ad ad

समाज


स्टाफ कलेज खोल्न त्रिवि र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर

स्टाफ कलेज खोल्न त्रिवि र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १७:४६, काठमाडौँ

नेपाल प्रहरीले आगामी चैतदेखि मास्टर इन पुलिस साइन्स (स्टाफ कलेज) सुरु गर्ने भएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच स्टाफ कलेज सञ्चालनका लागि समझदारीपत्रमा शुक्रबार हस्ताक्षर गरिएको हो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा डिल्लीराज शर्माले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको नेतृत्व तहमा पुग्ने क्षमता भएका प्रहरी अधिकृतहरूको क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै हाल नेपाल प्रहरीमा विद्यमान बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन यो कोर्स सहयोगी हुने  बताए।

रिसर्च, अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास भई नेपाल प्रहरीको आधुनिकीकरण तथा सांगठनिक सुदृढिकरणका क्षेत्रमा अपेक्षित लक्ष्य प्राप्त हुनेमा विश्वस्त रहेको उनले बताए।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको नेतृत्व तहमा पुग्ने क्षमता भएका प्रहरी अधिकृतहरूको क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै हाल नेपाल प्रहरीमा विद्यमान् बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन सहयोगी हुने बताए।

यस समझदारीले नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै निकायले शान्ति, सुरक्षा एवम् सुशासनको क्षेत्रमा निर्वाहित उत्तरदायित्वको दायरा अझ फराकिलो बनाएको विश्वास उनले व्यक्त गरे।

सो अवसरमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्माले समझदारीले प्रहरी अधिकृतहरूको क्षमता विकासमा उल्लेखनीय योगदान पुग्ने बताए।

समझदारीपत्रमा हस्ताक्षर भएपछि प्रहरी एकेडेमीले अब प्रवेश परीक्षाको तयारी थालेको छ।

आगामी चैतदेखि पढाइ सुरु हुने गरी तयारी अघि बढाइएको एकेडेमीका कार्यकारी निर्देशक एआइजी सुदीप गिरीले बताए। त्यसको तीन महिनाअघि प्रवेश परीक्षा सञ्चालन हुनेछ। जसअनुसार मंसिर वा पुसमा प्रवेश परीक्षा गर्ने एकेडेमीको तयारी छ।

२०७० सालमा भर्ना भएको प्रहरीको १५८औँ टोलीदेखि यो कोर्स अनिवार्य गर्न लागिएको छ। १६ महिना लामो हुने यो कोर्स एकपटकमा ३५ जनाले अध्ययन गर्नेछन्। त्यसका लागि प्रहरी प्रधान कार्यालयले १०५ जनालाई सिफारिस गर्नेछ।

प्रहरी एकेडेमीले डिआइजी मनोज केसीलाई एमपिएस कोर्सको प्रमुखका रूपमा जिम्मेवारी दिएर तयारी अघि बढाएको छ।

समझदारीपत्रमा अक्षयकोष, एमपिएस कार्यक्रम संचालन, शैक्षिक क्यालेण्डर, विभिन्न शुल्कहरू, विद्यार्थीहरूको विवरण, कोर्षको प्रभाव अध्ययन, शाखा स्थापना एवम् विविध कार्य, निरीक्षण र निर्देशन, परीक्षा व्यवस्थापन, परीक्षा केन्द्र, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सुविधा प्रयोग लगायतका प्रावधानहरू उल्लेख गरिएको छ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, त्रिभुवन विश्वविद्यालयका सहायक डीनहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:info@nepalkhabar.com
    News:news@nepalkhabar.com

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    advertising@nepalkhabar.com
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .