ad ad

समाज


१४ किलो सुन ल्याउने चन्द्र घलेको बयान : मेरो काम सुन ल्याएर शौचालयको डस्टबिनमा हाल्दिने मात्रै हो

तस्कर र कर्मचारीको सेटिङमा अध्यागमन कटाइन्थ्यो सुन
१४ किलो सुन ल्याउने चन्द्र घलेको बयान : मेरो काम सुन ल्याएर शौचालयको डस्टबिनमा हाल्दिने मात्रै हो

उजिर कार्की
पुस २०, २०८० शुक्रबार १५:२८, काठमाडौँ

जिल्ला अदालत काठमाडौँमा १४ किलो सुन तस्करीका १० प्रतिवादीको मुद्दामा थुनछेक बहस चलिरहेको छ। भन्सार छली चोरीपैठारी गरी दुबईबाट ल्याएको १४ किलो सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको थियो। सुन ल्याउने चन्द्र घले, सुन ल्याउन पठाउने मीनबहादुर घले र विमानस्थलमा तस्करीको सुन पार गराउने कर्मचारीहरु पक्राउ परेका छन्। 

पक्राउ पर्ने विमानस्थलका कर्मचारीहरुमा तिलोत्तमा नगरपालिका २ का ४९ वर्षीय कृष्णकुमार श्रेष्ठ, काठमाडौँको जयबागेश्वरीका ५४ वर्षीय शेरबहादुर बस्नेत, सोही ठाउँका ६५ वर्षीय रमेश देउला, काठमाडौँ महानगरपालिका ९ का ५६ वर्षीय राधाकृष्ण श्रेष्ठ, नुवाकोटको शिवपुरी गाउँपालिका ६ का ५६ वर्षीय लेकबहादुर तामाङ, धादिङको ज्वालामुखी गाउँपालिका १ का ४५ वर्षीय अनिल श्रेष्ठ पक्राउ परेका छन्। 

यस्तै हाल फरार रहेका लमजुङ घेर्मुकी ५१ वर्षीया बिना गुरुङ र सोही ठाउँ घर भई हाल काठमाडौँको टोखा बस्ने ५५ वर्षीय डीबी भन्ने दनबहादुर गुरुङविरुद्ध पनि मुद्दा दायर गरिएको छ। 

गत मंसिर २१ गते राति करिब ११ः४० बजे फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएका चन्द्र घले १४ किलोसुनसहित विमानस्थलमै पक्राउ परेका थिए। पूर्व सुचनाका आधारमा उनलाई विमान भित्रैबाट नियन्त्रणमा लिएर आगमन कक्षको ‘मेटल डिटेक्टर गेट’ मा ल्याएर खानतलासी गरिएको थियो। 

उनीबाट भोटोजस्तो कपडामा हालेर ल्याएको ७ थान बिस्कुट आकारको १४ किलो सुन बरामद भएको थियो। सुन बरामदपछि सोधपुछ गर्दा उनले उक्त सुन गोरखाको बारपाक घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने मीनबहादुर घलेको भएको बताएका थिए। 

मीनबहादुरलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेपछि मीनबहादुरले उक्त सुन आफ्नो भएको स्वीकार गरेका थिए। 

के छ चन्द्र घलेको बयानमा? 
मुद्दाको अनुसन्धानका क्रममा घलेले हालसम्म तीन पटक दुबईबाट अवैध रुपमा सुन ल्याएको बयान दिएका छन्। पहिलो पटक २ पोका र दोस्रो पटक ४ पोका सुन ल्याएको उनले बताएका छन्। 

दुबईमा उनलाई गुरु भन्ने भारतीय मूलका व्यक्तिले सुन तयार गरेर लिन बोलाउने गरेका थिए। ती व्यक्तिले गोल्डक्वेस्ट मार्केटको गेट नम्बर २ मा फोन गरेर बोलाउँथे। सुन लिन आउने व्यक्ति फरक नपरोस् भनेर उनीहरुले चन्द्रलाई दुबईको ५ दिराम टोकन दिएर पठाउँथे। 

त्यसैका आधारमा उनलाई सुन र उनको नाममा जारी भएको सुनको बिल दिएर पठाउँथे। यसरी सुन बोकेर पहिले होटल अल वयदामा बस्ने घले यसपटक भने एमिरेट्स होटलमा बसेका थिए। 

नेपाल फर्किने दिन दुबईमा सुनको भन्सार तिरेर रसिद लिन्थे। झोलामा सुन बोकेर उनी विमानस्थल पुग्थे र बोर्डिङ पास लिन्थे। त्यसपछि अध्यागमन क्षेत्रमा रहेको सुनको घोषणा डेस्कमा गएर आफ्नो नाममा जारी भएको बिल देखाई सुरक्षा चेकजाँच गराउँथे।

त्यसपछि उनी यात्रु प्रतीक्षा क्षेत्रमा गएर शौचालयमा पस्थे र झोलाको सुन ज्याकेटभित्र सुन राखिएको भोटो लगाउँथे। रसिद भने विमान चढ्नुअघि नै च्यातेर फालिदिन्थे।

नेपालमा अवतरण भएपछि अध्यागमन कार्यालयको शौचालमा लगेर सुन रहेको भोटो रातो डस्टबिनभित्र छाडिदिन्थे। यससँगै उनको जिम्मेवारी पूरा हुन्थ्यो।

‘मेरो काम दुबईबाट सुन ल्याएर नेपालको विमानस्थलको आगमन क्षेत्रको अध्यागमन कार्यालयको शौचालयमा रहेको रातो डस्टबिनमा छोड्ने हो,’ उनले बयानमा भनेका छन्।

मीनबहादुर घलेले अह्राएअनुसार आफूले त्यहाँ सुन छाड्ने गरेको उनको भनाइ छ। त्यसबापत उनले ६० देखि ७० हजार रुपैयाँसम्म पाउँथे। भिसा, टिकट शुल्कसहित यात्राको सम्पूर्ण खर्च मीनबहादुरले नै तिरिदिन्थे।

मीनबहादुर घलेको बयान
मीनबहादुर घले नेपालमा देखिएका सुनका मालिक हुन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ का मीनबहादुर काठमाडौँको बुढानीलकण्ठ नगरपालिका ११ मण्डिखाटारमा बस्छन्। 

उनले यसअघि ४/५ वर्ष ट्रेकिङ गाइडको रुपमा काम गरे। पछि नेचुरल एक्स्प्लोरर ट्रेक्स एन्ड एक्सपिडिसन प्रालि नामको कम्पनी खोले। जनकपुर रेलवेको काठको ठेक्कापट्टा सम्बन्धी काम गरे। त्यसपछि हङकङमा ४/५ वर्ष बसे। हङकङबाट फर्किएर डान्स एन्ड रिसर्च कल्चर सेन्टर खोले। त्यसपछि प्यासिफिक ओभरसिज प्रालि सञ्चालन गरी बसेका थिए। कोभिडअगाडि यसलाई पनि बेचेर अहिले कुनै व्यवसायमा संलग्न थिएनन् र सुन तस्करी गर्थे। 

सुन ल्याउने चन्द्र घलेको नाम उनले मोबाइलमा पूर्ण काइँला भनेर सेभ गरेका थिए। दुबईमा भारतीय नागरिक अंकित अग्रवालले काम गर्थे। अंकितले सीधै मीनबहादुरलाई सम्पर्क गर्थे। मीनबहादुरले चन्द्र घलेलाई भन्थे। मीनबहादुरले भनेअनुसार नै चन्द्र घलेले सुन नेपाल ल्याउँथे। 

मीनबहादुरले अंकितसँग सुन तस्करीको सेटिङ मिलाउने गरेको कुराकानी पनि फेला परेको छ। उनीहरुले सांकेतिक रुपमा कुरा गरेको पाइएको छ। कतिपय कुराको अर्थ मीनबहादुरले खुलाए पनि कतिपय भने उनले खुलाउन चाहेका छैनन्। 

सुन लिन चन्द्र घले दुबई जाँदा भिसा अंकितले पठाइदिन्थे। मीनबहादुरले टिकट काटिदिन्थे। यसरी सुन ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याउने सेटिङ आफूले गरे पनि विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाउने जिम्मा भने डीबी भनिने दनबहादुर गुरुङको भएको बयान उनले दिएका छन्। 

मीनबहादुर र डीबीको ७/८ वर्ष पूरानो चिनजान हो। बासपार्कको दोहोरी साँझमा भेट्दा उनीहरुको चिनजान भएको थियो।

उनीहरुले दुबईबाट सुन ल्याएर अंकित अग्रवालले भनेका व्यक्तिलाई नेपालमा जिम्मा लगाउँथे। यसअघि पनि उनीहरुले १४ किलो सुन ल्याएका थिए। तर त्यो सुन उनीहरुले विमानस्थलबाट सहजै पार गराए। डीबी गुरुङको घरमा लगेर अंकितले भनेको व्यक्तिलाई जिम्मा लगाएका थिए। 

त्यसबापत उनीहरुले ९ लाख रुपैयाँ लिए। त्यसमध्ये ५ लाख रुपैयाँ डीबी गुरुङले विमानस्थलको सेटिङ मिलाउँदा खर्च गरे। बाँकी रकम उनीहरुले एकएक लाख रुपैयाँ बाँडे। दुबईबाट सुन ल्याउने व्यक्तिलाई उनीहरुले ६०/७० हजार रुपैयाँ दिन्थे। त्यसपछि बचेको रकम दुबई जाने व्यक्तिको टिकट भिसा र खाना बस्नमा खर्च हुन्थ्यो। तर डीबी भने फरार रहेकाले विमानस्थलमा कसरी सेटिङ मिलाएका थिए भन्ने अनुसन्धानमा पनि प्रष्ट खुल्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .