ad ad

समाज


भिजिट भिसामा सेटिङको ‘रेट’ : अध्यागमनका कर्मचारीले लिन्थे पुरुषसँग १७ हजार, महिलासँग ५० हजार

भिजिट भिसामा सेटिङको ‘रेट’ : अध्यागमनका कर्मचारीले लिन्थे पुरुषसँग १७ हजार, महिलासँग ५० हजार

उजिर कार्की
माघ १५, २०८० सोमबार १२:२९, काठमाडौँ

अध्यागमन विभागका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको सेटिङ मिलाउँदा तीन करोड बढी घुस लिएको खुलासा भएको छ। काठमाडौँ प्रहरी परिसरले भिजिट भिसाका नाममा भएको सरकारी कागजात किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान टुंग्याएर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। 

उक्त प्रतिवेदन अनुसार भिजिट भिसामा विदेश जाने नेपालीलाई नक्कली कागजातका आधारमा पास गराउँदा पुरुषबाट १७ हजार र महिलाबाट ४० देखि ५० हजार रुपैयाँसम्म लिने गरेका थिए। 

विमानस्थल सुरक्षा प्रहरी कार्यालयबाट करिब १७ सय जनाका नक्कली कागजात बरामद गरेर अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो। सोही कागजातका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले अध्यागमन विभागका ९ जना अधिकृत, ट्राभल एजेन्सी सञ्चालक, होटल सञ्चालक र अन्य बिचौलियाको संलग्नता रहेको पत्ता लगाएको थियो। 

प्रहरीले पक्राउ परेका १० जना र फरार १२ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। फरार रहनेमा ८ जना अध्यागमनकै अधिकृतहरु छन्। अरु चार जना फरार छन्। 

पक्राउ पर्नेमा नवलपरासीको कावासोती घर भई हाल चितवनको भरतपुर उपमहानगरपालिका ८ खैरहनी बस्ने ४४ वर्षीया गीता शाह, काठमाडौँको तीनकुनेका ३७ वर्षीय अरुण दाहाल, सिरहा मिर्चैयाका २७ वर्षीय सरोजकुमार यादव, पश्चिम रुकुमको सानोभेरी १० घर भई हाल जाजरकोटको भेरी नगरपालिका बस्ने अध्यागमन अधिकृत ३७ वर्षीय नरवीर खड्का र रामेछापको दोरम्बा गाउँपालिका ७ का ३१ वर्षीय पदम लामा रहेका छन्। 

यस्तै काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ बस्ने ३९ वर्षीय मनोज तामाङ, स्याङ्जाको चापाकोट नगरपालिका १ पैदिमगरेका ३९ वर्षीय रामप्रसाद भण्डारी, गुल्मीको सत्यवती गाउँपालिका ७ घर भई काठमाडौंको टोखा बस्ने स्काइ टुर्स एन्ड ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, स्याङ्जाको वालिकाङका रविन अर्याल र मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्की पनि पक्राउ परेका छन्। उनीहरुमाथि अनुसन्धान सकेर प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो। 

फरार १२ जनालाई पनि प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ। 

फरार रहनेमा विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृतहरु ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो रहेका छन्। 

यस्तै सिनामंगलको होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, बाराको सिमराकी २३ वर्षीया कौशिला मगर, सोलुखुम्बु घर भई मुलपानी बस्ने ४० वर्षीया लक्ष्मी राई र सिन्धुलीको कमलामाई नगरपालिकाकी ३४ वर्षीय रीता दमाईविरुद्ध पनि मुद्दा चलाउन प्रहरीको राय छ। 

साला–भेनाले बुझाउँथे रकम
पक्राउ परेका मनोज र पदम साला–भेना हुन्। अध्यागमनका अधिकृतहरुलाई सेटिङ मिलाएबापत घुस उनीहरुले नै बुझाएको बताएका छन्। पदम लामा २ वर्ष पहिलेदेखि भिनाजु मनोज लामाले सिनामंगलमा सञ्चालन गरेको निमा छिरिङ ट्राभल्समा काम गर्छन्। 

पदमले प्रहरीसँग अनुसन्धानका क्रममा भनेका छन्, ‘भिजिट भिसामा सेटिङ मिलाउने अध्यागमनका कर्मचारीलाई भिनाजुले भने अनुसार रकम दिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अधिकृत नरवीर खड्कालाई प्रतिव्यक्ति पुरुषको १७ हजार रुपैयाँका दरले र महिलाको प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले दिएको हो।’

उनले गत मंसिर २६ गते दिउँसो विमानस्थल गेटबाहिरको होटल बाल्टिक इनको काउन्टरमा रहेकी महिला कर्मचारीलाई २ लाख रुपैयाँ दिएको बताएका छन्। 

उक्त रकम नरवीर खड्कालाई दिनू भनेर दिएको उनले प्रहरी अनुसन्धानमा खुलाएका छन्। मंसिर ४ गते नरवीर खड्का उनीहरुको ट्राभल्समा पुगेर मनोज लामासँग ३ लाख ५० हजार रुपैयाँ लिएको पनि बताएका छन्। 

निमा छिरिङ ट्राभल्सको कार्यालयमा दैनिक किताबमा पनि १६ जनाको नाम उल्लेख गरेको फेला परेको थियो। उक्त बुकमा भएको १६ जनालाई यसैगरी सेटिङमा पठाइसकेको बयानका क्रममा खुलाएका छन्। 

उनीहरुले ६६ जना पठाउँदा अध्यागमनका कर्मचारीलाई २६ लाख ४० हजार रुपैयाँ घुस दिएको बताएका छन्। नरवीरलाई उक्त रकम दिएपछि उनले नै ड्युटीमा रहेका अधिकृतहरुलाई मिलाउने गरेको पनि पदमको बयान छ। नरवीर मार्फत ३ सय जना जतिलाई पदम र मनोजले मात्रै पठाएको बयान दिएका छन्।

पटकपटक गरी नरवीर खड्कालाई विमानस्थलमा सेटिङका लागि एक करोड रुपैयाँ दिएको बयान पदमले दिएका छन्।

मनोजले हाल फरार रहेका अध्यागमनका कर्मचारी ताराबहादुर कुँवरसँग मिलेर काम गरेको र पछि कुँवरले नै नरवीरसँग सेटिङ मिलाइदिएको बताएका छन्। अन्तर्राष्ट्रिय टिकट काट्ने अनुमति लिएका मनोजले नै अध्यागमनमा सेटिङ मिलाउने गरेको बताएका छन्। 

भिजिट भिसामा जाने मान्छे एजेन्टले ल्याउने र विदेशमा रहेका कमला लामा, रामप्रसाद भण्डारी, फुटपाथका एजेन्ट रौतहटका अकबर मिया, नेपालगञ्जका सकिल मिया, रौतहटका मुन्ना अन्सारी, गोरखाका विनोद शाह, स्याङ्जाका पवन श्रेष्ठले भिजिट भिसामा जाने मान्छे ल्याउने गरेको मनोज लामाको बयान छ। एजेन्ट मार्फत आएका मान्छेबाट आफूलाई प्रतिव्यक्ति ५ हजार मात्रै फाइदा हुने र बाँकी रकम अध्यागमन सेटिङ र एजेन्टलाई दिँदा खर्च हुने गरेको उनको बयान छ। 

भिजिट भिसाको सेटिङ मिलाउँदा ताराबहादुर कुँवरलाई पटकपटक गरी १५÷२० लाख रुपैयाँ दिएको बताएका छन्। ताराबहादुर मार्फत सेटिङ मिलाएर एक सयदेखि एकसय २० जना जति पठाएको बताएका छन्। ताराबहादुरको सरुवा भएपछि उनले नै अबदेखि नरवीरमार्फत काम गर्न मिलाइदिएका थिए। नरवीर खड्कामार्फत सेटिङ मिलाएर करिब ३ सय जना पठाइसकेको बयान उनको छ। 

त्यसबापत १ करोड नरवीरलाई दिएको उनले प्रहरीसँगको सोधपुछमा भनेका छन्। नरवीरले बाँकी कर्मचारीलाई मिलाउने गरेको उनले खुलाएका छन्। 

नरवीर खड्काले पनि सुरुमा प्रहरी समक्ष सोधपुछका क्रममा आफूले रकम लिएको स्वीकार गरेका थिए। तर पछि उनले सरकारी वकिल समक्ष बयान गर्दा भने कुरा फेरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .