त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले शनिबार आफ्नो राजीनामा घोषणा गरेका छन्। उनले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।
‘सबै कुरा त विस्तारै भनौँला, अहिलेलाई व्यक्तिगत कारण दर्शाएर राजीनामा दिएको छु। अहिले म सबै कुरा खुलाउँदिन,’ उनले राजीनामापछि नेपालखबरसँग भने।
तर, उनले राजीनामा दिनुको कारण भने अन्य केही रहेको उनीनिकट प्रहरी अधिकारीहरू बताउँछन्।
खासमा माघ १२ गते अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको झगडाको प्रतिवेदन आएदेखि नै चन्द रुष्ट थिए।
गत १३ वैशाखदेखि विमानस्थल सुरक्षा प्रमुख भएर काम गरेका चन्द गृह मन्त्रालयले प्रतिवेदन तयार पारेपछि रुष्ट भएका हुन्।
अध्यागमन विभागका कर्मचारीलाई कारबाही नगरेर आफूमातहतका प्रहरीलाई मात्रै कारबाही गरेपछि उनी राजीनामा दिने निर्णयमा पुगेको एक प्रहरी अधिकारी बताउँछन्।
माघ १२ गते प्रहरीको जाँच गर्ने बिन्दुबाट यात्रु प्रतीक्षालयतिर जान खोज्ने अध्यागमन अधिकृतको खान तलासी गर्न खोज्दा विवाद बढेर कुटपिटसम्म पुगेको थियो। त्यहाँ खटिएका असई सञ्जय तामाङ निलम्बनमा परेका छन्। उक्त झडपको घटनालाई लिएर डीएसपीलाई सचेत गराउने र अरू दुई जवानलाई विभागीय कारबाही गर्ने लगायतको छानबिन समितिको सिफारिस थियो।
गृह मन्त्रालयले बनाएको समतिको प्रतिवेदनले तामाङले कमान्ड गर्न नसक्दा कुटपिटसम्मको घटना भएको निष्कर्ष निकालेको थियो।
‘आफू मातहतका प्रहरीलाई मात्रै कारबाही गरिएकोप्रति उहाँ (चन्द)को असन्तुष्टि थियो,’ विमानस्थल प्रहरीकै एक अधिकारीले भने।
उनले आफूनिकट अधिकारीलाई भनेका थिए, ‘मैले आफ्नै कर्मचारीलाई जोगाउन सकिनँ, यो त अध्यागमनको हेपाइ भयो।’
अध्यागमन अधिकृतमाथि तलासी लिने प्रहरीलाई पुरस्कार दिनुपर्ने चन्दको भनाइ थियो। यसमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पनि अडान लिन नसकेकोमा उनी झनै रुष्ट भएका हुन्। ती प्रहरी अधिकारीको भनाइमा, छानबिन समितिको प्रतिवेदनपछि उनीमाथि चौतर्फी दबाब परेको थियो।
‘उहाँ (चन्द) मातहतका प्रहरी अधिकारी पनि रुष्ट थिए। माथिल्लो निकायबाट पनि दबाब झेल्न सकेनन्,’ ती अधिकारी भन्छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई प्रहरीले जाँच गर्दा विवाद बढ्दै गएर कुटाकुटमा परिणत भएको थियो।
त्यसक्रममा मोक्तानले प्रहरीलाई लात्ती हानेका थिए। मोक्तानले लात्ती हानेपछि त्यहाँ तैनाथ प्रहरीहरू मोक्तानमाथि खनिएका थिए।
चन्द प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची हुन्। उनी प्रदेश प्रहरीको नेतृत्व सम्हाल्न चाहन्थे। त्यसमा पनि कुँवरसँग उनको कुरा मिलिरहेको थिएन। अहिले अध्यागमनको कर्चारीतन्त्रसँगको द्वन्द्वमा समेत संगठनको नेतृत्वबाट साथ नपाएको उनको बुझाइ छ।
Shares
प्रतिक्रिया