ad ad

समाज


गट्ठाघर दुर्घटनामा पर्ने युवती सुष्मा नभएको पुष्टि, दाजुले नै दिए प्रहरीलाई गलत सूचना*

गट्ठाघर दुर्घटनामा पर्ने युवती सुष्मा नभएको पुष्टि, दाजुले नै दिए प्रहरीलाई गलत सूचना*

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १८:१९, काठमाडौँ

भक्तपुरको गट्ठाघर दुर्घटनामा परेकी भनिएकी युवती अर्कै रहेको पुष्टि भएको छ।

यसअघि दोलखाको मेलुङ गाउँपालिका ४ का एक युवकले प्रहरी कार्यालयमा पुगेर आफ्नी बहिनी सुष्मा नेपाली भएको जानकारी दिएका थिए। दाजु नै प्रहरी कार्यालयमा पुगेर भनेपछि प्रशासनले यही नाम बाहिर ल्याएको थियो। तर उनले गलत जानकारी दिएको र यसअघि पनि उनले पटकपटक आफ्नी बहिनीको मृत्यु भएको भनेर जानकारी दिएको खुलेको छ।

आफ्नो मृत्यु भएको समाचार थाहा पाएपछि ती युवती भने सम्पर्कमा आएको मेलुङ ४ का वडाध्यक्ष सोमबहादुर बम्जनले बताए।

उनले नेपालखबरसँग भने, 'मृत्यु भएकी भनिएकी बहिनी बिबाह गरेर चितवनमा छिन्। उनी जीवितै रहेको भन्दै परिवार सम्पर्कमा आइसके। उसको दाइले प्रहरी कार्यालयमा गलत सूचना दिएका रहेछन्।

आफूहरूलाई गलत सूचना दिएको र मृतकको शवबाट सनाखत हुन सक्ने अवस्था नरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले नेपालखबरलाई बताइन्। उनका अनुसार प्रहरीले मृतकको पहिचान गर्ने प्रयास गरिरहेको छ।

दुर्घटनामा परेको स्कुटरको ब्ल्युबुक ओखलढुंगाका उत्तम सिलवालको नाममा रहेको पाइएको छ। यस्तै दुर्घटनास्थलमा रमेश न्यौपानेको नाममा ट्राफिकले काटेको चिट पनि फेला परेको छ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले पनि यसअघि पहिचान भएको भनिएको व्यक्ति नभएको सूचना प्राप्त भएसँगै मृतकको सनाखत गर्ने प्रयास भइरहेको बताए। उनले नेपालखबरसँग भने, 'परिवारकै सदस्यले सनाखत गरिसकेपछि होला भन्ने हामीलाई लाग्यो। पुष्टि गर्ने अरू प्रमाण पनि थिएन। अब हामी अन्य कागजातका आधारमा सनाखत गर्ने प्रयास गर्छौं।'

*यसअघि गलत विवरण परेकामा क्षमायाचनासहित यो खबर सच्याइएको छ -सम्पादक।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .