जीवनशैली


कसरी जोगिने कोरोनाको नयाँ भेरियन्टबाट?

कसरी जोगिने कोरोनाको नयाँ भेरियन्टबाट?

डा. शेरबहादुर पुन र डा. बाबुराम मरासिनी


राधिका अधिकारी
पुस ११, २०८० बुधबार १९:४१, काठमाडौँ

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न मुलुकमा देखिएको छ। कोरोनाको नयाँ भेरियन्ट जेएन.१ को संक्रमण भारत, बेलायत, न्युजिल्यान्ड लगायत मुलुकमा देखा परेको छ। कोरोनाको पछिल्लो भेरियन्ट चाँडो फैलिने चिकित्सकले बताएका छन्। 

मानिसमा छिटो फैलिए पनि कोरोनाको पछिल्लो भेरियन्टले मानव स्वास्थ्यमा गम्भीर असर गरेको पुष्टि नभएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताएका छन्। कारोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै कम घातक रोगको वर्गमा राखेको पुन बताउँछन्। अहिलेसम्मको स्थिति हेर्दा कोरोनाको नयाँ भेरियन्टबाट डराउनु पर्ने अवस्था नरहेको पुनको भनाइ छ।

भाइरस कमजोर छ भन्दैमा बेवास्ता भने गर्न नहुने पुन बताउँछन्। जेष्ठ नागरिक, बालबालिका र दीर्घरोगीलाई विशेष ख्याल राख्न डा. पुनले सल्लाह दिए। 

‘यो भाइरसको नयाँ भेरियन्टले कुन उमेर समूहका मानिसलाई बढी प्रभावित पारिरहेको छ भन्ने रिपोर्ट सार्वजनिक भैसकेको छैन। तैपनि उहाँहरुले सजगता अपनाउँदा राम्रो हुन्छ,’ उनले भने।

कोरोनाको नयाँ भेरियन्ट भारतमा देखिएकाले नेपाल पनि जोखिममा रहेको वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउछन्। 

‘नेपाल र भारतबीच खुला सिमाना भएकाले जोखिम उच्च छ। नेपाल–भारत दैनिक लाखौँ मानिसको ओहोरदोहोर हुन्छ, त्यसकारण जोखिम पनि बढी छ,’ उनले भने।

नयाँ भेरियन्ट के हो?
कोरोनाको नयाँ भेरियन्ट जेएन.१, कोभिड–१९ भाइरसको ओमिक्रोन प्रजातिको उपप्रजाति भएको जनस्वास्थ्यविद् डा. मरासिनीले बताए। जुन ओमिक्रोनको नयाँ म्युटेसन भएर बनेको बताइएको छ।

कोरोनाको नयाँ भेरियन्टको लक्षण ओमिक्रोनको जस्तै देखिने चिकित्सक बताउँछन्। टाउको दुख्ने, नाकबाट पानी बग्ने, हाँछ्यु आउने लगायतका लक्षण देखा पर्ने डा. पुन बताउँछन्। हावापानी अनुसार भाइरसको लक्षण पनि फरक–फरक देखिने बताउदै पुन भन्छन्, ‘देश र मौसम अनुसार भाइरसको लक्षण फरक–फरक देखिएको छ।’

डा. पुन थप्छन्, ‘कोरोना महामारीमा श्वासप्रश्वासका बिरामी बढेका थिए। अहिले पनि चीन, भारतमा श्वासप्रश्वास सम्बन्धी बिरामी बढेको तथ्यांक छ।’

संक्रमणबाट जोगिन चिकित्सकको सल्लाह
जेएन.१ भाइरसको संक्रमण घातक नमानिए पनि यसबाट जोगिन भने चिकित्सकले सल्लाह दिएका छन्। आम मानिसले कोरोना संक्रमणबाट बच्नका लागि अपनाएका मापदण्ड पालन गरे कोरोनाको नयाँ भेरियन्टबाट पनि जोगिन सकिने डा. पुन बताउँछन्। पछिल्लो समय मानिसहरुले कोरानाबाट बच्ने मापदण्ड बिर्सिंदै गएको पनि पुनले बताए। 

जाडो सिजन भएकाले पनि मानिसहरु एक ठाउँमा भेला भएर आगो ताप्न सक्ने बताउँदै पुन भनछन्, ‘दुरी कायम गर्नु पर्यो, त्यसो गर्नु भएन।’ 

मास्क लगाउने, दुरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुने, कोरोनाविरुद्धको खोप नलगाएकाले पूर्ण डोजको खोप लगाउने लगायतका उपाय अपनाउन डा. पुनले सुझाएका छन्।

योे रोग नेपालमा फैलिन नदिन सीमानाका कडा पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। 

देशभरिका सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क र तालिमप्राप्त स्वास्थ्यकर्मी खटाएको बुढोथोकीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .