ad ad

समाज


विपद्‍बाट १२५ जनाको मृत्यु, ३७ सय परिवार विस्थापित

विपद्‍बाट १२५ जनाको मृत्यु, ३७ सय परिवार विस्थापित

नेपालखबर
साउन ३, २०८१ बिहिबार १९:९, काठमाडौँ

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्‍मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ।

विपद्‍मा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ  गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार विपद्‍मै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौँ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा एक सय ४३ जना घाइते भएका छन् ।

यसैगरी कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ। बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताए।

उनले भने, ‘बाढीपहिरोलगायत विपद्मा परी बेपत्ता भएकाको खोजी भइरहेको छ।’

सिमलताल दुर्घटनामा बेपत्ता भएकाको तथ्याङ्क यहाँ समावेश नगरिएको प्रहरीले जनाएको छ। बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन्।

दुई सय २२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई  सरकारी कार्यालयमा क्षति पुगेको छ। विपदमा पाँच सय ८५ वटा पशुचौपाय मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय २१ परिवार विस्थापित भएका छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .