ad ad

समाज


किशोरी पक्षको बहस नोट : ‘बलात्कार भएकै हो, सन्दीपले पेस गरेका कागजात अनधिकृत’

किशोरी पक्षको बहस नोट : ‘बलात्कार भएकै हो, सन्दीपले पेस गरेका कागजात अनधिकृत’

उजिर कार्की
पुस ११, २०८० बुधबार १८:२८, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवाला किशोरीको तर्फबाट बहस सकिएको छ। यस मुद्दामा आइतबारबाट जिल्ला अदालत, काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ भइरहेको छ। 

आइतबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका न्यायाधिवक्ता सीताराम अर्याल र सहायक न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए। 

यस्तै जाहेरवाला गौशला २६ कै तर्फबाट अधिवक्ताहरु मोहना अन्सारी, शान्ति रिजाल, आश्मा आचार्य, अनिता थपलिया, वरिष्ठ अधिवक्ता शशि अधिकारी, नारायण चौलागाईं, प्रतिमा कडेल खरेल र लेखनाथ भट्टराईले बहस गरेका छन्। 

उनीहरुको बहस सकिएपछि बुधबारदेखि नै प्रतिवादी सन्दीप लामिछानेको तर्फबाट बहस सुरु भएको छ। बिहीबार पनि सन्दीपकै तर्फबाट बहस हुनेछ। यो मुद्दामा शुक्रबार फैसला हुने सम्भावना छ। 

२०७९ भदौ ५ गते राति सन्दीपले बलात्कार गरेको भन्दै किशोरीले जाहेरी दिएकी थिइन्। जिल्ला अदालतले पुर्पक्षका लागि सुरुमा सन्दीपलाई थुनामा पठाउने आदेश दिएको थियो। तर सन्दीपलाई थुनामा पठाउने जिल्लाको आदेश बदर गर्दै उच्च अदालत पाटनले धरौटीमा छाडेको थियो। 

सर्वोच्चबाट पनि धरौटीमा रिहा गर्ने आदेश नै सदर भएपछि सन्दीप थुनाबाहिरै रहेर मुद्दाको अन्तिम सुनुवाइ अगाडि बढेको हो। जाहेरीमा पीडित नाबालिग रहेको दाबीसहित सन्दीपलाई १० देखि १२ वर्षसम्म कैदको माग गरिएको छ। सन्दीपले भने बलात्कार गरेको अस्वीकार गर्दै जाहेरवाला नाबालिग नभएको दाबी गरिरहेका छन्। 

बहस हुनुपहिले नै जिल्ला अदालत काठमाडौँले कात्तिक २४ गते ३० दिनभित्र दुवै पक्षलाई बहसनोट बुझाउन आदेश दिएको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले सन्दीप लामिछानेले नाबालिगलाई बलात्कार गरेको जिकिर गर्दै बहसनोट अदालतमा बुझाएका छन्। 

‘जबर्जस्ती करणी भएकै हो, फसाउने मनसाय होइन’
सरकारी वकिलको बहस नोटमा यो मुद्दामा मुख्यतः दुई वटा विषयमा निर्क्यौल गर्नु पर्ने बताइएको छ। अभियोग मागदाबी बमोजिम प्रतिवादी लामिछानेलाई सजाय हुनु पर्ने हो कि होइन र पीडित नाबालिग हो वा होइन भन्ने निर्क्यौल अदालतले गर्नु पर्ने भएकाले यी नै विषयमा केन्द्रित रहेर बहसनोट बुझाएका छन्।

स्न्यापच्याट मार्फत चिनजान भएका लामिछानेले २०७९ भदौ १ गतेदेखि पारिवारिक पृष्ठभूमिको बारेमा समेत सोधखोज गरी विभिन्न बहानामा किशोरीसँग नजिक भएको दाबी पीडितका वकिलले गरेका छन्। भदौ ५ गते भक्तपुरको नगरकोट घुमाउन लगी त्यहाँबाट फर्की सोही राति काठमाडौंको सिनामंगलस्थित होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेका थिए। 

त्यसरात १२ः२५ मा र साढे एक बजे बलात्कार गरेको दाबी किशोरी पक्षको छ। आफूलाई उक्त कोठामा पटकपटक जबरजस्ती करणी गरेको भनी पीडितले किटानी जाहेरी दिएको, घटनास्थल प्रकृति मुचुल्का र पीडितले मौकामा कागज गर्दा पनि सोही व्यहोरा बताएकाले बलात्कार भएको तथ्य स्थापित हुने जिकिर वकिलले गरेका छन्। 

सन्दीपले पनि सीसीटीभी फुटेजमा देखिएका व्यक्ति पीडित र आफू भनी सनाखत गरेकाले घटनालाई थप पुष्टि गर्ने जिकिर सरकारी वकिलले गरेका छन्। सन्दीपले बयानका क्रममा पीडितसँग आफू नगरकोट गएको र बेलुका फर्किएर उक्त होटलमा बसेको स्वीकार गरेका थिए। तर उनले जबरजस्ती करणी गरेको भने इन्कार गर्दै आएका छन्। 

तर सरकारी वकिलले भने पीडित नै मुख्य साक्षी भएकाले यसैलाई प्रमाण मान्न पर्ने जिकिर गरेका छन्। 

अदालतमा बुझाएको बहस नोटमा भनिएको छ, ‘पीडितले मौकाको कागज गर्दा प्रतिवादीले आफूलाई फकाइफुुल्याई होटलमा लगी जोरजुलुम गरी, डर त्रासमा पारी मेरो इच्छाविपरीत दुई पटक जबरजस्ती करणी गरेको हो भनी मौकामा कागज गरेको र अदालतमा सोही व्यहोराको बकपत्र दिएको हुँदा प्रमाण ऐन, २०३१ को दफा १० (क) र (ख) बमोजिम पीडित नै वारदातको प्रत्यक्ष साक्षीका रुपमा ग्रहण गर्नु पर्ने कानुनी व्यवस्था समेत रहेको छ।’

पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पनि सन्दीपले गरेको इन्कारलाई खण्डन गर्ने दाबी गरेका छन्। प्रतिवादीले जबरजस्ती करणी गरेको हो भनी पीडितले बताए अनुसार रिपोर्टमा लेखिएको पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले अदालतमा उपस्थित भई बकपत्र गरेका थिए। उक्त बकपत्रलाई पनि प्रमाणका रुपमा ग्रहण गर्नु पर्ने जिकिर उनीहरुको छ। 

होटलका कर्मचारी तथा व्यवस्थापक, पीडितका साथी र आफन्तलगायतको बकपत्रबाट पनि सन्दीपले जबरजस्ती करणी गरेको छैन भनी गरेको दाबी खण्डित भएको बताएका छन्। 

होटलको एउटै कोठामा पीडितसँग रातभर बसेको र कोठामा एउटा मात्रै बेड रहेको तर प्रतिवादीले आफू कुर्सीमा बसेर रात बिताएको भने पनि किशोरीसँग स्न्यापच्याटमा गरिएका कुराहरु यौनदुरासय भावनाबाट प्रेरित रहेको जिकिर गरेका छन्। 

‘घटनाको ५ दिनअघि मात्रै सामान्य बोलचाल भएको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई पीडितले फसाउनु पर्ने अन्य कुनै कारणले समेत पुष्टि हुन सकेको छैन,’ सरकारी वकिलको बहसनोटमा भनिएको छ, ‘जुन दिन, जुन समय, जहाँ र जसले जबर्जस्ती करणी ग¥यो भन्ने पीडितको भनाइ छ, त्यही दिन त्यही ठाउँ र त्यही समयमा यी प्रतिवादी साथमा छन्।’

‘पीडित बालिग भएको कागजात आधिकारिक होइनन्’
यो मुद्दामा जति जबर्जस्ती करणी भएको हो वा होइन भन्नेमा बहस भइरहेको छ उति नै पेचिलो बनेको छ, जाहेरवालाको उमेर। जाहेरवाला पक्षले किशोरी नाबालिग रहेको दाबी गरिरहेका छन्। तर प्रतिवादी पक्षले जाहेरवाला नाबालिग नभई १८ वर्ष पूरा भइसकेको दाबी गरेका छन्। उनीहरुले किशोरी १८ वर्ष बढी भएको प्रमाण समेत अदालतमा पेस गरेका छन्। 

तर किशोरीका नागरिकता र एसईईका प्रमाण पत्रमा उनी नाबालिग नै रहेको देखिएको छ। प्रतिवादी पक्षले भने उमेर सच्याएर प्रमाण पत्र बनाइएको जिकिर अदालत समक्ष गरेका छन्। किशोरीको उमेरका सम्बन्धमा यकिन गर्न अदालतले सम्बन्धित स्थानीय तहबाट पटकपटक प्रमाण र अभिलेख झिकाउन आदेश समेत दिएको थियो। मागिएका सबै कागजात इजलासमक्ष पेस भइसकेका छन्। तर अहिले बहसमा भने दुवै पक्षले आफ्नो दाबी गरिरहेका छन्। 

सन्दीपले बयान गर्दा र साक्षीले समेत जाहेरवाला १८ वर्षमाथिको हो भनेका थिए। तर यो दाबी प्रतिवादीको इन्कारी बयानसँग तादम्य नमिल्ने सरकारी वकिलको दाबी छ। 

‘प्रतिवादीले पीडितलाई करणी गरेको छैन भनेर जिकिर बयान गर्ने, अर्कोतर्फ पीडितको उमेर पुगेको हो भनी बयानसाथ पेस गरेको पीडितको जन्मदर्ताको आधिकारिक स्रोत समेत पुष्टि गर्न सकेको छैन,’ बहसनोटमा उल्लेख छ। 

उक्त जन्मदर्ता प्रतिवादीका प्रशंसकले दिएकाले मुद्दामा काम लागिहाल्छ कि भनेर पेस गरेको जाहेरवालाका वकिलको दाबी छ। प्रतिवादीले जसरी पनि मुद्दा आफू अनुकूल बनाउन न्याय प्रशासनलाई समेत गुमराहमा राख्ने र पीडितको न्यायिक हकमाथि कुठाराघात गर्ने दुरासयका साथ पीडित बालिग हुन भन्ने प्रमाण सिर्जना गरेको बताएका छन्। प्रतिवादीले पेस गरेको जन्मदर्ताको आधिकारिकता पुष्टि नै नभएको जिकिर उनीहरुले गरेका छन्। 

उमेरको सम्बन्धमा किशोरीले पेस गरेको जन्मदर्ता, नागरिकता र एसईईको शैक्षिक प्रमाण पत्रमा उल्लिखित जन्ममितिलाई अन्यथा भन्न सकिने अवस्था नरहेको दाबी सरकारी वकिलको छ। उमेर विवादका सम्बन्धमा यसअघि अदालतबाट भएका फैसला समेत नजिरका लागि पेस गरेका छन्।  

जबर्जस्ती करणी जघन्य निकृष्ट र मानव सभ्यताविरुद्धको अपराध भएकाले यस प्रकारको अपराध पीडितलाई वास्तविक न्याय दिन र कसुरदारलाई दण्ड सजाय गर्न माग पीडित पक्षका वकिलले गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .