ad ad

समाज


वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा भीमार्जुन आचार्यदेखि पूर्वमहान्यायाधिवक्तासम्म

वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा भीमार्जुन आचार्यदेखि पूर्वमहान्यायाधिवक्तासम्म

नेपालखबर
असोज १०, २०८१ बिहिबार २०:३९, काठमाडौँ

संविधानविद् भीमार्जुन आचार्यलाई कतिपयले यसअघि नै वरिष्ठ अधिवक्ता भनी सम्बोधन गर्थे। उनलाई ‘म वरिष्ठ होइन’ भनेर स्पष्टीकरण दिँदैको हैरानी हुन्थ्यो।

तर अब उनले यसरी स्पष्टीकरण दिनु नपर्ने भएको छ। सर्वोच्च अदालतले औपचारिक रूपमै उनलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ।

खासमा वरिष्ठ अधिवक्ताको उपाधि सर्वोच्च अदालतले दिन्छ। वकालत, कानुनको अनुसन्धान तथा अध्यापनमा लामो समयको अनुभव भएकाहरूमध्येबाट छानेर यो उपाधि दिने गरिन्छ।

यसपालि सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) ले १ सय ५९ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको छ। यो निर्णय गर्नुअघि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। समितिले एक वर्षभन्दा बढी समय लगाएर सूची तयार पारेको थियो। उक्त सूचीमाथि फुलकोर्टमा विभिन्न चरणमा छलफल भएको थियो।

बिहीबार फुलकोर्टले गरेको निर्णयअनुसार, वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा खम्मबहादुर खाती र डा दिनमणि पोरखेल पनि परेका छन्। यी दुवैजना नेपाल सरकारका महान्यायाधिवक्ता भइसकेका हुन्। खाती कांग्रेस सभापति शेरबहादुर देउवा र पोखरेल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छँदा महान्यायाधिवक्ता भएका थिए।

यसपालि वरिष्ठ अधिवक्ताको उपाधि पाउने ज्योति बानियाँ नेपालमा उपभोक्ता अधिकार र उपभोक्ता कानुनमा विशेष योगदान दिएका कानुन व्यवसायी हुन्। यस्तै नेपालका प्रथम राष्ट्रपति रामवरण यावदका कानुनी सल्लाहकार भएर काम गरेका ललित बस्नेतले पनि वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन्।

विष्णुमाया भुसाल नेपाल ल क्याम्पसमा प्राध्यापनरत छिन्। यस्तै केपी शर्मा ओलीको यसअघिको कार्यकालमा प्रधानमन्त्रीको कानुनी सल्लाहकार भएका बाबुराम दाहालले पनि यसपालि वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका छन्।

नेपाल बार एसोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेल, संवैधानिक कानुन व्यवसायी मञ्चका पूर्वअध्यक्ष राजुप्रसाद चापागाईंलगायत पनि वरिष्ठ अधिवक्ताको सूचीमा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .