ad ad

समाज


शिविरमा २६३ महिलाले बन्ध्याकरण गराउँदा पुरुषको संख्या २८ मात्रै, यस्तो छ कारण

शिविरमा २६३ महिलाले बन्ध्याकरण गराउँदा पुरुषको संख्या २८ मात्रै, यस्तो छ कारण

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १४:१७, काठमाडौँ

कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिएको छ। चालु आवमा स्वास्थ्य कार्यालय कैलालीले जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा पुरुषभन्दा महिलाको सहभागिता बढी देखिएको हो।

कैलालीका तेह्रवटै स्थानीय तहका विभिन्न १७ ठाउँमा सञ्चालन गरिएको घुम्ती शिविरमा सन्तानको इच्छा पुगेका दुई सय ४६ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका थिए। स्वास्थ्य कार्यालय कैलालीकाआनुसार सेवा लिनेमा दुई सय २० महिला र २६ जना मात्रै पुरुष छन्। 

परिवार नियोजनको स्थायी बन्ध्याकरण मिनिल्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन् । नेपाल परिवार नियोजन सङ्घ धनगढी र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा चालु आवमा स्वास्थ्य कार्यालयले जिल्लामा दुई चरणमा स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको थियो।

गत मङ्सिर २५ गतेदेखि पुस ६ गतेसम्म १० र यही फागुन ५ गतेदेखि १४ गतेसम्म जिल्लाका विभिन्न सात ठाउँमा स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरिएको हो। 

गत आव २०७९/०८० मा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिविरमा दुई सय ९१ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका थिए। जसमा दुई सय ६३ महिला र २८ जना पुरुषले बन्ध्याकरण सेवा लिएका परिवार नियोजन सुपरभाइजर निरीक्षक चापागाइँले बताए। गत वर्ष पनि बन्ध्याकरणमा पुरुषभन्दा महिलाको सहभागिता बढी नै रहेको थियो।

पुरुषले स्थायी बन्ध्याकरण गर्न नचाहने, महिलाले नै पुरुषलाई बन्ध्याकरण गर्न नदिनेजस्ता कारणले बन्ध्याकरणमा पुरुषभन्दा महिलाको सहभागिता बढी हुने गरेको उनले बताए। 

पुरुषले भ्यासेक्टोमी गर्दा शरीरमा अप्ठ्यारो हुन्छ भन्ने भ्रम, वैदेशिक रोजगारीमा बढी पुरुष नै जाने भएकाले गाउँघरमा पुरुषको सङ्ख्या कम हुने भएकाले पनि स्थायी बन्ध्याकरणमा पुरुषको सहभागिता कम हुने गरेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले बताए।

‘पुरुषले धेरै काम गर्नुपर्छ। बन्ध्याकारण गर्दा कमजोर भइन्छ भन्ने भ्रम पनि छ । रोजगारीका लागि बढी पुरुष नै बाहिर जाने गरेका छन् । जसले गर्दा स्थायी बन्ध्याकरणमा पुरुषभन्दा महिला बढी हुने गरेका छन्,’ उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .