‘फिस सुट गेम’मा ठूलो रकमको हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँबाट प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली, चिनियाँ र भारतीय नागरिक छन्।
उनीहरुको साथबाट १२ लाख १ हजार रूपैयाँ, चाइनिज युआन ३ हजार १ सय, अमेरिकन डलर २ हजार र विभिन्न कम्पनीका मोबाइल ७ थान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठाडमौँले जनाएको छ।
पक्राउ पर्नेमा चीनको तिब्बतस्थित आम्दो घर भई हाल काठमाडौँ महानगरपालिका ६ बौद्ध फुलबारी बस्ने २४ वर्षीय सोनाम तामाङ भन्ने सोनाम, भारतको बिहार प्रदेश बेङलोरू घर भई हाल काठमाडौँको बौद्ध टुसाल बस्ने जाम्पा खेदुप, चीनको तिब्बतस्थित ल्हासा घर भई हाल काठमाडौँ महानगरपालिका-६ तिनचुली बस्ने ३० वर्षीय नोर्बु साम्देन छन्।
त्यसैगरी चीनको तिब्बतस्थित सिगाचे घर भई हाल काठमाडौँ बौद्ध टुसाल बस्ने २७ वर्षीय दासाङ, चीनको सिचुहुन घर भई हाल काठमाडौँ महानगरपालिका-२७ बस्ने ४५ वर्षीय विइ चुइलिन, काठमाडौँ महानगरपालिका-६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शर्पा र सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका- ४ घर भई हाल काठमाडौँ महानगरपालिका-६ तिनचुली बस्ने ३५ वर्षीय लोप्साङ लामा पनि पक्राउ परेका छन्।
बौद्ध तीनचुली फुलबारी मार्गस्थित एक घरमा सोनम तामाङ समेतले संचालन गरेको गेम जोन लेखिएको सटरमा फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ।
Shares
प्रतिक्रिया