ad ad

समाज


कांग्रेस केन्द्रीय समिति साउन २३ बाट, चुनावमा गठबन्धन नगर्ने गगन थापाको प्रस्ताव पास गर्ने तयारी

कांग्रेस केन्द्रीय समिति साउन २३ बाट, चुनावमा गठबन्धन नगर्ने गगन थापाको प्रस्ताव पास गर्ने तयारी

नेपालखबर
साउन २१, २०८१ सोमबार १८:५१, काठमाडौँ

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिबाट गत फागुनमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत तीनवटा दस्तावेज पारित गर्ने तयारी गरेको छ।

यसका लागि साउन २३ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। 

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाका विषयमा सोमबार कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले आगामी साउन २३ गतेबाट हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाकाबारे छलफल गरेको हो।

बैठकमा केन्द्रीय कार्यसमितिबाट महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको राजनीतिक, सांगठनिक र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने सन्दर्भमा छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको सम्बन्धमा पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने तय भएको छ।

सहमहामन्त्री परियारले भने, महासमिति बैठकमा उपसभापतिज्यूले राजनीतिक प्रस्ताव पेस गर्नुभएको छ। महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ। ३ वटै प्रस्तावमा महासमितिमा व्यापक छलफल भयो। बैठकले आएका सुझाव समेटेर संशोधनसहित केन्द्रीय कार्यसमितिबाट पारित हुने गरी जुन निर्णय भएको थियो, सोही विषयमा अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले पारित गर्ने भन्ने कुरा भएको छ।’

सरकारमा रहेर कांग्रेसले पार्टी संगठनलाई तल्लो तहसम्म लिएर जाने र सरकारमा बसेर कांग्रेसले कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयमा पनि छलफललाई केन्द्रीकृत गर्ने कुरा भएको परियारले बताए।

कांग्रेसको महासमिति बैठक गत फागुन ७ देखि १० सम्म ललितपुरको गोदावरीमा बसेको थियो। त्यहाँ प्रस्तुत भएका प्रतिवेदनहरू सर्वसम्मतिले पारित भएको भनिए पनि अन्तिम रूप भने केन्द्रीय कार्यसमितिले दिने निर्णय भएको थियो।

महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्ने प्रस्ताव पेस गरेका थिए भने अर्का महामन्त्री शर्माले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटक मात्र हुन पाउने व्यवस्था प्रस्ताव गरेका थिए। उपसभापति खड्काले माओवादीको सशस्त्र संघर्षबारे गरेको टिप्पणी विवादित भएको थियो।

कांग्रेसको महासमिति बैठकलगत्तै कांग्रेस र माओवादीबीचको सत्ता साझेदारी टुटेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .