ad ad

समाज


इन्कारी बयान दिएका बम्जनलाई कारागार पठाउने अदालतका यी आधार

इन्कारी बयान दिएका बम्जनलाई कारागार पठाउने अदालतका यी आधार

उजिर कार्की
पुस २६, २०८० बिहिबार २१:४९, काठमाडौँ

आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई महोत्तरीको जलेश्वर कारागार चलान गरिएको छ।

रामबहादुर बम्जन भन्ने रामलाल बम्जनले एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

बम्जनलाई बिहीबार बिहान मात्रै सर्लाही पुर्‍याइएको थियो। मुद्दा दर्ता भएपछि फरार रहँदै आएका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बेलुका पक्राउ गरेको थियो।

अदालतमा बिहीबार नै बम्जनको बयान गराइएको थियो। बयानलगतै थुनछेक बहस भएको हो। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुखसमेत रहेका जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बम्जन दोषी रहेको दाबी गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए।

प्रतिवादी बम्जनका तर्फबाट अधिवक्ताहरू डा. कुसुन्डा लामा, अजय तामाङ, महनिधी सेढाईँ, अमृतकुमार लामा र दिलिपकुमार झाले बहस गर्दै उनी निर्दोष रहेको दाबी गरेका थिए। बम्जनलाई थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न दिनुपर्ने उनीहरूको माग थियो।

के छ आरोपमा?
पीडितका अनुसार घटना २०७३ साल साउन २० गते रातिको हो। उनी २०७१ सालदेखि बम्जनको आश्रममा आनी बनेर बसेकी थिइन्। तर त्यसको दुई वर्षपछि २०७३ साउन २० गते राति ९ः१० बजेको समयमा बम्जनले उनलाई ललाई फकाई प्रलोभनमा पारेर बोलाएर आफू सुत्ने कोठामा लगे।

कोठाको ढोकाको चुक्कुल लगाएर प्लास्टिकको कार्पेटमा लडाएर उनलाई रुन कराउन समेत नसक्ने गरी मुख थुनेर, डर, त्रास धम्कि दिएर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। त्यसपछि पनि पीडित एक्लै भएको मौका छोपि पटक पटक यौन सम्पर्क राखि यौन सन्तुष्टि प्राप्त गरेको तथा बाल यौन शोषण गरेको आरोप छ।

१८ वर्षकी ती किशोरीले आफूमाथि पटक पटक यौन शोषण गरेपछि आफू आश्रमबाट भागेको बताएकी छन्। आश्रमबाट भागेर उनी काठमाडौं पुगेकी थिइन्। त्यसपछि उनी काठमाडौंमै बसिन्।

पछि कागज गराउँदा सोही आश्रममा रहेकी अर्की महिलाले पनि घटना लगतै पीडितले आफूलाई सुनाएको बताएकी थिइन्। उनले अदालतमा गरेको कागज पनि बम्जनलाई जेल पठाउने प्रमुख आधार बनेको आदेशमा देखिन्छ।

पीडितले आफूलाई बम्जनले दिएको पीडा र यौन शोषण सहन नसकी आफू आश्रमबाट भागेको बताएका उनले बयानका क्रममा भनेकी थिइन्।

बम्जनको इन्कारी बयान
अदालतमा उपस्थित गराएर बयान गराउँदा बम्जनले आफूमाथि लागेका आरोपको इन्कार गरेका थिए। बम्जनले अदालतमा आफूू २०६२ सालको जेठ महिनादेखि सुरुमा बाराको रतनपुरी जंगलमा करिव १० महिना ध्यान गरेको बताएका छन्। १० महिना पिपलको रुखमुनी बसेर ध्यान गरेपछि ज्ञान प्राप्त गरेको उनले बयान दिएका छन्।

त्यसपछि बारा जिल्लाकै हलखोरी जंगलमा करिव ८ वर्ष बसेर ध्यान गरेपछि सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १२ मा रहेको पत्थरकोट आश्रममा आएर ध्यानमा बसेको उनले बताएका छन्।

त्यहाँबाट सिन्धुलीको पहिरेमा जंगलको बीचमा रहेको आश्रममा ध्यान गरेको र त्यसपछि सिन्धुपाल्चोकको आश्रममा गएर बसेको उनले बयानका क्रममा भनेका छन्।

‘मैले ध्यान गर्ने ठाउँमा अरु कोही पनि रहँदैनथे। मेरो साथमा १/२ जना नजिकका चेलाहरू रहन्थे। उनीहरूको नाम अहिले याद छैन। उक्त ध्यानस्थल तथा आश्रममा बसेको अवधि यकिन रुपमा याद भएन। म ध्यानका लागि बसेको स्थानमा आस्थाले मानिसहरू आउने र जाने भिडभाड रहन्थ्यो। तर उनीहरूसँग मेरो दोहोरो संवाद भने हुने गरेको थिएन’, बम्जनको बयान छ।

आफूले कहिल्यै गलत कार्य गर्न नसक्ने दाबी पनि उनले अदालतमा गरे।

‘एउटा धर्ममा आस्था राखि ध्यान तपस्या गर्ने व्यक्तिले कहिल्यै पनि गलत कार्य गर्न सक्दैन। मेरो ध्यान तथा तपस्याबाट शान्ति हुनेदेखि अशान्ति फैल्याउन चाहने स्वार्थ समूहले म विरुद्ध गलत आरोप लगाएका हुन्’, बम्जनले बयानमा भनेका छन्।

उनले उक्त घटनापछि उनलाई लुकाउन सहयोग गरेको भन्ने आरोपको पनि खण्डन गर्दै बयान दिएका छन्। यसै मुद्दाका प्रतिवादीहरु ज्ञानकुमार बम्जन र जितकुमार तामाङले उनलाई लुकाउन र भगाउन भूमिका खेलेको आरोप छ।  तर यो आरोप पनि झुटो भएको बयानमा बम्जनले भनेका छन्।

उनीहरुलाई आफूले चिन्दा पनि नचिन्ने बताएका छन्। ‘म प्रायः आफ्नो खुशीअनुसार नै आफूले चाहेको स्थान तथा आश्रममा ध्यानका लागि जाने गर्दथेँ’, उनले भने।

कसुरदार होइनन् भन्ने अवस्था देखिएन : आदेश
बम्जनले अदालतमा बयान गर्दा इन्कार गरेपनि उनले कसुर नगरेको भन्ने अवस्था नदेखिएको आदेशमा भनिएको छ।

‘प्रतिवादीले यस अदालतमा बयान गर्दा कसुरमा इन्कार गरेपनि प्रतिवादी उपरको किटानी जाहेरी दरखास्त, घटना विवरण कागज गर्ने व्यक्तिहरुले खुलाइदिएको व्यहोरो, पीडित जाहेरवालाले अनुसन्धान अधिकृतसमक्ष मौकामा गरेको बयान समेतका तत्काल प्राप्त प्रमाणको आधारमा यी प्रतिवादी रामबहादुर बम्जन भन्ने रामलाल बम्जन अहिले नै कसुरदार होइनन् भनिहाल्न सकिने अवस्था देखिएन’, आदेशमा भनिएको छ।

‘पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई बम्जनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न सिधा खान पाउने गरी नजिकको कारागार कार्यालयमा थुनामा राख्न पठाइदिनू’, आदेशमा उल्लेख छ।

बम्जनविरुद्धको यो मुद्दाको फैसला पनि चाँडै गर्ने अदालतको तयारी छ। अदालतले बम्जनका साक्षीलाई आगामी माघ ७ गते साक्षी बकपत्रका लागि तारेख तोकेको छ।

अदालतको आदेशसँगै उनलाई महोत्तरीको जलेश्वर कारागार लगिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .