धादिङ र काठमाडौँको सिमाना नजिकै पर्ने धादिङको धुन्निवेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ।
तीनवटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुनसक्ने आशङ्कामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी सुरु गरिएको हो।
झन्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको छ।
दुईवटा माइक्रोबस र एउटा ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशङ्का छ।
पहिरोले थुप्रिएको माटोसमेत पुनः पन्छाएर खोजी सुरु गरिएको प्रहरीले जनाएको छ। पछिल्लो चरणको खोजीमा अहिलेसम्म कुनै पनि सवारी साधन फेला नपरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।
निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर आज बिहान पहिरोको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक खुलाइएको छ।
सवारी साधन चापकै कारण जोखिमपूर्ण स्थानहरुमा जाम हुन नदिन काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनलाई आलोपालो गरी आउजाउ गराइएको छ। निरन्तरको बर्सातसँगै शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको हो। रासस
Shares
प्रतिक्रिया