ad ad

समाज


पाल्पामा नुहाउन गएकी युवतीको हत्या, १९ वर्षीय युवक पक्राउ

धारामा विवाद भएपछि हँसिया प्रहार
पाल्पामा नुहाउन गएकी युवतीको हत्या, १९ वर्षीय युवक पक्राउ

हत्या आरोपित युवक


नेपालखबर
चैत १६, २०८० शुक्रबार १३:४१, काठमाडौँ

पाल्पामा एक युवतीको हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।

यही चैत १३ गते बिहान ९ बजेतिर नुहाउन गएकी रिब्दिकोट गाउँपालिका-१ ख्याहाकी १९ वर्षीया पदमा सुनारको हत्या भएको थियो। 

घरबाट अन्दाजी २ किलो मिटर टाढा रहेको लप्सिखोलामा नुहाउन गएकी पदमा दिउँसो साढे ३ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए।

दिउँसो ४ बजेतिर खुलखुले गैरास्थित लप्सिखोलाबाट कराम्दीतर्फ जाने गोरेटोमा उनले धुन लगेको लुगा फेला परेको थियो। त्यसभन्दा अन्दाजी २० मिटर तल खरबारीमा उनको शव फेला परेको थियो। पदमाको टाउको, घाँटी, र हातमा चोट लागेको थियो। 

आफन्तले उनलाई मृत अवस्थामा फेला पारेपछि साँझ साढे ५ बजेतिर प्रहरीलाई जानकारी गराएका थिए। घटना अनुसन्धानका लागि प्रहरी चौकी सर्वेदा, प्रहरी चौकी हार्थोक, प्रहरी चौकी अर्गली र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट पनि प्रहरी उपरीक्षकसहितको टोली खटिएको थियो। 

प्रारम्भिक अनुसन्धान गर्दा धारिलो हतियार प्रयोग भई हत्या गरिएको निष्कर्ष प्रहरीले निकालेको थियो।

तर त्यस दिन अँध्यारो भइसकेको हुनाले सबुत प्रमाण राम्रोसँग नदेखिएकाले घटनास्थल सुरक्षित गरेर भोलिपल्ट चैत १४ गते बिहानैबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा गार्ड, केनाइन शाखा भैरहवाबाट तालिमप्राप्त कुकुरसहित अनुसन्धान सुरु गरिएको थियो।

घटनास्थलको जाँचबुझ पछि शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। 

घटना सम्बन्धमा प्रहरीले शंकास्पद देखिएका सोही ठाउँका १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई पक्राउ गरेर सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनले नै हत्या गरेको खुलेको प्रहरीको दाबी छ।

सार्कीले १३ गते दिउँसो १२ बजे धाराबाट अन्दाजी ५० मिटर पश्चिममा रहेको गोठमा काम गरेर हातमा हँसिया लिएर धारामा पुगेका थिए। धारामा पदमाले धोइसकेका लुगा डोकोमा हाल्दै गर्दा सामान्य विवाद भएको र त्यही क्रममा गालीगलौज गरेपछि आफूले हत्या गरेको देवलालले बताएका छन्।

धाराबाट अन्दाजी २ सय मिटरअगाडि पुगेपछि हँसिया प्रहार गरेर हत्या गरेको उनले स्वीकार गरेको पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। 

उनले हत्या गर्दा लगाएका लुगा, हँसिया र मृतकको मोबाइल पनि देवलालको कोठाबाट बरामद भएको छ।

उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा म्याद लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .