ad ad

समाज


विमानस्थल भन्सारमा पस्यो सशस्त्र, रोकिएला त तस्करी?

प्रहरी अधिकारीको प्रश्न : म्यान्डेटमै नपर्ने काममा सशस्त्र कसरी लबिइङ गरेर आयो?
विमानस्थल भन्सारमा पस्यो सशस्त्र, रोकिएला त तस्करी?

उजिर कार्की
माघ ८, २०८० सोमबार १९:४२, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सशस्त्र प्रहरीले जाँच सुरु गरेको छ। सशस्त्र प्रहरीले गत सातादेखि अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षका चारवटा गेटबाट आउने यात्रुका ‘बडी सर्च’ र सामानको जाँच गर्न थालेको हो।    

यसका लागि सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३० जनाको टोली खटाइएको छ। एक पटकमा ५ जनाको टोली राखेर सशस्त्र प्रहरीले २४ सै घण्टा ड्युटी थालेको छ। 

सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले भने, ‘अहिले हाम्रो टोली आवागमनमा खटिएको छ। अन्तर्राष्ट्रिय विमानस्थलका चारवटा वाक–थ्रु गेटमा जाँच गरिरहेको छ। शरीर तलासी गर्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ।’

तर त्यहाँका एक्सरे मेसिन भने अहिले पनि भन्सारकै कर्मचारीले निरीक्षण गरिरहेका छन्। तस्करी रोक्न मुख्य भूमिका यहीँ हुन्छ। एक्सरे मेसिनमा शंका लागेमा कर्मचारीले रिचेक (पुनः जाँच गर्ने) लेख्छन्। आरसी (पुनःचेक) गर्ने भनेर लेखेका झोला जाँच्न भने सशस्त्र प्रहरी पनि खटिन थालेको छ। 

सशस्त्र प्रहरीले भन्सार जाँचको जिम्मा पाउँदा काम प्रभावकारी हुने प्रवक्ता खड्काको दाबी छ। 

‘अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच गर्ने स्थानमा हाम्रो टोली बसिरहेको छ। मान्छेको बडी चेक गर्न पनि निजी सुरक्षाकर्मीलाई भन्दा फौजलाई सहज हुने र प्रभावकारी पनि हुने भयो,’ प्रवक्ता खड्काले भने, ‘हाम्रो भूमिका यही हुने भन्दा पनि विमानस्थल कार्यालयले के आवश्यकता महसुस गर्छ सोही अनुसार जिम्मेवारी पूरा गर्दै जान्छौँ।’

अहिले दिएको जिम्मेवारी प्रभावकारी रुपमा पूरा गरे विमानस्थलमा सशस्त्र प्रहरीको संख्या र जिम्मेवारी थपिने अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। 

अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘जसले राम्रो काम गर्छ, उसैले जिम्मेवारी पाउने त हो नि। यसअघि भन्सारका कर्मचारी र निजी सुरक्षागार्डले राम्रो काम गरिदिएको भए यो अवस्था नै आउँदैनथ्यो।’

यसअघि विमानस्थलबाट पटक–पटक ठूलो परिमाणमा सुन तस्करी भएको थियो। २०७९ पुस १० गते दुबईबाट काठमाडौँ आएको जहाजमा विद्युतीय चुरोटमा लुकाएर ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको सुन तस्करले भित्र्याएका थिए। भेपको सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराका बाबुछोरा नै जोडिए। कृष्णबहादुरलाई कागज गराएर छाडिए पनि उनका छोरा राहुलविरुद्ध भने दोस्रो चरणमा मुद्दा नै दायर भयो र हाल उनी पुर्पक्षका लागि कारागारमा छन्। 

७३ बट्टामा ७३० वटा विद्युतीय चुरोटमा लुकाएर तस्करले सुन ल्याएका थिए। तर विमानस्थल भन्सार जाँचका क्रममा भेपभित्र सुन रहेको पत्ता लाग्यो। त्यसपछि उक्त सामान भन्सारबाट जाँच पास भएन। त्यो सुन तस्कर र भन्सारका कर्मचारी मिलेर गायब गरिदिए। 

पछि भन्सारका कर्मचारीविरुद्ध पनि मुद्दा चलाइयो। 

२०८० साउन ३ गते राजस्व अनुसन्धान विभागले भन्सार पास भएर बाहिरिसकेको अवस्थामा करिब ६१ किलो सुन बरामद गर्‍यो। जुन मुद्दामा पनि भन्सारका कर्मचारीहरुकै संलग्नता पुष्टि भयो। कर्मचारीकै सेटिङमा चिनियाँ गिरोहले सुन भित्र्याएको खुल्यो। 

यो प्रकरण यतिमै सीमित रहेन। अनुसन्धान सुरु भएपछि भन्सारका कर्मचारी आन्दोलनमै उत्रिए। एक्सरेको सबै रिपोर्ट सीआईबीले झिकाएपछि भन्सार जाँच नै ठप्प हुने अवस्था आयो। 

त्यसपछि आन्दोलन टार्न सबै रिपोर्ट हेरिएन। यही प्रकरणमा जोडिएका ५० जनाविरुद्ध मात्रै मुद्दा दायर गरियो। तर सीआईबीले अनुसन्धानपछि दिएको जानकारी अनुसार ३०२ किलो ६२० ग्राम सुन यसरी ल्याइसकिएको छ र यसमा भन्सारका कर्मचारीको प्रष्ट मिलेमतो देखिएको छ।

विमानस्थलबाट यसपछि पनि तस्करको रजगज रोकिएन। 

मंसिर २१ गते राति विमानस्थल ओर्लिनासाथ गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परे। दुबईबाट सुन लिएर आएको सूचना पहिल्यै पाएको भन्सारको टोलीले घलेलाई विमानभित्रबाट पक्राउ गर्‍यो। 

सुन पास गराउन नपाउँदै घले पक्राउ परेपछि यो प्रकरणमा धेरै प्रमाण बाहिरिए। घलेले यसअघि पनि सुन भित्र्याइसकेको र यसरी सुन विमानस्थलबाट पास गराउन विमानस्थलकै कर्मचारीको मिलेमतो रहेको खुल्यो। 

तस्करले विमानस्थलसम्म ल्याउने र विमानस्थलबाट तस्करको घरसम्म कर्मचारीले नै सुन पुर्‍याउने गरेको खुल्यो। यही गिरोहले १३८ किलो सुन भित्र्याइसकेको पनि भन्सार आफैँले बनाएको छानबिन समितिले रिपोर्ट दियो। 

सुन तस्करीका यी घटनापछि विमानस्थल भन्सारमा सशस्त्र प्रहरीलाई प्रवेश गराइएको हो।

सशस्त्र पसेपछि जनपथ असन्तुष्ट
विमानस्थल भन्सार र यात्रु आवागमनको जाँचमा आफूलाई संलग्न गराउनु पर्ने नेपाल प्रहरीको माग थियो। १४ किलो सुनसहित चन्द्र घले पक्राउ परेपछि भन्सार कार्यालयले बनाएको छानबिन समितिले पनि भन्सार कार्यालयमा जाँचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई आवद्ध गराउन राय दिएको थियो। 

समितिले दिएको सुझावको दोस्रो बुँदामा भनिएको थियो, ‘अन्तर्राष्ट्रिय आगमनको भीआईपी कक्षमा भीआईपी बिन्दुमा मेटल फ्री गराउने, स्क्यानिङ गर्ने समेतको काम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले र विमानस्थल सुरक्षा प्रहरीले २४ सै घण्टा ड्युटी रहने गरी संयुक्त सुरक्षा व्यवस्था मिलाउने।’

छानबिन समितिले विमानस्थल सुरक्षा प्रहरीलाई संलग्न गराउन भने पनि सरकारले सशस्त्र प्रहरीलाई आबद्ध गराएको छ। जसले नेपाल प्रहरी भने असन्तुष्ट देखिएको छ। 

विमानस्थल कार्यालयका पूर्वप्रमुख समेत रहेका प्रहरीका एक अधिकारीले विमानस्थलमा सशस्त्र प्रहरी राखिएकोमा असन्तुष्टि जनाए। 

‘अराइभलमा निजी क्षेत्रका सुरक्षाकर्मी मात्रै राखिएको थियो। अहिले त्यो स्थानमा सशस्त्र प्रहरीलाई खटाइएको हो। नेपाल प्रहरीलाई हटाएर सशस्त्र प्रहरीलाई राखिएको होइन,’ उनले भने, ‘तर जुन जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ, त्यो जिम्मेवारी खासमा नेपाल प्रहरीलाई दिनु पर्ने हो।’ 

विमानस्थलमा नेपाल प्रहरी घरेलु तथा अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतिर पहिलेबाटै छैन। विदेशबाट आउनेहरुको शरीर जाँच निजी क्षेत्रका सुरक्षा गार्डले गर्दै आएका थिए। अहिले उनीहरुलाई हटाएर शरीर र सामान जाँच गर्ने जिम्मा सशस्त्र प्रहरीलाई दिइएको हो। 

‘बडी चेक गर्ने काम सशस्त्र प्रहरीको म्यान्डेटमा पर्दैन। मान्छे छामछुम गरेर जाँच गर्ने भनेको नेपाल प्रहरीको काम हो। तर उहाँहरु कसरी लबिइङ गरेर आउनुभयो, त्यो मलाई थाहा छैन,’ उनले भने, ‘नेपाल प्रहरीलाई दियो भने त हामी धेरै काम गर्छौं, उनीहरुलाई तनाव हुन्छ।’

छानबिन समितिले पनि भन्सारमा नेपाल प्रहरी राख्न सुझाव दिएको तर सरकारले एक्कासि सशस्त्र प्रहरीलाई खटाउँदा जनपथमा विश्वास नरहेको सन्देश गएको गुनासो उनले गरे। 

विमानस्थल भन्सारका अधिकारीले पनि सशस्त्र खटाएपछि नेपाल प्रहरी असन्तुष्ट रहेको बताए। तर उनले सशस्त्र प्रहरी खटाउनु नाजायज भन्न नमिल्ने बताए। 

भन्सारका अधिकारी भने, ‘सशस्त्र राखेपछि जनपथ अलिक रिसाएको छ। तर भन्सारमा राख्ने सशस्त्र प्रहरी नै हो। दुवैलाई प्रयोग गर्ने हो हामीले। जसले राम्रो गर्छ, उसैलाई माग्ने हो। बाहिरी सुरक्षाकर्मीको सट्टा अर्थ मन्त्रालयले सशस्त्र प्रहरी मगाएको हो।’

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने अर्थ मन्त्रालयले नै सशस्त्र प्रहरीको टोली माग गरेकाले उपलब्ध गराइएको बताए। 

‘अर्थ मन्त्रालयले तोकेरै सशस्त्र प्रहरी माग्यो, अनि हामीले उसैलाई खटायौँ। बोर्डरमा सशस्त्र प्रहरी खटाउने हो। अन्तर्राष्ट्रिय विमानस्थल पनि बोर्डर भएकाले अर्थले माग गरे अनुसार नै पठायौँ,’ भट्टराईले भने। 

निजी क्षेत्रले भन्दा सरकारी सुरक्षाकर्मी खटाउँदा प्रभावकारी हुनेमा आफू ढुक्क रहेको सहसचिव भट्टराईले बताए। सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काले पनि आफूहरुलाई राम्रो काम गरेर विश्वास जित्नु पर्ने चुनौती रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .