सैनामैना नगरपालिका–१, बर्मडाँडाका आयुष घिमिरे कक्षा ५ मा अध्ययनरत छन्। लकडाउनको तीन महिना घरमै साथीभाइसँग खेलेर दिन विताए। पठनपाठनमा त्यति ध्यान थिएन। अहिले भने दैनिकी फेरिएको छ। संस्कृत भाषा पढ्न थालेपछि उनको दैनिकीमा परिवर्तन आएको हो।
रुपन्देहीको सैनामैनास्थित पर्रोहा परमेश्वर शिवज्योतिर्लिङ्ग बोलबम धाममा संस्कृत सिक्न थाले। स्थानीय २४ जना ८ देखि १४ वर्षका बालबालिकाले यही धाममा संस्कृत भाषा सिकिरहेका छन्।
‘लामो समय पढाई भएन। घरमा बसेर पढ्न खासै मन नलाग्ने। अहिले संस्कृत सिक्न थालेपछि निकै आनन्द लागेको छ। पढाईप्रति सकारात्मक सोच आएको छ’, आयुषले भने।
पर्रोहाकी प्रकृति आचार्यले संस्कृत सिक्न थालेपछि आफूमा सकारात्मक भावनाको विकास भएको बताइन्।
‘सुरुमा निकै गाह्रो भयो। अहिले पढ्दै जाँदा नेपाली भन्दा संस्कृत सजिलो लाग्न थालेको छ’, उनले भनिन्, ‘संस्कृतले मानिसलाई उत्प्रेरणा जगाउने रहेछ, मन शान्ति, उच्च आत्मबल वृद्धि गर्दो रहेछ।’
धाममा विद्यार्थीलाई शुरुमा संस्कृतका अक्षर, शब्द र तीनको उच्चारणको भाव र लय सिकाइयो। अहिले उनीहरुले वेद, संस्कृत ग्रामण, रुद्री पुजा, भागवत गिता, चण्डी र वेदमा भएका कर्मकाण्ड र ज्ञानका कुरा सिकिरहेका छन्। दुई जना पुजारीले शिक्षा दिइरहेका छन्। संस्कृत भाषामा शब्दहरु लामा हुने भएकाले उच्चारण गर्न कठिन हुन्छ। अहिले यहाँ गुरुकुल शिक्षा लिइरहेका विद्यार्थीले खरर्र संस्कृतका भाषा उच्चारण गर्न सक्छन्।
‘सुरुमा शब्द देख्दा नै कसरी उच्चारण गर्ने भनेर डर लाग्थ्यो। एक महिना सिकेँ। अहिले सिक्दै जाँदा नेपाली जस्तै सजिलोसँग उच्चारण गर्न सक्छु’, आयुषले भने।
स्थानीय अभिभावक र धाम व्यवस्थापन समितिको पहलमा बालबालिकालाई संस्कृत पढाउन सुरु गरिएको अध्यक्ष रामबली चौधरीले बताए।
‘हामीले वैशाखदेखि अनुमती लिएरै कक्षाहरु सञ्चालन गर्ने योजना बनाएका थियौं। तर कोरोनाका कारण सकिएन। तैपनि गुरुकुलमार्फत् बालबालिकालाई शिक्षा प्रदान गरिरहेका छौं’, उनले भने।
संस्कृत भाषाको सिकाईले बालबालिकाको स्मरण शक्तिमा बृद्धि, स्पष्ट बाचन र बानी व्यवहारमा राम्रो परिवर्तन आउनुका साथै सुसंस्कृत र संस्कारयुक्त बन्दै गएका छन्।
‘हामीले नैतिक नागरिक तयार गर्न, राम्रो संस्कार दिन, भोलि राष्ट्रका लागि राम्रो काम गरुन भनेर गुरुकुल मार्फत् साना बालबालिकालाई शिक्षा दिइरहेका छौं’, धामका मुख्य पुजारी एवं व्यास आचार्य किशोरकुमार गौतमले भने, ‘संस्कृति परिष्कृत भाषा हो। विश्वभर यसको महत्व छ। यसैले आउँदा दिनमा संस्कृत पढेका विद्यार्थीले देशलाई अन्तर्राष्ट्रिय जगतमा पनि चिनाउने छन्।’
उनकाअनुसार संस्कृत भाषाको नियमित उच्चारणले शारीरिक आरोग्यता र स्मरण शक्ति बृद्धि हुन्छ। ज्ञानविज्ञानको भण्डार नै संस्कृत भएको उनको भनाई छ।
नेपाल भारत लगायत अन्यत्र प्रायः राष्ट्रहरूमा वसोवास गर्नेहरुले वैदिक परम्परामा गरिने समस्त धार्मिक कृत्यहरु संस्कृतमा नै गर्छन्।
‘पहिले मलाई संस्कृत भन्ने के हो भन्ने थाहा पनि थिएन। जब सिक्न थालेँ धेरै कुरा थाहा भयो’, पर्रोहाका विद्यार्थी रामप्रसाद बानियाँले भने, ‘यसले व्यक्तिको आचरणमा परिवर्तन ल्याउने रहेछ। आत्मबल बलियो बनाई निडर, जोसिलो, धेरै कुरा सिकौं, बुझौ, पढौं भन्ने मानसिकता जगाउँदो रहेछ।’
शुद्ध संस्कारित र परिष्कृत भाषा नै संस्कृत भाषा हो। खासगरी भाषा विज्ञानको दृष्टिकोषणले ११ औं शताब्दी भन्दा पहिला सबैले संस्कृत भाषा बोल्थे। अहिले पनि संस्कृत भाषा विश्वमा प्रख्यात छ। नासाका वैज्ञानिकले समेत संस्कृत पढ्न थालेका छन्।
पूर्वीय विद्यावैभव भण्डार ४ वेद, १३३ वटा उपनिषदहरु, १८ वडास्मृतिहरु र ६ वटा दर्शन नेपालमा स्थापना भएका हुन्। अर्घाखाँचीको पणेनामा जन्मिएका पाणिनी नै यसको स्थापना गरे। यसले पनि नेपाली समाजमा संस्कृतको झन् ठूलो महत्व छ। पर्रोहा धाम भगवान शिवको निवास भनेर देशविदेशमा परिचित छ।
Shares
प्रतिक्रिया