हाल (शुक्रबार साँझ) देशभर साधारणतयादेखि पूर्णतया बदली (आकाश बादलले ढाकेको) छ।
साथै मधेस र कर्णाली प्रदेशका एक/दुई स्थानमा, कोसी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। अनि सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आगामी २४ घण्टा (शुक्रबार साँझ ६ बजेदेखि शनिबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानको उत्तरमा छ।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ।
यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्।
यस्तै धेरै, थोरै तथा एक/दुई स्थान भन्नाले सम्बन्धित प्रदेशभरि जुनसुकै ठाउँमा वर्षा हुनसक्छ भन्ने बुझ्नुपर्छ। यही-यही ठाउँमा यस्तो वर्षा हुन्छ भनेर स्थान किटान गर्न नसकिने मौसमविद्को भनाइ छ।
Shares
प्रतिक्रिया