समाज


बरहथवामा कसले चलायो गोली? यसो भन्छन् सीडीओ र डीएसपी

बरहथवामा कसले चलायो गोली? यसो भन्छन् सीडीओ र डीएसपी

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला (बायाँ) र डीएसपी दीपेन्द्र पञ्जियार, पृष्ठभूमिमा बरहथवाकाे आन्दोलन।


जनार्दन पोखरेल
पुस २२, २०८० आइतबार ११:५, काठमाडौँ

सर्लाहीको बरहथवामा गएको शुक्रबार (२० पुस) दिउँसो स्थानीयको प्रदर्शनमा प्रहरीको गोली लागेर बरहथवा- ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भयो।

सोही घटनामा बरहथवा–८ का अभिशेष रामलाई पनि प्रहरीको गोली लाग्यो। तर, उनलाई खुट्टामा गोली लागेको कारण ज्यान जोगियो।

त्यो दिन बरहथवामा स्थानीयसँगको झडपमा प्रहरीतर्फ पनि ८ जना घाइते भए। उनीहरु स्थानीयको आक्रमणबाट घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये प्रहरी जबान भिखारी यादवको अवस्था गम्भीर छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले घाइते यादवको वीरगञ्जमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जानकारी दिए। 

शुक्रबार बरहथवामा स्थानीयको प्रदर्शन उग्र बन्दा प्रहरीको कमाण्ड इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गंगा थापाले गरिरहेका थिए। 

कांग्रेससहित पाँच दल र उद्योग वाणिज्य संघ बहरथवाको अगुवाइमा भएको प्रदर्शनको मुख्य निशाना बरहथवा नगरपालिका कार्यालय र नगरप्रमुख कल्पना कटुवालको निजी निवास बन्दै थियो। 

सडकमा टायर बाल्दै अघि बढेका प्रदर्शनकारीले मेयर कटुवालको घरमा तोडफोड गरे। घरअघि पार्किङ गरेर राखिएको गाडीमा पनि ढुंगामुढा भयो। घरअघिको टहरो र केही सवारी साधनमा आगजनी गरियाे। 

प्रदर्शनकारीलाई रोक्न प्रहरीलाई हम्मेहम्मे पर्दै थियो। इलाका प्रहरी कार्यालय बरहथवा र वरपरका अन्य प्रहरी युनिटको जनशक्तिले नपुगेपछि जिल्ला प्रहरी कार्यालय मलंगवाबाट पनि प्रहरी फोर्स बरहथवामा उतारिएको थियो। 

उग्र बन्दै गएका स्थानीयलाई रोक्न प्रहरीले कैयौँ सेल अश्रुग्यास र हवाइ फायर गरिसकेको थियो। त्यति गर्दा पनि प्रदर्शनकारीको उग्रता कम भएको थिएन। त्यही क्रममा अचानक प्रहरीको गोलीले मेयर कटुवालको घरभन्दा केही पर एक युवा ढले। उनको तत्कालै मृत्यु भयो। ती थिए बरहथवा- ६ का २७ वर्षीय जयशंकर साह। 

ललितपुरको बालकुमारीमा प्रहरीको गोलीले दुई युवाको मृत्यु भएको एक साता नबित्दै सर्लाहीमा प्रहरीको गोलीले अर्का युवाको पनि मृत्यु भएपछि यतिबेला सरकारको व्यापक आलोचना भइरहेको छ। 

जनअपेक्षाअनुसार काम गर्न नसकेको आराेप खेपेकाे सरकारले यतिबेला सामान्य विरोध प्रदर्शनमा पनि गोली चलाएर नागरिकलाई मार्न थालेको आराेप खेप्दै छ।

शान्ति सुरक्षामा गम्भीर असर पर्‍याे र गोली चलाउनु पर्ने अवस्था आयो भने पनि प्रहरीले आफूखुसी गोली चलाउन पाउँदैन। त्यसको लागि जिल्ला सुरक्षा समितिको निर्देशन चाहिन्छ। 

शान्ति सुरक्षा ऐन, २०७५ ले हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सुरक्षा समिति रहने व्यवस्था गरेको छ। अर्थात् प्रहरीले सीडीओको निदेर्शनबिना आफूखुसी गोली चलाउन पाउँदैन। 

तर, सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला भने शुक्रबार बरहथवामा आफूले गोली चलाउन प्रहरीलाई आदेश नदिएको दाबी गर्छन्। अहिले मात्र हाेइन, उनले घटना लगत्तै पनि यस्तो दाबी गरेका थिए। 

‘बरहथवामा मैले गोली चलाउन आदेश गरेको थिइँन,’ सीडीओ धमलाले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘प्रहरी अधिकारीहरु आन्दोलनकारीले प्रहरीको हतियार खोस्ने क्रममा आफैँ बन्दुक पड्किँदा अप्रिय घटना भएको बताइरहेका छन्। यथार्थ के हो अनुसन्धानपछि खुल्दै जाला।’

सर्लाहीका प्रहरी प्रवक्तासमेत रहेका डीएसपी दीपेन्द्र पञ्जियार पनि बरहथवामा गोली चलाउने निर्देशन कतैबाट नगएको बताउँछन्। ‘गोली लागेर एक जनाको मृत्यु भयो भन्ने खबर पाउने बित्तिकै हामीले त्यहाँ प्रहरीको कमाण्ड गरिरहेका डीएसपी गंगा भुजेललाई सोधेका थियौँ। उहाँले पनि गोली चलाउन आफूले नभनेको बताउनु भएकाे छ।’

सीडीओ र प्रहरीको कमाण्ड गरिरहेका अधिकारीलेसमेत निर्देशन नदिइ बरहथवामा कसरी चल्यो त गोली?

नेपालखबरको यो प्रश्नमा सर्लाहीका प्रहरी प्रवक्ता पञ्जियारले भने, ‘त्यहाँ प्रहरीले आन्दोलनकारीलाई ताकेर गोली चलाएको छैन। आन्दोलनकारीले प्रहरीको हतियार खोस्ने क्रममा बन्दुक आफैँ पड्किँदा घटना भएको हो।’

पञ्जियारका अनुसार बरहथवाका आन्दोलन उग्र बन्दै गएपछि इप्रका बहरथवाका डीएसपी गंगा भुलेलले जिल्ला प्रहरी कार्यालयसँग थप प्रहरी फोर्स मागेका थिए। त्यसपछि मलंगवाबाट दुईवटा  मोटरसाइकलमा चारजना प्रहरी बरहथवा जाँदै थिए। उनीहरु उग्र आन्दोनल भइरहेको ठाउँ (मेयरको निवास)मा नपुग्दै स्थानीयको निसानामा परेका थिए। 

‘उनीहरु (प्रहरी)लाई घेरेर स्थानीयले बन्दुक खोस्न थालेपछि फायर भएको हो,’ डीएसपी पञ्जियारले भने, ‘प्रहरीले ताकेर कसैलाई गोली हानेको छैन। यदि प्रहरीले ताकेर गोली हानेको भए आन्दोनलकारीलाई लाग्थ्यो होला, आन्दोलनमा सहभागी नभएका (जयशंकर साह) व्यक्तिलाई लाग्ने थिएन।’

प्रहरीको बन्दुक खोसाखोस गर्ने क्रममा बन्दुक आफैँ पड्किँदा निकै टाढा रहेका व्यक्तिलाई गोली लागेको उनले बताए। ‘हाम्रो अनुसन्धानले पनि उनी (जयशंकर) आन्दोलनमा सहभागी व्यक्ति हुन् भन्ने देखिँदैन। उनी आन्दोनलकारीको भिडभन्दा निकै टाढा देखिएका छन्। त्यहीँ उनलाई गाेली लागेकाे छ,’ डीएसपी पञ्जियारले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .