ad ad

समाज


पत्रकार महासंघको निर्वाचन फेरि अन्योलमा, ५३ जिल्ला शाखाका अध्यक्षले जनाए यस्तो असन्तुष्टि

पत्रकार महासंघको निर्वाचन फेरि अन्योलमा, ५३ जिल्ला शाखाका अध्यक्षले जनाए यस्तो असन्तुष्टि

नेपालखबर
असोज २, २०८१ बुधबार १३:४, काठमाडौँ

नेपाल पत्रकार महासंघले यही असोज १२ गतेका लागि निर्धारण गरेको निर्वाचन फेरि पनि हुने/नहुने अन्योल सिर्जना भएको छ। 

महासंघका ५३ वटा जिल्ला शाखाका अध्यक्षले निर्वाचनका लागि महासंघले सार्वजनिक गरेको सदस्यता नामावलीप्रति असहमति जनाएपछि निर्वाचन हुने/नहुने अनिश्चित बनेको हो। 

गएको शुक्रबार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले प्रेस विज्ञप्ति प्रकाशित गरी असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको जनाएका थिए। 

यसअघि महासंघले असोज ५ गते तीनै तहको निर्वाचन गर्ने घोषणा गरेको थियो। तर, अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि महासंघले मिति पर सारेको हो।

अध्यक्ष विपुल पोखरेललाई सदस्यता विवादकै बहानामा राजीनामा दिन बाध्यपार्ने र तत्कालै राजीनामा स्वीकृत गर्ने अनि उनकै हस्ताक्षरसहितको नामावली प्रकाशन गर्नुलाई विधि, विधान र प्रक्रिया विपरित भएको दाबी ५३ जिल्लाका अध्यक्षको छ। 

महासंघको विधानअनुसार सदस्यता वितरण र नवीकरण शाखाको सिफारिसअनुसार प्रदेशले अनुमोदन गरी केन्द्रले अभिलेखिकरण गर्नुपर्नेमा त्यस विपरित निर्वाचनको लागि गठन भएको समितिले नामावली प्रकाशन, नामावलीउपर दावी उजुरीसमेत लिइसकेको अवस्थामा महासचिव रोशन पुरी तथा राजीनामा दिइसकेका अध्यक्ष पोखरेलको हस्ताक्षरमा अर्को नामावली प्रकाशित हुनु निर्वाचन निर्देशिका र कार्यविधि विपरित भएको ठहर पनि उनीहरुले गरेका छन्। 

सदस्यता सम्बन्धि जिल्ला शाखाहरुको निर्णयलाई पूरै वाइपास गरेर केन्द्रबाट विधान र शुद्धिकरण मापदण्ड विपरित पटकपटक थपिएका नाम नहटाएसम्म निर्वाचन कार्यक्रम जिल्लामा अघि बढाउन नसकिने उनीहरुको तर्क छ।

यही परिस्थितिमा निर्वाचन कार्यक्रम अघि बढाउन खोजे उत्पन्न हुने परिस्थितिको जिम्मेवार महासंघ केन्द्र र निर्वाचन समिति नै हुने चेतावनीसमेत उनीहरुले दिएका छन्। यो अवस्थामा निर्वाचन कार्यक्रम अघि बढाउन खोजे कानुनी उपचार खोज्ने चेनावनीसमेत उनीहरुले दिएका छन्। 

उनीहरुले देशैभरीका जिल्ला अध्यक्षहरुको भेला बोलाएर समस्याको समाधान गर्न नेतृत्वलाई आग्रहसमेत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .