ad ad

समाज


मेलम्चीको पानी उपत्यकामा, एक दिन बिराएर वितरण गर्न मन्त्री यादवको निर्देशन

मेलम्चीको पानी उपत्यकामा, एक दिन बिराएर वितरण गर्न मन्त्री यादवको निर्देशन

फाइल फोटो


नेपालखबर
असोज २२, २०८१ मंगलबार १९:४७, काठमाडौँ

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन्।

मंगलबार मेलम्चीबाट काठमाडौं पथान्तरण गरिएको सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट उपत्यकामा पानी वितरण गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। उनले केयुकेएलले दुई दिन बिराएर पानी वितरण गर्ने भनेपनि अहिले मानिसहरूको चाप कम रहेकाले एक दिन बिराएरै पानी वितरण गर्न आग्रह गरेको बताए।

उनले भने, ‘अब काठमाडौं उपत्यकावासीको घरघरमा यो पानी पुग्छ। त्यसको लागि केयुकेएललाई अनुरोध गरेका छौँ। सबै मोनिटर गरेर जनताको घरघरमा पानी वितरण गर्नुस् भनेका छौँ। यसमा १७ करोड लिटर पानी आउँछ। यो सबै काठमाडौं उपत्यकामा जान्छ। यो पानीले गर्दा खास गरेर काठमाडौं उपत्यकावासीको लागि कमसेकम दुई दिन बिराएर दिने योजना छ। मैले एक दिन बिराएर दिन आग्रह गरेको छु।’

मन्त्री यादवले वर्षातका कारण खानेपानीमा पुग्ने क्षतिलाई मध्यनजर गरेर पानी वितरणमा रोक लगाइए पनि आजबाट उपत्यकावासीका घरघरमा मेलम्चीको पानी आएको बताए। उनले तत्काल मेलम्चीबाट १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौं उपत्यकामा आउने जनाए।

पानी ल्याउन धेरै चुनौति र कठिनाइ व्यहोर्नुपरेको भन्दै स्थानीयहरूको माग दसैँपछि सिंहदरबारमा बोलाइ संवादबाट पूरा गर्न सरकार तयार रहेको बताए।

उनले भने, ‘हेलम्बुका प्रभावितहरु आन्दोलनमा थिए। स्थानीय जनप्रतिनिधिहरु आन्दोलनमा थिए। उहाँहरुसँग वार्ता गरेर, उहाँहरुलाई विश्वासमा लिएर पानी ल्याएका छौँ। अब अर्को वर्षात नआउन्जेल निरन्तर पानी आउँछ। आन्दोलन त उहाँहरुले आंशिक रुपमा स्थगित गर्नुभएको छ। उहाँहरुले माग पूरा भएन भने तीन महिनामै आन्दोलन गर्छौं भनेका छन्। उहाँहरुको जायज माग हामी दसैँपछि बोलाएर राय, सल्लाह लिएर गर्नसक्ने कुरा अघि बढाउँछौँ।’

मन्त्री यादवसँग स्थानीयवासीले तीन महिनाभित्र मागहरु सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। मन्त्री यादवले हेलम्बु र मेलम्चीवासीले आन्दोलन गर्नुपर्ने स्थिति आउन नदिने बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .