ad ad

समाज


शनिबार र बुधबार दोलखा भीमेश्वरको शिलामा ‘पसिना’, गरियो क्षमापूजा

शनिबार र बुधबार दोलखा भीमेश्वरको शिलामा ‘पसिना’, गरियो क्षमापूजा

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १७:१८, काठमाडौँ

दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिला (चट्टान) मा गत साउन ५ र ९ गते ‘पसिना’ आएपछि शुक्रबार (आज) क्षमापूजा गरिएको छ। 

राष्ट्र प्रमुखका तर्फबाट शुक्रबार देश र जनतालाई कुनै क्षति नहोस् भन्ने कामनाका साथ शुक्रबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म क्षमापूजा गरिएको हो। 

होम यज्ञ, ग्रह शान्ति, लघुरुद्री पूजा, बली तथा हवन, मंगल शान्तिलगायतका पूजा गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार, राष्ट्रपति कार्यालयबाट पठाइएको सामग्रीबाट शुक्रबार क्षमापूजा गरिएको हो। जसका लागि राष्ट्रपति कार्यालयबाट दुई जना प्रतिनिधि भीमेश्वर मन्दिरमा पुगेका थिए। 

राष्ट्रपति कार्यालयबाट पठाइएको पूजा सामग्री गृह मन्त्रालय हुँदै प्रशासन कार्यालयमा पठाइएको थियो। 

प्रजिअ पोखरेलको नेतृत्वमा भएको पूजामा पूजारीहरू सहभागी थिए। उनका अनुसार, पूजाको प्रसाद राष्ट्रपति कार्यालय पठाइनेछ। 

भीमेश्वर मन्दिरमा असार ५ गते शनिबार दिउँसो १ः४७ देखि ३ः१५ सम्म र बुधबार दिउँसो १२ः४५ देखि ३ः१३ सम्म ‘पसिना’ आएको थियो। 

यहाँका स्थानीयका अनुसार, भीमेश्वरको शिलाबाट ‘पसिना’ आएपछि ठूलै परिवर्तनको संकेतका रुपमा लिने जनविश्वास छ। कतिपयले त भीमेश्वर मन्दिरबाट ‘पसिना’ आए अनिष्ट हुने पनि बताउँछन्। 

यसरी ‘पसिना’ आएपछि यसअघि पनि पूजा गर्ने परम्परा भए अनुसार शुक्रबार क्षमापूजा गरिएको हो। 

भीमेश्वरको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि ‘पसिना’ आएको बताइन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .