ad ad

समाज


नेपालको कहाँसम्म फैलियो मनसुन?

नेपालको कहाँसम्म फैलियो मनसुन?

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ ३०, २०८१ बुधबार ९:१०, काठमाडौँ

वर्षा गराउने मौसम प्रणाली ‘मनसुन’ नेपालको पूर्वी क्षेत्रमा प्रवेश गरेको आज तीन दिन भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन यही जुन १० तारिख (जेठ २८ गते) कोसी प्रदेशमा भित्रिएको हो। यस वर्षको मनसुन औसत मितिभन्दा ३ दिन छिटो नेपाल पसेको हो। मौसमविद्का अनुसार मनसुन नेपाल प्रवेश गर्ने सरदर मिति जुन १३ तारिख हो। 

मनसुनको प्रभावले कोसी प्रदेशमा मौसम बदली (बादल लाग्ने) र वर्षा सुरु भइसक्दा देशका बाँकी प्रदेशमा भने गर्मीले सताइरहेको छ। 

मनसुनी प्रणाली प्रवेश नगरेका मधेसदेखि सुदूरपश्चिम प्रदेशसम्म स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परिरहेको मौसमविद् बताउँछन्। 

तर उक्त प्रणालीले पनि खासै वर्षा गराउन नसक्दा तापक्रम बढेर गर्मी भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरी अझै बिहीबारसम्म देशका मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मी हुने जानकारी दिएको छ। 

ती क्षेत्रमा जेठ ३१ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले यसले पार्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

कहाँसम्म फैलियो मनसुन? 
मनसुन प्रवेशको सूचना दिएयता मौसम पूर्वानुमान महाशाखाले दैनिक बुलेटिनमा देशको पूर्वी क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव रहेको भनेर लेख्ने गरेको छ। 

तर पूर्वी क्षेत्र भन्नाले मनसुन कहाँसम्म आइपुगेको हो त? 

बुधबार बिहान नेपालखबरले राखेको जिज्ञासामा महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने, ‘ठ्याक्कै जिल्ला तोक्न त सकिन्न, कोसी प्रदेशको पनि पूर्वी क्षेत्रमा मात्र मनसुनको प्रभाव छ भन्न खोजिएको हो।’

उनले थपे, ‘प्रतिशतमा भन्ने हो भने अहिलेसम्म मनसुन कोसी प्रदेशको ६० प्रतिशत भागमा फैलिसकेको छ, प्रवेश गरेको दिनभन्दा कोसी प्रदेशकै केही पश्चिमसम्म फैलिएको छ, मनसुन छिटो सरिरहेको छैन, एकदम बिस्तारै पश्चिमतर्फ फैलिँदै छ।’

मौसमविद्का अनुसार हरेक वर्ष देशको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने मनसुन क्रमशः पश्चिमतर्फ फैलिँदै जान्छ र देशभर प्रभाव पार्छ। 

मनसुन देशभर फैलिन कति सयम लाग्छ? 

महाशाखाकै अर्का मौसमविद् गोविन्द झा भन्छन्, ‘ठ्याक्कै यति दिनमा भन्न त गाह्रो हुन्छ तर विगतका वर्षको तथ्यांक हेर्ने हो भने ५ दिनदेखि ७ दिनसम्ममा मनसुन देशभर फैलिएको पाइन्छ।  तर यसभन्दा केही अघिपछि पनि हुनसक्छ। मनसुन थप क्षेत्रमा विस्तार हुनासाथ हामी बुलेटिन जारी गरेर जानकारी गराइहाल्छौँ।’ 

यो पनि यसपालि बर्खामा वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण (प्रतिवेदनसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .