ad ad

समाज


विश्व स्वास्थ्य संगठनको क्षेत्रीय बैठकमा स्वास्थ्यमन्त्री पौडेलको सम्बोधनः स्रोत जुटाउन आग्रह

विश्व स्वास्थ्य संगठनको क्षेत्रीय बैठकमा स्वास्थ्यमन्त्री पौडेलको सम्बोधनः स्रोत जुटाउन आग्रह

विश्व स्वास्थ्य संगठनद्वारा आयोजित दक्षिणपूर्वी एसियाली स्वास्थ्यमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेल। तस्बिरः विश्व स्वास्थ्य संगठन


नेपालखबर
असोज २२, २०८१ मंगलबार ११:३२, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन्।

दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रूपमा रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको चर्चा गरे।

भारतको नयाँ दिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ‘दक्षिण एसिया जनसांख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा छ। स्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको छ।’

मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको बताउँदै आफ्नो स्रोत वृद्धिका लागि पनि लाग्ने प्रतिबद्धता जनाए।

‘हामी हाम्रा देशका स्वास्थ्य संकटसँग लड्न आफैँ पनि स्रोत बढाउने प्रयास गरिरहेका छौँ’, उनले भने।

संगठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्य मन्त्री र संगठनका उच्च अधिकारी बैठकमा उनले सबै सदस्य राष्ट्रहरुले आन्तरिक स्रोत थप गर्नुपर्ने बताए। बैठकका क्रममा मन्त्री पौडेलले संगठनका दक्षिणपूर्वी एसिया निर्देशक सइमा वाजेदसँग भेट वार्ता गरेका थिए।

त्यस क्रममा मन्त्री पौडेलले नेपाल स्वास्थ्य बिमा सुधार गर्दै नागरिकको आधारभूत स्वास्थ्य उपचारको हक बलियो बनाउन लागिपरेको सुनाउँदै संगठनबाट नीतिगत सहयोग र साथको अपेक्षा गरेको बताए।

उनले संगठन र नेपालका कतिपय स्वास्थ्य प्राथमिकता साझा भएको उल्लेख गर्दै नेपालका आधारभूत समस्या समाधानमा संगठनसँग सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता पनि जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .