विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक समस्या हुने वयस्कहरूमध्ये आधा अर्थात् ५० प्रतिशतमा यो समस्या १४ वर्षको उमेरभित्र सुरु भइसकेको हुन्छ।
मनोविद् विजया बिजुक्छे पनि आफूकहाँ आउने वयस्क तथा वृद्धहरूमा देखिएको समस्याको कारण केलाउँदा बाल्यकालमै समस्या सुरु भएको पाउँछिन्।
‘बाल्यकालमा नै समस्या सुरु भएको हुन्छ। तर पहिचान हुन नसकेको देखिन्छ। अहिले समस्या पहिचान बढी हुने गरेको छ। र पहिलेको तुलनामा मानसिक समस्या बढेको देखिन्छ,’ उनले भनिन्।
बालबालिकामा पनि मानसिक स्वास्थ्यसम्बन्धी समस्या हुन्छ र भन्ने सोचाइ अझै पनि धेरैमा पाइन्छ। तर उनीहरूमा मानसिक समस्या बढ्दै गएको छ। कान्ति बाल अस्पतालको तथ्यांकअनुसार पछिल्लो ९ वर्षमा मानसिक समस्या हुने बालबालिकाको संख्या १५ गुणाले बढेको पाइएको छ।
मनोविद् बिजुक्छे भन्छिन्, ‘मेरोमा आउने विद्यालय जाने उमेरका विद्यार्थीमध्ये ९० प्रतिशतमा मानसिक समस्या देखिन्छ। यसको मुख्य कारण उनीहरूमाथि पढाइको दबाब हो। अरुसँग तुलना गर्दै अर्कोपटक जित्नैपर्छ भनेर दबाब दिँदा उनीहरूमा धेरै तनाव पैदा हुन्छ। र समस्या सुरु हुन्छ।’
भिडिओ :
बालबालिकालाई पढाइमा अरुसँग तुलना गर्ने काम अभिभावक र शिक्षकबाट नै हुने गर्छ। थुप्रै अभिभावक र कतिपय शिक्षकलाई यसरी बालबालिकालाई अरुसँग दाँज्दा उनीहरूको पढाइ राम्रो हुन्छ, पढाइमा प्रगति गर्छन् भन्ने विश्वास हुन्छ। तर उनीहरूको व्यक्तिगत अवस्थामा सुधार गर्ने योजना बनाउनुको सट्टा अरुसँग दाँज्दा नकारात्मक असर पुग्छ।
‘मैले पढ्दा बिग्रिन्छ कि, अरु हाँस्छन् कि? भनेर उनीहरूमा डर पैदा हुन्छ। उनीहरू आत्मविश्वास गुमाउन थाल्छन्। आफूलाई काम नलाग्ने ठान्छन्। र मानसिक समस्या सुरु हुन सक्छ,’ बिजुक्छे भन्छिन्, ‘एक विद्यार्थीलाई उनकै विद्यालयमा पढ्ने दाइसँग सानैदेखि शिक्षकले तुलना गर्दा परेको गम्भीर असर अहिले युवावस्थामा देखिएको छ। उनी २६ वर्षका भए। उनले विद्यालय शिक्षा त पूरा गरे। तर, मानसिक स्वास्थ्य सम्बन्धी समस्याका कारण त्यसपछिको पढाइ भने बिग्रिएको छ।’
हार्मोनका कारण किशोरावस्थामा हुने शारीरिक परिवर्तनका बारेमा सही ढंगबाट बुझाउन सकिएन भने पनि मानसिक समस्या हुन सक्छ।
मनोविद् बिजुक्छे उदाहरण दिँदै बुझाउँछिन्, ‘जस्तो किशोरीमा कसैको स्तन विकास अलि ढिलो हुन्छ। यसले गर्दा उनीहरू भित्रभित्रै बढी चिन्तित हुन्छन्। त्यस्तै किशोरको आवाजमा परिवर्तन भई स्वर धोद्रो हुन्छ। भएन भने साथीहरूले विभिन्न नाम दिएर जिस्क्याइरहेका हुन सक्छन्। र उनीहरूमा तनाव पैदा भइरहेको हुन सक्छ।’
बिजुक्छेका अनुसार बालबालिका तथा किशोरकिशोरीमा मानसिक समस्या हुने अर्को मुख्य कारण आफन्त, शिक्षक, साथी वा अन्यबाट हुने बुली (हेपाहा व्यवहार, खिसीटिउरी) हो। छालाको रंग, शरीरको बनावटलाई लिएर गरिने खिसिट्युरीका कारण उनीहरूमा समस्या सुरु भइरहेको हुन सक्छ। तर शब्दले लागेको चोट उनीहरू देखाउन सक्दैनन्।
हेपाहा व्यवहार, खिसीटिउरीले कसरी क्षति पुर्याइरहेको हुन्छ?
मनोविद बिजुक्छे एक उदाहरण दिँदै भन्छिन्, ‘मोटोघाटो शरीर भएकी एक छात्रालाई साथीहरूले मोटी भन्दै जिस्क्याउँथे। केही चिज उचाल्नुपर्यो भने उनलाई अह्राउँथे। उनलाई आफू हेपिएको महसुस हुन्थ्यो। साथी बनाउन मन लाग्दैनथ्यो। शिक्षकले खेलकुदमा तिमी सक्दैनौ भनेर उनलाई सहभागी हुने अवसर दिँदैनथे। घरमा पनि उनलाई यो खाऊ, त्यो नखाऊ भनिन्थ्यो। दुब्लाउनका लागि जुम्बा जान भनिन्थ्यो। घर र विद्यालयमा यस्तो व्यवहार खप्दै जाँदा उनमा मानसिक समस्या सुरु भयो। सानैदेखि नकारात्मक व्यवहार खप्दै जाँदा न उनले पढ्न सकिन्, न साथी बनाउन सकिन्। न त परिवारलाई रुचाइन्। न त आफूलाई नै। उनलाई सिभियर डिप्रेसन भयो। लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्यो। सिभियर डिप्रेसन भएको व्यक्तिलाई बाँच्न मन लाग्दैन। आत्महत्या गर्न मन लाग्छ।’
बालबालिकाहरू आफूमा मानसिक समस्या सुरु भएको थाहा पाउन सक्दैनन्। र राम्ररी व्यक्त गर्न पनि सक्दैनन्। कतिपय किशोरकिशोरी आफ्ना समस्या अभिभावक र केही शिक्षकलाई भन्ने गर्छन्। तर उनीहरूको समस्यालाई समयमै प्राथमिकता नदिएको पनि पाइन्छ। जानेबुझेको कसैसँग बुझेर उनीहरूलाई आवश्यक सहयोग गर्नुभन्दा आफैँ सम्झाउन थाल्छन्। यसले गर्दा उनीहरूमा समस्या जटिल भइसकेको हुन सक्छ। आफूले आफैँलाई चोट पुर्याउने अवस्थामा उनीहरू पुगिसकेका हुन सक्छन्।
बालबालिका तथा किशोरकिशोरीमा किन मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दै गइरहेको छ? कसरी पहिचान र रोकथाम गर्न सकिन्छ? प्रस्तुत छ, यससम्बन्धमा मनोविद् विजया बिजुक्छेसँग नेपालखबरले गरेको भिडिओ कुराकानी।
Shares
प्रतिक्रिया