ad ad

समाज


राजदूत झाको हत्यारा पत्ता लगाउन प्रहरी असफल, सानुकान्छाले सफाइ पाएपछि फाइल बन्द

राजदूत झाको हत्यारा पत्ता लगाउन प्रहरी असफल, सानुकान्छाले सफाइ पाएपछि फाइल बन्द

उजिर कार्की
पुस २७, २०८० शुक्रबार २०:२७, काठमाडौँ

प्रहरीको गम्भीर लापरबाहीका कारण पूर्वराजदूत केशव झाका हत्यारा पत्ता नलाग्दै फाइल बन्द भएको छ। प्रहरीले झाको घरका सुरक्षा गार्ड सानुकान्छा तामाङले नै हत्या गरेको भन्दै अनुसन्धान प्रतिवेदन पेस गरेको भए पनि तामाङले उच्च अदालत पाटनबाट पनि सफाइ पाएका हुन्। 

जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध ४५ दिनभित्रमा सर्वोच्च अदालत जान सकिने भए पनि यो अवधिभित्र निवेदन नगर्दा त्यो बाटो पनि बन्द भएको हो। 

२०७५ भदौ ४ गते बिहान सानुकान्छा र झाकी पत्नी ज्ञानुले झाको शव फेला पारेका थिए। अघिल्लो रात झाको हत्या भएको थियो। त्यसको दुई वर्षपछि २०७७ चैत २३ गते जिल्ला अदालत काठमाडौँले सानुकान्छालाई सफाइ दिएको थियो। तत्कालीन न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले सानुकान्छालाई सफाइ दिने फैसला सुनाएको थियो।

त्यसअघि पुर्पक्षका लागि थुनामा रहेका सानुकान्छा जिल्ला अदालतले सफाइ दिएसँगै रिहा भएका थिए। जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा सरकारी वकिल कार्यालयले पुनरावेदन गरे पनि उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको हो। 

उच्च अदालतको फैसला बुझेको ४५ दिनभित्रमा सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, उच्च अदालतको फैसला भएको एक वर्ष बितिसकेको छ। 

महान्यायाधिवक्ता दिनमणि पोखरेल फैसला नबुझे एक वर्षसम्म पुनरावेदन गर्न सकिने तर, एक वर्षमा पनि पुनरावेदन नगरे उच्च अदालतको फैसला नै अन्तिम मानिने बताउँछन्। उच्च अदालतले फैसला गरेको एक वर्ष पूरा भए पनि सर्वोच्च नगएसँगै यो मुद्दाको फाइल बन्द भएको हो। 

अदालतले सानुकान्छाले नै झाको हत्या गरेको भन्ने प्रमाणबाट नदेखिएको ठहर गरेको हो। किटानी जाहेरी दिने मृतक झाकी श्रीमती ज्ञानु झा र परिवारका अन्य सदस्यले घटनालगत्तै सोधपुछका क्रममा सानुकान्छामाथि कुनै शंका नरहेको बताएका थिए। तर प्रहरीले सानुकान्छाले नै हत्या गरेको भन्दै घटनाको एक वर्ष पछि पुनः उनलाई पक्राउ गरेर अदालतमा पेस गरेको थियो। 

काभ्रेको पनौती नगरपालिका १० का ५२ वर्षीय तामाङलाई सुरुमा २४ दिन हिरासतमा राखेर छाडिएको थियो। 

घटनालगत्तै पक्राउ गरेर अनुसन्धान गर्दा पनि उनले हत्या गरेको कुनै प्रमाण फेला नपरेको भन्दै छाडेको प्रहरीले २०७६ भदौ १ गते उनैले हत्या गरेको दाबी गर्दै पुनः पक्राउ गर्यो। जतिबेला उपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सहकुल थापा र काठमाडौँ परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदी थिए। उनीहरु दुवै जना एआईजीबाट अवकाश भइसकेका छन्। 

पीडित परिवारले पनि सुरुमा सानुकान्छामाथि कुनै शंका नरहेको बताएका थिए। तर एक वर्षपछि उनै सानुकान्छाविरुद्ध किटानी जाहेरी दिएका थिए। 

घटनालगत्तै पक्राउ परेका सानुकान्छाले आफ्नो संलग्नता अस्वीकार गरेका थिए। उनले अस्वीकारलाई प्रमाणबाट पनि खण्डित हुन नसकेको अदालतले भनेको छ। 

प्रमाण अभावका कारण सानुकान्छालाई सफाइ दिने अदालतले फैसला गरेको हो। केशवराज झाको हत्या भएको स्थापित भए पनि हत्या गर्ने व्यक्तिको पहिचान एक वर्षसम्म हुन नसकेको र सानुकान्छाबाहेक घरमा अन्य व्यक्ति प्रवेश नै गर्न सक्ने अवस्था नरहेको भन्ने प्रहरी प्रतिवेदनमा पनि अदालतले प्रश्न उठाएको हो। 

‘शंका र अनुमान गरी ज्यान जस्तो गम्भीर फौजदारी कसुरमा दोषी ठहर गर्नु फौजदारी न्यायको मान्य सिद्धान्त समेतबाट मिल्न देखिएन। यी प्रतिवादीलाई मृतक झाको कर्तव्य गरी मारेको कसुरमा परिस्थितिजन्य प्रमाणको आधारमा दोषी ठहर गरी सजाय गरीपाऊँ भन्ने नेपाल सरकारको अभियोग दाबी पुग्न नसकी अभियोग दाबीबाट प्रतिवादीले सफाइ पाउने ठहर्छ,’ अदालतको आदेशमा भनिएको छ। 

बहसका क्रममा सरकारी वकिलले पनि झाको मृत्यु कर्तव्यबाट भएको भन्ने कुरामा विवाद नभएको, सानुकान्छाले नै कर्तव्य गरी मारेको भन्ने शंका गरी जाहेरी परेको, अनुसन्धानका क्रममा बुझिएका व्यक्तिहरुले पनि प्रतिवादीले नै हत्या गरेको भनी शंका व्यक्त गरेको बताएका थिए। उनीहरुले पनि ठोस प्रमाण पेस गर्न सकेका थिएनन्। 

बाहिरी व्यक्ति झ्यालढोका नफोरी भित्र प्रवेश गर्ने अवस्था नरहेको, घटनास्थल मुचुल्काबाट सो अवस्था विद्यमान नदेखिएको, यिनै प्रतिवादीसँग घरभित्र प्रवेश गर्ने चाबी रहेको, मृतकसँग कुकुर पनि कोठामा रहने र बाहिरी व्यक्ति जाँदा कुकुर भुक्ने, झम्टिने अवस्था भए पनि घटनाको दिन यी अवस्था नदेखिएकोले सानुकान्छालाई नै हत्याको आरोप लगाइएको थियो। 

सानुकान्छालाई घटनालगत्तै पक्राउ गरी सार्वजनिक हित स्वास्थ्य सुरक्षा नैतिकता विरुद्धको कसुरमा हिरासतमा राखी झा हत्याको विषयमा अनुसन्धान गरिएको थियो। घटनास्थलबाट बरामद दसी प्रमाण परीक्षण गर्ने, पोलिग्राफ टेस्ट गराउने, नार्को टेस्ट गराउने लगायतका अनुसन्धान गरिएको थियो। तर सानुकान्छाको संलग्नता पुष्टि हुन नसकेपछि त्यतिबेला छाडिएको थियो। 

तर थप प्रमाण फेला नपरे पनि सानुकान्छालाई पुनः पक्राउ गरेको भन्दै उनका वकिलले अदालतमा आरोपको खण्डन गरेका थिए। पोलिग्राफ टेस्टलाई प्रमाण लिने भन्ने कानुनी व्यवस्था नरहेको, नार्को टेस्टको प्रतिवेदन प्रहरीले पेस नै नगरेको, शंका र अनुमानको आधारमा मात्रै कर्तव्य ज्यानको आरोप लगाइएको दाबी सानुकान्छाका वकिलले गरेका थिए। 

झालाई मार्नु पर्नेसम्मको कारण खुलाउन नसकेको र उनलाई मारेर सानुकान्छालाई फाइदा पनि केही नभएको भन्दै मुद्दाबाट इन्साफ मागेका थिए। 

२०७५ भदौ ४ गते बिहान सानुकान्छा र पत्नी ज्ञानुले झाको शव फेला पारेका थिए। चक्कु शरीरमा रोपिएको अवस्थामा फेला परेका थिए। तालिमप्राप्त कुकुरबाट तत्काल अनुसन्धान गरिएको थियो। सीसीटीभी फुटेज पनि संकलन गरेर हेरिएको थियो। तर प्रहरीले त्यसबाट पनि कुनै प्रमाण जुटाउन सकेको थिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .