आरोपमा उजुरी गरेका छन्। 

सागर आचार्य समेतको उजुरीमा भनिएको छ, ‘एप्पल एजुकेसन र युजिन मल्टिपर्पोज कन्सल्टेन्सीबाट सुमन लिम्बू, उनकी श्रीमती सुजाता, सन्तोष नेपाल र दिपेश अधिकारीले युक्रेन र बोस्नियामा अध्ययनका लागि राम्रो छ, खर्च कम लाग्छ। अध्ययन पश्चात राम्रो रोजगारी पाइन्छ भनी १५ लाख रुपैयाँ रकम लाग्छ भनेको र पठाउन नसके रकम फिर्ता गर्ने भनेका थिए।’

अभियोग अनुसार सागर आचार्यले १० लाख ७० हजार, सीताराम तामाङले ८ लाख ५० हजार, सुमन तामाङले ७ लाख ५० हजार र प्रज्वल केसीले ७ लाख ५० हजार रुपैयाँ बुझाएका थिए। चार जनाबाट ३४ लाख २० हजार रुपैयाँ लिए पनि विदेश नपठाएको र रकम पनि फिर्ता नगरेको आरोप छ। 

ललिता खड्कालाई युक्रेन वा बोस्नियामा अध्ययनका लागि पठाइदिन्छौँ भनी १० लाख रुपैयाँ ठगेको आरोप छ। सुजाताले ७ लाख र सन्तोषको बैंक खातामा ३ लाख रुपैयाँ तिरेको उजुरी खड्काले गरेकी थिइन्। तर उनीहरुले भिसाको प्रक्रिया हुँदैछ मात्रै भनेको, विदेश नपठाएको र रकम पनि फिर्ता नगरेको पीडितको गुनासो छ। 

दुर्गा श्रेष्ठले पनि १३ लाख रुपैयाँ ठगी गरेको उजुरी गरेका छन्। उनले पनि आफ्नो रकम लगेर विदेश नपठाएको र रकम पनि फिर्ता नगरेको बताएका छन्। 

यस्तै, सर्बिया पठाइदिने भन्दै ६ लाख ५४ हजार १५० रुपैयाँ ठगी गरेको भन्दै नविन तामाङले उजुरी दिएका थिए। अरु दुई जनाले रुस पठाउने भन्दै ठगेको आरोपमा जाहेरी दिएका थिए। 

युकेश राईले आफूलाई विद्यार्थी भिसामा रुस पठाउने भन्दै ९ लाख १२ हजार रुपैयाँ ठगेको आरोपमा जाहेरी दिएका छन्। समीरबहादुर सहकारीले पनि रुस नै पठाउने भन्दै आफूबाट २ लाख ९९ हजार रुपैयाँ लिएको तर नपठाएको भन्दै जाहेरी दिएका छन्।  

युक्रेनको पनि आएको थियो भिसा
कन्सल्टेन्सी सञ्चालक सुजाता र सुमनले विभिन्न देशमा रोजगारीका लागि पठाउने गरेको स्वीकार गरेका छन्। अनुसन्धानका क्रममा बयान दिँदै उनीहरुले रुस लगायतका देशमा नेपालीलाई पठाएको स्वीकार गर्दै युक्रेनको समेत भिसा आएको तर युद्ध भएकाले नपठाएको बयान दिएका छन्। 

ईश्वरलाई ६५ हजार रुपैयाँ लिएर रुसका लागि भिसा प्रक्रिया गरिदिएको बयान सुजाताले दिएकी छन्। हवाई टिकटका लागि ट्राभल्स कम्पनीसँग कुरा गरिदिएको र थप रकम भने नलिएको उनको बयान छ। उनले अन्य जाहेरवालाले दाबी गरेजति रकम आफूले नलिएको बयान दिएकी छन्। तर भिसाको प्रक्रियाका लागि रकम लिएर काम गरेको भने उनले बयानका क्रममा पनि स्वीकार गरेकी छन्। 

सागर आचार्यबाट ५ लाख रुपैयाँ लिएको स्वीकार गरेकी उनले अन्यको बारेमा भने श्रीमान् सुमनलाई थाहा हुन सक्ने बयान दिएकी छन्। 

एप्पल एजुकेसन र युजिन मल्टिपर्पोज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका सुमनले यो प्रक्रियामा आफ्नो संलग्नता स्वीकार गरे पनि पत्नी सुजाता र दुई कर्मचारी निर्दोष रहेको दाबी गरेका छन्। 

जाहेरवालाहरु युक्रेन र बोस्निया जान भिसा प्रक्रियाको लागि आफ्नो कार्यालयमा आएको बताएका छन्। उनीहरुको प्रक्रिया युक्रेनका लागि अगाडि बढाएको र युक्रेनबाट भिसा आइसकेको भए पनि युद्ध सुरु भएकाले युक्रेनमा नपठाएको बयान सुमनले दिएका छन्। 

जाहेरवालाहरुबाट रकम लिएको स्वीकार गरेका सुमनले वैदेशिक रोजगारीमा पठाउन नसकेपछि कतिपयको रकम फिर्ता गरेको र उनीहरुले दाबी गरेजति रकम पनि नलिएको दाबी बयानमा गरेका छन्। 

कतिपयको रकम फिर्ता गर्न चेक समेत दिएको बताएका छन्। ललितालाई युक्रेन पठाउनका लागि भिसा आइसकेको भए पनि त्यहाँ नपठाएको बयान उनले गरेका छन्। ललितालाई ७ लाख रुपैयाँको चेक मार्फत रकम फिर्ता गर्ने भनेका उनको खातामा रकम नहुँदा उनले रकम फिर्ता पाएकी छैनन्। फिर्ता गर्नु पर्ने उक्त रकम फिर्ता गर्ने बयान उनले प्रहरी समक्ष गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .